पञ्चायतकालको समय । छोराले त पढ्न पाउनु ठूलो कुरा थियो भने छोरीले पढ्नु सपना मात्रै । हुन त हुने खाने र समाजमा गन्यमान्य व्यक्तिले नगन्य मात्रामा छोरीलाई पनि विद्यालयमा पठाउने नगरेका हैनन् । छोरीलाई पढ्न पठाउने आमा बाबुले त्यस बेला समाजको नानाभाती कुरा सुन्नुपर्ने बाध्यता थियो । कारण उही छोरीलाई पढाउन हुन्न भन्ने रुढीवादी परम्पराले गाँजेको नेपाली समाज । यस्तै समाज रहेको तनहुँ ढोरफेदि गाविसमा रहेको एक गाउँमा भने एउटी चेलीले पढ्ने साहश गरिन् । वि. सं. २०२० सालमा जन्मेकी भद्रकाली महतले त्यस्तो परिवेशलाई चिर्दै किताब झोलामा बोकेर स्कुल जाने शौभाग्य पाईन् ।
उनका बुवाले नपढेर बेहोर्नु परेको तितो यथार्थलाई सम्झेर बढो दुःखले भद्रकालीलाई विद्यालय पठाउने आँट गरे । ६ वर्ष पुगेपछि भद्रकाली तनहुँकै गाउँफर्कोदय माविमा अध्ययन गर्न थालिन् । घरपरिवार लेक बस्नेबेला उनी करिब ४ घण्टा हिडेर विद्यालय पुग्थिन् । सम्झौं त एक पटक कलिलो उमेरमा ४ घण्टा हिड्नुपर्दाको पिडा कस्तो हुँदो हो । २०२४ सालमा स्थापना भएको त्यही विद्यालयमै उनले कक्षा १० सम्मको अध्ययन गरिन् ।
२०३६ सालमा एसएलसी दिँदा भद्रकालीसँग एसएलसी दिने दौतरी कोही थिएनन् । एसएलसी पनि पास भइन् दोस्रो श्रेणीमा । अझ धेरै पढ्ने रहर मनमा थियो नै समाजको मुखमा पनि बुझो लगाउनुपर्ने बाध्यता । घर छाडेर उच्च शिक्षा हाँसिल गर्नु कम्ता गाह्रो थिएन छोरी मान्छेलाई । ‘हामी विद्यालय गएको देख्दा गाउँका मानिसले कुरा काट्ने गर्थे । बुवालाई त्यसको त धन धेरै भयो खर्च गर्न छोरी पढाएको हो भन्थे’ भद्रकालीले बिगत सम्झीइन्‘तै पनि बुवाले पढाउन छोड्नु भएन । घरको सबै काम सिध्याएर पढ्न जानुपर्ने निकै कठिन थियो ।’
भद्रकालीका बुवाआमाले हिम्मत नहारीकन छोरीलाई माध्यमिक तहसम्म पढाएरै छाडे । एसएलसी पास भएपछि भद्रकालीले उच्च शिक्षा पनि पढ्ने आँट गरिन् । गाउँमा कक्षा १० सम्म अनेक कुरा सहेर पढेकोले पनि आफूलाई उच्च शिक्षा अध्ययन गर्न जोश बढेको बताउँछिन् उनी । आफ्नो क्षेत्रभरी पढ्ने छोरी एक्ली हुँदा उनलाई कता कता पढ्न छोडौंकी भन्ने पनि हुन्थ्योरे तर मन थामिन् । ‘सबै साथी संगीहरु घाँस दाउरा गर्थे । पानी पँधेरो गर्थे, हामीले पनि ती काम नगरि विद्यालय जान नपाउने’उनले आफूले पढ्दाको दुःख सम्झिदै भन्छिन्‘त्यही भएर मैले बिहान सबैरै उठेर पानी घाँस सबैको जोहो गरेर विद्यालय जानुपथ्र्यो ।’
जसोतसो एसएलसी त पास भईयो उच्च शिक्षा अध्ययन कसरी गर्ने ? यो कुराले भद्रकालीको मन कटक्क खान्थ्यो । गाउँभरीमा पहिलो पटक केटीले एसएलसी पास गरेको खबर फैलियो । कतै प्रशंसा त कतै आलोचना हुन थाले । तर प्रशंसाले बढी व्यापकता पायो । गाउँभरी उनको बारेमा राम्रो कुरा फैलीयो । ‘फलानोकी छोरीले त एसएलसी पास गरी रे । अब उसले त धेरै पढ्नेरे भनेर वरपरका मान्छेले भन्थे’उनले पुराना कुरा सम्झिदै भन्छिन्‘त्यसपछि बुवा आमाको पनि शिर ठाडो भयो । पढाएर राम्रै गरेछु भन्ने सोच्न थाल्नुभयो होला मलाई उच्च शिक्षा अध्ययनका लागि पोखरा पठाउनुभयो ।’
