मनोज घर्तीमगर / तस्वीर : सुरज तमु
पोखरा ,वरपर लङदुर फरफर गरिरहेका छन् । उत्तरतिर माछापुछरे, अन्नपूर्ण धौलागिरी खुलेर स्वागत गरेका । स्टेज सजावट उत्तिकै मजाको । गमला राखेर चिटिक्कको सिंगार । दर्शकको भिडभाड थामि नसक्नु । कोही स्टेजमा दायाँबायाँ गर्दैछन् । कोही चौरमा हाहा र हुहु । अपरान्ह् १ बजेदेखि नै पोखरा रंगशालमा दर्शकहरुको भिड जम्मा भइसकेको थियो । दुई बज्नै लाग्दा दर्शक यसरी ओइरिएकी आइतबार पोखरा रंगशालामा ठेलमाठेल भयो । सन्दर्भ थियो ‘ल्होसार म्यूजिकल फेस्टिबल’ । शनिबार पोखरामा झरी लागे पनि आइतबार पारिलो घाम लागिरहेको थियो । सायद पोखरेली संगीत पारखीलाई प्रकृतिले स्वागत गरिरहेको थियो । हजारौं पोखरेली संगीतमा झुम्न प्रतिक्षारत थिए । जब उद्घोषक कविता श्रेष्ठले इन्डियन आइडल प्रशान्त तामाङको नाम लिइन्, पोखरेलीको लामो समयको प्रतिक्षा तोडियो । चौरमा भरिएको ठूलो भिडले चर्को आवाजमा उपस्थिति जनायो । तामाङलाई गडगडाहट तालिले स्वागत गरे ।
महिना माघको थियो । न पानी परेको थियो । पारिलो घाम लागिरहेका बेला प्रशान्त भने, ‘असारे महिनामा पानी पर्यो रुझाउने…’ गीत गाउँदै स्टेज उक्लिए । व्यग्र पखाईमा रहेका संगीतपारखीलाई प्रशान्तले मन्त्रमुग्ध बनाए । पहिलो गीत सकेपछि ‘नमस्ते पोखरा’ भन्दै ‘यो बतासे डाँडैमा छुकछुक सानु रेल, अरे क्यानाम…,मन साइली… गीत गाए । दर्शक उनको प्रस्तुतिमा झुमिरहे । त्यसपछि नेपालीले अत्यन्तै रुचाइएको गीत ‘जाउँ है रेलैमा सरर गोर्खा पल्टन…’ गाउँदा दर्शक आआफ्नो ठाउँबाट उठेर कम्मर मर्काउँदै नाच्न बाध्य भए । दर्शकले उनको प्रस्तुतिलाई ‘वान्स मोर, वान्स मोर…’ भनिरहे । स्टेज छाडिसकेका प्रशान्त फर्किए । अनि ‘तुहि हे मजुको पता हे…, बत्ममीज दिल…’ गाएर थप मनोरञ्जन दिलाए ।
सन् २००७ का यी इण्डियन आइडल प्रशान्त तेस्रो पटक पोखरेलीसामू सांगीतिक कार्यक्रमको स्टेज तताउन आएका हुन् । नेपाली ढाकाटोपी विश्वसामु चिनाउने नायकको समेत परिचय बनाएका प्रशान्त पोखरामा छ वर्षपछि तेस्रो पटक आएका हुन् । ‘पोखरेली दर्शकले सँधै माया गर्नु भएको छ, हरेक पटक आउँदा यस्तै क्राउड देख्छु’ प्रशान्त भन्छन्,‘बेलाबेला नेपाल आउने मौका पाउँदा निकै खुसी छु ।’
