चित्रेमा (चित्र सहित) रमाईलो मगर सँस्कृति

Read Time:12 Minute, 54 Second

मनोज घर्तीमगर

 

(काला भैरवमा आफ्नो पढाई राम्रो हुने भन्दै वर्षेनी तनहुँबाट बली दिन आउने १२ वर्षिय एक बालक ।)

तनहुँ खैरेनीटारदेखि दक्षिणतिर झण्डै साढे दुई घण्टाको बस यात्रापछि पुगीने स्याङ्जाको चित्रेभञ्ज्याङ–८ चित्रे पुगिन्छ । चित्रे वरिपरि मगर बस्तीहरु छन् । अहिले नेपालका प्रायः गाउँमा मलामी र जन्ती जाने युवाहरु पाउन मुस्किल छ । तर, यी मगर बस्तीहरु अझै गुल्जार छन् । चित्रे, करङस्वारा, ढुंगेठाँटी, लगायतमा अहिले पनि हुलका–हुल मगर तरुनी–तन्नेरीहरु भेटिन्छन् । आफ्नो मौलीक सँस्कृतिलाई बिर्सने युवाहरुको जमात बढ्दै गएका बेला तिनिहरुस“ग भने विशिष्ट संस्कृति, भाषा र मौलिक जीवनशैली कायमै छ । अन्य मगर, गुरुङ राई, लिम्बुका वस्तीमा झै यहाँ पनि गल्लावाल नछिरेका होईनन्, उनीहरुले ‘लाहुरे’ संस्कृति स्थापित पनि गरिदिए । र, साझा सपना निर्माण गरिदिए–‘लाहुरे’ ।विस्तारै गाउँमा भएका तन्नेरीहरु लाहुरे बनेर बिट्रिस साम्राज्यको रक्षाको लागि लड्न हिडे । तरुनीहरु लाहुरेनी बने । यो क्रम अहिलेसम्म पनि जारी छ ।

 

(आफ्नो बच्चालाई राम्रो होस भनी गरेको भाकल दिन आएकी स्याङ्जाको उत्तरी क्षेत्र मिर्दिकी एक महिला आफ्नो बालक र बलि दिएको बोकाको साथमा ।)

त्यही लाहुर गएका मगर युवाहरुले सुन्दर बनाएको गाउँ हो चित्रे । ‘लाहुरे’ भएपछि उनीहरु गाउँमै फर्के । गाउँकै लागि केही न केही काम गरे । अहिले लगभग लाहुरेको रेमिट्यान्सले यो गाउँको ९० प्रतिशत आर्थिक भार धानेको छ । कतिले त यसलाई लाहुरेको रेमिट्यान्सले धानेको गाउँ समेत भन्ने गर्छन् । गल्लावाल छिरेपछि थुप्रै आदिवासी बस्तीहरु रित्तो भए र लाहुरे सपनाले लाखाै आदिवासी युवाहरु पलायन भए । तर, चित्रेका यी बस्तीहरु भने गल्लावाला छिर्नुअघि जस्ता थिए अहिले पनि लगभग त्यस्तै छन् । धेरथोर संख्यामा पलायन भए पनि अन्य गाउँमा जस्तो यहाँ पलायनको गती तीव्र भने छैन ।

 

काला भैरव भाकल पूरा गर्न आएका मगर युवती ।

‘अब चित्रेभञ्जाङ्ग आईपुगियो, यहा“ विभिन्न मगर कल्चर हेर्न पाईन्छ’ तनहुँको भिमातदेखि करिब दुई घण्टाको कच्चीबाटोको बस यात्रापछि चित्रेका साहित्यकार रुद्र सन्देश मगरले भने ‘अब यहाँ साहित्यीक कार्यक्रसँगै मगरका विभिन्न नाँचहरु पनि देखाईन्छन् ।’ मगर कल्चरको बारेमा गफ नसकिदै चित्रेभञ्ज्याङको रोदीखोलामा बनाइएको विभूति स्मारकमा रहेको वीर भक्ति थापा, बहादुर शाह, अमरसिंह थापालगायतको सालिक अगाडी पुगीयो । त्यहा“ रुद्र आफैले हाम्रो टोलीलाई स्वागतको चा“जो मिलाएका रहेछन् । हामीलाई स्थानीय वासिन्दाले फूलमाला, अविर, खाता लगाएर सत्कार गरे । धेरैले चित्रेको पर्यटकीय महत्वको बयान गरे ।

 