एकातिर समाजले अनेक कुरा काट्ने गरेको समयमा भद्रकालीका बुवाआमाले पोखरा पढ्न पठाउने निधो गरे भने अर्कातिर उनको उच्च शिक्षा अध्ययन गर्ने तिव्र इच्छा पनि पूरा हुने भयो । आफूलाई उच्च शिक्षा अध्ययन गर्नका लागि बाआमाले पोखरा पढाउने निर्णय सुनाएको क्षणलाई भद्रकालीले कहिल्यै विर्सन नसक्ने बताउँछीन् । एउटा गाउँकी केटी झोली तुम्मा बोकेर उच्च शिक्षा अध्ययनका लागी पोखरा झरिन् र भर्ना भइन् पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकायमा । पढ्दै गईन् । पढ्ने खर्चको जोहो पनि गर्नैप¥यो । उनलाई जागीर खाने कुतकुति लाग्यो । रहरले हैन बाध्यताले । जागिर खाने सोच भयो तर के गर्ने ? उनले विकल्प रोजीन् शिक्षण पेशा । २०४५ सालमा पोखरा– ६ बैदाममा रहेको तालबाराही माविमा प्राविको अस्थायी शिक्षकमा उनले जागिर पाईन् ।
आफ्नो पेशा र सेवाप्रति निकै इमान्दार थिईन् भद्रकाली । गाउँघरमा मानिसले अनेक थरी कुरा काट्दै गरेको अवस्थामा पढेकी भद्रकाली जब शिक्षक भइन् उनको मान बेस्सरी बढ्यो । शिक्षक हुँदा उनलाई ठूलै काम गरेछु भन्ने लाग्यो रे । छरछिमेकले उनको हाइहाई गर्न थाले बाबु आमा र घर परिवार त खुसी हुने नै भए । ‘म शिक्षक हुँदा घर परिवार निकै खुसी भए । गाउँमा पनि बाबु आमाको शिर ठाडो भयो’उनी भन्छिन् ‘त्यसपछि मलाई पनि हौसला भयो र शिक्षण पेशालाई कहिल्यै नछाड्ने अठोट आयो ।’ उनले आफ्नो पेशालाई निरन्तरता दिईन् । पढाई पनि जेनतेन चलेकै थियो । पिएन क्याम्पसबाट आई.ए. पास पनि गरिन् । बिचमा केही समय ग्याप गर्दै उनले २०४६ सालमा बि.ए. पास गरिन् । बि ए पास गर्ने वित्तिकै उनको मनमा धेरै पढेछु की क्या हो भन्ने लाग्योरे अनि केही वर्ष पहिले शिक्षण पेशा कहिल्यै नछाड्ने गरेको अठोटलाई चटक्कै भुलाईदिएको सुनाउँछीन् उनी । धेरै पढेको सम्झेर शिक्षक पेशा छोडेर अलि ठूलो जागीर खानुपर्छकी क्या हो भन्नेसम्म लागेछ उनको मनमा । तर पनि उनको मन थामिएछ ।
उनको शिक्षण पेशा जारी थियो । त्यही बेला उनका मनमा अनेक कुरा खेल्न थाले‘शिक्षण पेशा सबैभन्दा सजिलो र सम्मानित पेशा पनि हो । किनकी शिक्षाले नै हरेक खालका व्यक्तित्व जन्माउँछ । त्यसको लगि पहिलो खुड्कीलो विद्यालय हो’ यहि विचारमा मनमा जागेपछि उनलाई यो पेशाप्रति असाध्यै गहिरो लगाव बस्यो । ‘समाजमा हुने डाक्टर, इन्जनियर, राजनितिज्ञ, समाजसेवी सबै विद्यालयबाटै जन्मन्छन्’उनी भन्छिन् ‘यस्तो व्यक्ति जन्माउने विद्यालयलाई मैले छोड्नुहुन्न भन्ने मनमा जाग्यो अनि म झन् कटिबद्ध भएर यस पेशामा निरन्तर लागिरहेको हुँ ।’
