देब पचभैया / पाल्पा,
२६ पुस , अण्डर १६ राष्ट्रिय टिमका कप्तान तथा सिनियर टिमका फरवार्ड विमल घर्तीमगरलाई पाल्पाको तानसेनमा आज सम्मान गरिएको छ । तानसेनको पुरानो फुटबल क्लब युथ युनियनले घर्तीमगरलाई सम्मान गरेको हो । घर्तिमगर छिमेकी नवलपरासीका हुन् । पाल्पाली ढाका टोपी, करुवा र खादा लगाएर पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, क्लवका अध्यक्ष अच्यूत खनाल, उवासंघकै उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सम्मान गरेका हुन् ।
घर्तीमगरले सिनियरको साफ च्याम्पियनसिपमा पनि अन्त्यतिर गोलगरेपछि नेपालले पाकिस्ताविरुद्ध १–१ को नतिजा निकालेपछि थप चर्चित बनेका थिए । उनीसंगै एन्फा एकेडेमीमा रहेर यू–१६ टिमकै तानसेन घर भएका आकास थापालाई पनि सम्मान गरिएको छ । त्यस्तै, एन्फा एकेडेमीमा रहेका यू–१६ टिमकै तानसेनका किरण सुनार र जनम लिगल सम्मानित भए । मध्यपुर युथ एसोसिएसनका उपेन्द्रमान सिंहलाई युथ युनियनले सम्मान गर्यो । कार्यक्रम पछि पाल्पाली खेलाडी र युथ एसोसियसनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेलसमेत भएको थियो ।