कालाभैरव मन्दिरमा बलि दिनेहरुको भिडभाड । 

पर्यटकीय सम्भावनाको खोजी र पर्यटकीय स्थलको प्रचार प्रसारको कामलाई ग्रामीणस्तरमा समेत विभिन्न संघसंस्थाहरूले जोड दिइरहेका बेला जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक विविधताले धनी चित्रेलाई प्रचार प्रसार गरि पर्यटकीय गाउँ बनाउने स्थानीय वासिन्दाको योजना थियो । साँझ चित्रेका युवायुवती र आमा समूहले आयोजना गरेको साँस्कृतिक कार्यक्रमा सहभागी हुन पाईयो । सोमरस पान गर्नेहरु उतै भुले । विशेष गरी मगर सँस्कृतिमा प्रचलित कौरामा छमछमी नाँच्ने युवतीले पाहुनाको मन चंगा बनाईदिए । झाम्रे, सोरठी, घाटु पनि देखाईन्छ यहाँ । दोहोरीमा रम्न चहानेका लागि दोहरी खेल्न पनि यहाँका युवती र युवा मात्रै हैन आमा समूह समेत सँधै तयार हुँदा रहेछन् । त्यही मौका छोपेर त्यहाँ पुगेका साहित्यकार र पत्रकारको टोलीले आमा समूहसँग दोहोरी खेल्न भ्याए । कार्यक्रम हेरेर रमाईरहेका पाहुनालाई कौरा नाचिरहेका युवतीले छानीछानी कान समाएर उठाउँदै नचाउँदै गर्दाको क्षण कम्ता रमाईलो थिएन । ‘अहिलेसम्म नदेखेको रमाईलो सँस्कृति चित्रेमा देख्न पाँए’ पोखराबाट गएका पत्रकार छवि मगर भन्दै थिए, ‘युवतीले कान समातेपछि उठाएँपछि नजाने पनि नाँच्नै पर्ने चलन रहेछ ।’ गाउँका युवतीलाई सोल्टीनी र युवकलाई सोल्टी भन्दै जिस्काएर रमाईलो गर्न समेत पाईन्छ यहाँ ।

 

चित्रेमा पाहुनालाई स्वागत गरिदै ।

यी त भएर रमाईला सँस्कृतिका कुरा । यो बाहेक चित्रेभञ्ज्याङ्ग पर्यटकीय दृष्टिले निकै रमाईलो छ । समुद्री सहतहदेखि एक हजार देखि एक हजार ५ सय  मिटरसम्म उचाईमा रहेको यो गाउँमा विभिन्न पर्यटकीय क्षेत्र पनि छन् ।  यहीमध्ये सबैभन्दा चर्चित काला भैरव मन्दिर हो । चित्रेभञ्ज्याङ्ग–२ गृहकोटमा छ यो मन्दिर । झण्डै १५ सय मिटरको उचाईमा रहेको मन्दिर अघिल्तीर बलि दिनेहरुको सँधै भिडभाड हुन्छ । कसैका हातमा परेवा, कसैकोमा कुखुरा त कसैले बोका, राँगा, सुँगुर डोर्याउँदै गरेको दृश्य देखिन्छन् यहाँ । पूजारी चक्रबहादुर थापामगरलाई काला भैरवको नाममा भाकल गरिएका बली दिन सँधै भ्याईनभ्याई हुन्छ । पूजा गर्न पालो कुर्नेहरु १० देखि ६० वर्षसम्मका मानिस छन् । हामी त्यहाँ जाँदा पनि यस्तै दृश्य थियो । काला भैरव मन्दिरमा बली दिँदा आफूले चाहेको कुरा पूरा हुने भएकोले तिर्थालुहरु बढी आउँछन् । पूजारी चक्रबहादुरका अनुसार यहाँ साउन महिना, औंसी र एकादशिको दिन बाहेक हरेक दिन यस्तै दृश्य देख्न पाईन्छ । यहाँ स्याङ्जाका विभिन्न ठाउँ र आसपासका जिल्लाबाट समेत पूजा गर्न आउने गरेका छन् । काला भैर मन्दिरको झण्डै ३० मिनेटको पूर्व हिडेपछि देविको मन्दिर आउँछ । यहाँ पनि तिर्थालुको ओईरो नै हुन्छ । तर, यहाँको अनौठो सँस्कृति छ । देवीको मन्दिरमा जो पूजा गर्न जान्छ ऊ आफै पूजारी बन्ने सँस्कृति छ ।

 