मुख्यगरी बौद्धिक कुरा अरुलाई पनि शिक्षक भएपछि दिन सकिन्छ भन्ने भावनाले आफूलाई शिक्षक बनाएको बताउँछिन् उनी । शिक्षण पेशा सजिलो र निकै राम्रो पनि लाग्छ । त्यसो त महिलाले विशेष गरि बालबालिका नै धेरै मन पराउँछन् । त्यसैले पनि होला भद्रकाली आफ्नो पेशाप्रति निर्क इमान्दारीपूर्वक लागिन् । सबैसँग मिलेर विद्यालयलाई राम्रो बनाउने ध्याउन्नमा लागिन् । बालबालिकासँग उनीहरुको मनोविज्ञान बुझेर पढाउने, लगनशिल भईन । ‘शिक्षक भएपछि विद्यार्थीहरुलाई राम्रो शिक्षा दिनुपर्छ । समुदायलाई केही दिनुपर्छ भनेर प्रतिवद्ध भएर लागे ’उनी भन्छिन् ‘फलत म २०६० सालमा यसै विद्यालयको प्रधानअध्यापक हुने मौका पाए ।’ २०४५ सालमा अस्थायी शिक्षकबाट सेवा सुरु गरि स्थायी हुँदै अन्तिममा आएर त्यही विद्यालयमा प्राधानअध्यापक भईन् भद्रकाली । एउटै विद्यालयबाट सेवा सुरु गरि कतै सरुवा नभएर त्यही विद्यालयमा प्रधानाध्यापक भएकी महिला नेपालमा संभवतः उनी एक्ली हुन् । यसलाई उनले आफ्नो पेशाप्रतिको इमान्दारीताको फल ठानेकी छिन् ।
४ वर्षको उमेरदेखि नै आजभोली बालबालिकालाई स्कुल पठाउने गरिएको छ । त्यसैले पनि साना बालबालिकालाई बुझे व्यवहार नगरे बालमस्तिष्कमा नराम्रो असर पर्न सक्छ । अनि विद्यार्थीलाइ लौरो ठटाएरै ठिक पार्नुपर्छ भन्ने मनस्थिति त्याग्नुपर्छ भन्छिन् भद्रकाली । लौरो ठटाउने शिक्षकलाई विद्यार्थीले बदलाको भावना लिन सक्ने भएकोले विद्यार्थीको मनोविज्ञान बुझेर त्यही अनुसारको व्यवहार गरेमा राम्रो हुने उनको विश्वास छ ।
सामुदायिक विद्यालयका केही बाहेक धेरैजसो शिक्षकहरुमा जिम्मेवारी बोध नभएको उनको अनुभव छ । उनीहरुले तलब पाकेकै छ । जागिर पनि सुरक्षित छ भन्ने मानसिकताले काम गर्दा विद्यार्थीलाई राम्रो शिक्षा नदिने पनि गरेको बताउँदै भद्रकाली भन्छिन्‘शिक्षकले जिम्मेवारी बोध नगर्नुको मुख्य कारण आफ्नो पेशा सुरक्षित छ भन्ने मनस्थिति बोकेर पनि हो ।’ त्यसो त सामुदायिक विद्यालयमा शिक्षकको अपुग दरबन्दी, भौतिक एव शैक्षिक पुर्वाधारको कमि, अभिभावक, विद्यार्थी र शिक्षकमा प्रतिवद्धता र अनुशासनको कमिले गर्दा पनि पढाई राम्रो हुन नसकेको उनको दावी छ ।
पुरुष प्रधानाध्यापक र महिला प्रधानाध्यापक हुँदाका पिडा पनि सहेकी छन् उनले । महिला प्रधानाध्यापक हुने वित्तिकै सबैभन्दा पहिले त यो समाजले नै नराम्रो सोचले हेरेकोमा उनको मन दुख्छ । ‘प्रअ हुने वित्तिकै ए महिला रै’छ यसले के गर्न सक्छीहोलार ? भन्ने सोचले मैले पनि दुःख पाए’ उनी भन्छिन् ‘पुरुष प्रधान समाजमा महिलाले केही गर्न सक्दैनन् भँन्ने सोच अझै हराएको छैन । म प्रअ भएपछि पनि अनुभव गर्ने मौका पाए ।’ हिजो त्यही महिला प्रअले केही गर्न सक्दैन भन्नेहरु आज महिलाले पनि गर्न सक्दा रहेछन् । अवसर चाँहीदोरहेछ भन्ने कुरा विस्तारै बुझ्न थालेकोमा उनी औधी खुसी छिन् ।
महिलाले प्रशासनिक कामलाई पुरुषकोभन्दा चुस्त दुरुस्त पारदर्शी रुपमा लग्ने रहेछन् भन्ने उनको कामले देखाएको छ । तर पनि केही आन्तरिक कुरामा विद्यालयका निर्णय गर्दा महिला प्रअ भएकोले केही कठिनाई बेहोर्नुपर्ने परेको तीतो अझै कायम छ । उनी प्रअ भएपछि नै २०६३ सालदेखि तालबाराहीमा उच्च मावि संचालन भयो । यसमा उनको प्रमुख भूमिका छ भने अरुको पनि उत्तिकै सहयोग छ । विद्यालयबाट एसएलसीमा उत्तिर्ण हुने दर बढेको छ । अनि विद्यालयको भौतिक पुर्वाधारमा पनि केही सुधार पक्कै आएको छ ।
मनोज घर्तीमगर
तस्वीर ः छवि मगर