प्रशान्त तामाङकै नाम सुनेर ओइरिएका अधिकाश तन्नेरी भए पनि पाका उमेरका, बालबालिका र प्रौढ दर्शक पनि उत्तिकै थिए । ‘चौबन्दी चोली बाँध्या छैन भन्दैमा नेपाली होइन भन्न कहाँ पाइन्छर…’ गाउँदै स्टेज उक्लीएकी आस्था राउतले खुब मनोरञ्जन दिलाइन् । युवायुवतिको बाहुल्य देखेर त्यही अनुसारका गीत पस्किएकी आस्थाले ‘तीन मोहोरको धागोले जोवन बाँधिदैन…,खैत मलाई झुम्के बुलाकी…, माया यो माया…’ गाएपछि युवायुवती उफ्रिन सुरु गरे । झिल्के टइपकी गायिका आस्थाले ‘सालको पात टपरी गाँसेर…’ गाउँदा अघिसम्म सुनेर रमाइरहेका दर्शक नाँचेर साथ दिएका थिए । नेपाली मुलकी अमेरिकी गायिका तेञ्जिङ डोल्माले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन् । उनले सुनकै भाउ छ सुन्तला भारीको, जाउँ है रेलैमा सरर गोर्खा पल्टन र एउटा अंग्रेजी गीत गाएकी थिइन् ।
२००८ का ‘साउथ एशियन स्टार’ अशुसेन लामा पहिलो पटक स्टेजमा उत्रिदा पोखरेली दर्शक अत्यन्तै हौसिए । महिला स्वर समेत निकाल्न सक्ने सुमधुर स्वरका धनी अशुसेनले सेलो गीत ‘ढुंगामा ढुंगामा…’ गाउँदै दर्शकलाई नचाए । दर्शक उफार्न सिपालु यी गायकले ‘आमा तिम्रो छोरो जवान भयो रे…, साहिँला दाइ…, सत्य धरो धर्म…’ लगायतका गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिलाए ।
वातावरण झनै रोमान्चक वन्दै गयो । तरुनी तन्नेरीहरु झनै हौसीए । साँझ छिप्पिदै गर्दा धेरैपछि पोखरेलीहरु कन्सर्टमा झुमे । पोखरामा धेरैपछि दर्शकको बिग क्राउड देखेका कलाकारले एकपछि अर्को गीत गाउँदै, दर्शकै नचाउँदै गए । पोखरेली पनि के कम कलाकारसँगै झुमिरहे । दर्शकहरुको साथ र हुटिङमा मिसियो पोखरेली ब्याण्ड मि मर्चा । ब्याण्डका भोकलिष्ट भाष्करध्ज श्रेष्ठले ‘झ्याम्मै चौतारी, डान्सिङ अन द रोड, तारा खस्यौली, झ्याम्म झ्याम्म…’ लगायत गीत गाएर सबैलाई नचाए । दार्जलिङबाट आएको मन्त्र ब्याण्ड गाउनलाई स्टेज उक्लिँदा साँझ छिप्पिँदै थियो । तर, ब्याण्डले दर्शकलाई चौर छोड्न दिएनन् । उनीहरु स्टेज उत्रिएपछि त कन्र्सटको माहोल झनै उचालियो । ‘हिमाली नेपाली, आकाशैमा चिल उड्यो, गोर्खालीको छोरो म…’ लगायत गीत गाएर मन्त्रले सांगीतक कार्यक्रमको बिट मारे । ‘पोखरामा हामी चौथो पटक आयौं, सँधै संगीतप्रेमीको क्राउड देख्छौं’ मन्त्र ब्याण्डका मुख्य गायक भाष्करध्वज देवानले भने,‘पोखरामा सँधै यस्तै रमाईलो हुन्छ । यहाँका दर्शकले हामीलाई धेरै मायाँ गर्नुहुन्छ ।’
शनिबार लगातारको वर्षापछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरि आयोजक बैदाम तामाङ समाज आइतबार दर्शकलाई पोखरा रंगशालामा निम्त्याएको थियो । झण्डै छ घण्टा चलेको कार्यक्रममा १० हजार बढी दर्शक थिए । २८५० औं सोनाम ल्होछारको अवसरमा आयोजित बैदाम तामाङ समाजले खहरेमा गुम्बा निर्माण सहयोगार्थ कार्यक्रम गरिएको अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।