विभूति वीर भक्ति थापा, बहादुर शाह, अमरसिंह थापालगायतको सालिक

देवीको मन्दिर नजिकै ठूलो चौर छ । यो चौरमा पहिले नेपाली सेनाको किल्ला थियो । अहिले भने झारपात उम्रिएको छ । यो चौरबाट सुर्योदय र सुर्यास्त हेर्न निकै उपयुक्त स्थान हो । पूर्वमा तनहुँ र अरुणोदय गाविस, पश्चिम चिन्नेवास, उत्तरकम मग्याम चिसापानी, दक्षिण क्यामी गाविस रहेको चित्रेभञ्ज्याङ जान पनि सजिलो छ । तनहुँको खैरेनीटारबाट यहाँ जान गाडी पाईन्छन् । आफ्नै साधन भए त सबैभन्दा उत्तम भईहाल्यो । गाउँ भए पनि घर घरमा शौचालय छन् । गाउँको सरसफाईमा अत्यन्तै ध्यान दिएका छन् । घरमा गएका पाहुनाले कुनै अप्ठ्यारो मान्नु पर्दैन । स्थानीयवासीले पाहुनालाई ‘पेईङ गेष्ट’ का रुपमा बसाउने गरेका छन् । ‘हामी पर्यटकलाई स्वागत गर्न निकै आतुर छौं’ राष्ट्रिय विभूति स्मृति प्रतिष्ठानका अध्यक्ष मनोरथ शर्माले भने‘स्वदेशी तथा विदेशी पर्यटकलाई हाम्रो गाउँमा निम्तो छ ।’

 

चित्रेमा आएका पाहुनलाई गरिएको स्वागत कार्यक्रम हेर्दै स्थानीय बृद्धहरु । 

चित्रे यातायात लगायतका धेरै सुविधाका दृष्टिले सम्पन्न छ । मिर्दि भिमाद सडकखण्ड मुख्य हो भने चित्रेका नौ वटै वडामा कच्ची सडक् पुगेको छ । यहाँ संचारका लागि सिडिएमए तथा मोबाईल सेवा उपलब्ध छ भने एउटा  अतिरिक्त हुलाक पनि छ । स्वास्थ्य उपचारका लागि करङस्वारामा उपस्वास्थ्य चौकी रहेको छ । एक मावि, एक प्रस्तावित मावी , ५ प्रावि र  २ आवासिय ई. स्कुल रहेको  चित्रेमा साक्षरता दर ६० प्रतिशत रहेको छ । सौर्य उर्जा स्वलगानी तथा बैकल्पीक उर्जाको सहयोगमा १०० किलोवाटको लघु जलविद्युत आयोजना सुरु भएपछि यहाँ कहिल्यै लोडसेडिङ हुँदैन यहाँ ।

 

पाहुनलाई गरिएको स्वागत कार्यक्रम हेर्दै स्थानीय बासिन्दाहरु ।

यहाँका मानिसहरुको मिजासिलो व्यवाहार, हाँसीमजाक गर्ने सँस्कार, आत्मीय आतित्थ्य ठूलो विशेषता हो । सहरमा लोडसेडिङले सताईरहेका बेला चित्रेमा भने लोडसेडिङ थाहा छैन । जनसंख्या झण्डै आठ हजार पुगेको छ । ६० प्रतिशत मगर रहेको यो क्षेत्रमा ब्राह्मण, क्षेत्री, ठकुरी, नेवार, दमै, कामी, सार्की, भुजेल जातिको पनि बसोबास रहेको छ । यहाँका मासिको पेशा कृषि भए पनि बैदेशिक रोजगार, भारतीय र ब्रिटिस सेनामा जानु मुख्य पेशा जस्तै बनेको छ । यसका अलावा कुखुरा पालन, बंगुर पालन, तरकारी खेती, सरकारी नोकरी पनि गर्छन् यहाँमा मानिस ।

तस्वीरहरु : छवि मगर

 

  

पाहुनलाई गरिएको स्वागत कार्यक्रम नाँच्दै एक बृद्धा ।

 

 चित्रेमा पुगेको पाहुनाहरु स्थानीय युवतीसँग नृत्य गर्दै ।

 

चित्रेमा कौरा नाच्दै स्थानीय युवती ।

 

चित्रेका आमा समूहसँग दोहोरी खेल्दै पाहुनाहरु ।

 

युवतीले कान समातेर उठाएपछि नाँच्न बाध्य हुँदै तनहुँका पत्रकार ।

 

कौरामा स्थानीय युवतीसँग नाँच्दै फोटो पत्रकार छवि मगर । 

 

कौरा नाँच्दै स्थानीय मगर युवा र युवती

 

कालाभैरव मन्दिरमा पूजा गर्न भिड लागेका दर्शनार्थी

 

कालाभैरव मन्दीरका पूजारी चक्रबहादुर थापामगर

 

पर्यटकीय स्याङ्जाको चित्रेभञ्ज्याङ

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %