‘उडेर जुन छुन्छु भन्थे
तर आज पिजडाको चरी भा‘छ जीवन
जुगौं जुग जिउँछु भन्थे
तर, आज आफ्नै काखमा मरिराछ जीवन
राजकुमार बगरले लेखेको यो गीत २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि उनी पछाडी फर्कनु परेन । रामभक्त जोजिजुले गाएको यहि गीतले उनलाई साँगीतिक फाँटमा हाम फाल्न लगाएको हो । संगीतमै करिअर बनाउन उनी २०५९ मा काठमाडौं छिरे । २०६४ देखि आफ्नै स्टुडियो खोलेर उनी पूरै संगीत कर्ममा लागेका छन् । अनामनगरमा रहेको त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोका संचालक उनी काठमाडौंमा ठूलो संघर्षले टिकेको सुनाउँछन् । २०३२ सालमा तनहुँको मनपाङ गाविस रानीस्वाँरामा जन्मिएका बगरका मिर्मिरेको घाम, माया नमार, दैलामुनी जौ, उर्लेको गंगा, चिटिक्क भाछुरे, सुनको गजुर,फर्क मुग्लानी लगायतका थुप्रै गीत चर्चामा छन् । गीत लेखनमा सक्रिय उनीसँग राज्यसत्ता डटकमका लागि मनोज घर्तीमगरले गरेको कुराकानी ।
तपाईको कुन गीत बजारमा आउँदैछ ?
– शिव परियारले गाएको ‘माया’ एल्बमको ‘बाँचेको छु आजसम्म तिम्रै कारणले’ आधुनिक गीत बजारमा आउँदैछ । यस्तै तीजको सिन्धु मल्लले गाएको गीत र अञ्जु पन्त, मनोजराज, सत्यराज आचर्यले गाएका गीतहरु बजारमा पठाउने तयारी गरिरहेको छु ।
तपाईको गीत लेखन छनौट ?
–प्रेम गीतहरु नै मेरो छनौटमा पर्दछन् । सायद सबै भन्दा बढीलाई मन पर्ने विधा भएर होला ।
गीत लेखकमा हुनै पर्ने गुण ?
–वास्तविकताको गहिराईमा पुग्ने कोसिस गर्नु । पिडा र खुशीको गहिराईमा पुग्ने लक्ष्य राख्नु । सृजना, रचना गर्नुभन्दा संकलनतिर लाग्नु गीत लेखकमा हुनैपर्ने गुणभित्र पर्छन् ।
आफ्नो कुन गीतबाट बढि सन्तुष्टि हुनुहुन्छ ?
–कुनै पनि श्रष्टालाई आफ्ना सबै रचना उत्तिकै प्यारो लाग्छन् । तर, पनि ‘तिमिलाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि।।।’ भन्ने गीत मलाई बढी मन पर्छ । जुन गीत मेरो पहिलो संगीत पनि हो ।
पहिले र अहिलेको गीत लेखनमा के फरक पाउनु भा’छ ?
– पहिलाको भाव प्रधान हुन्थ्यो अहिले बढि व्यावसायिक प्रधान गीत लेखिन्छ ।
अब नेपालमा फुलटाइम गीत लेखेर बाँच्न सकिएला ?
–नेपालको संगीत बजार सानो छ । पछिल्लो सयम विकास भएको प्रविधिले संगीत बजारलाई धरामा पनि पारेको छ । त्यसैले व्यवस्थित संगीत बजार नबनेसम्म फुलटाइम गीत लेखेर बाँच्न असम्भव छ ।
नेपाली गीत संगीतमा कस्ता प्रकारका गीतहरु बढी लेखिन्छन् ?
–प्रेम विछोडकै गीत बढी लेखिन्छन् ,संगीत भरिन्छन् ,गाईन्छन् र मन पराइन्छन् , पनि…..
गीत सृजना, रचना वा संकलन के गरिन्छ ?
–पहिले गीत संकलन गरिन्थ्यो । तर, आजभोली गीत निश्चित रुपमा श्रृजना गरिन्छ नी । तर केही गीतहरु उखान– टुक्काबाट पनि जन्मिएका छन् ।
विश्व संगीतमा नेपाली गीत संगीतको स्थान के छ ?
–नेपाली संगीत बजार अव्यवस्थित भएकोले विश्व संगीतबजारमा स्थान बनाउन सकिरहेको छैन । कुनै दिन राम्रो स्थान बन्छ भन्ने आशा छ ।
‘उडेर जुन छुन्छु भन्थे तर, आज पिजडाको चरी भा’छ जीवन’ गीत राजकुमारको प्रतिरुप हो भन्छन्, तपाई के भन्नु हुन्छ ?
–हो पनि, हैन पनि । हैन पनि, हो पनि । मेरो डायरीमा सिमित हुंदा मेरो प्रतिरुप थियो होला । अब सम्पुर्ण प्रेम–वियोगीहरुको…प्रतिरुप हो, जो जसले मन पराईदिनु भएको छ उहाँहरु सबैको प्रतिरुप हो ।
प्रेम विछोडले तपाईँलाई गीतकार बनाएको भन्छन् ,हो ?
–म भित्रको गीतकार मसंगै जन्मीएको हो जस्तो लाग्छ मलाई । हैन भने त सवै प्रेमवियोगीहरु गीतकार बन्दा हुन् । ट्रेजेडी गीतहरु बढि लेख्ने भएकोले पनि मलाई यसो भनिएको होला । ट्रेजेडी गीतहरु बढि लेख्ने एक गीतकार भनेर बुझिदिनु भए न्यायोचित होला…..
कुनै एक बेजोड नेपाली महिला गीतकार र गायिकाको नाम लिनु पर्दा ?
–अन्य विधामा भन्दा गीत विधामा महिला सर्जकको उपस्थिति कम छ । गीति लेखनमा उल्लेख्य नाम छैन । गायिकामा त पछिल्लो समयमा अन्जु पन्त विकल्पहिन नाम हो ।
कतिको रोमान्टिक हुनुहुन्छ ?
–थिए कुनैबेला तर कुन कालखण्डमा गुमाए त्यो पनि, थाहा पत्तै पाइन ।
भाबुक छस् भन्छन धेरैले….
प्रेम के हो ?
–प्रेम समर्पण हो, त्याग हो, प्राप्ती हैन ।
प्रेममा लाभहानिको कुरा आउँछ कि आउँदैन ?
–प्रेम प्राप्ती हैन । व्यापारमा जस्तो लाभ र हानीको कुरा नै हुदैन प्रेममा, यो मेरो व्यक्तिगत मान्यता हो ।
पहिलो प्रेमलाई कसरी सम्झनु हुन्छ ?
–मानव जीवनमा हरेक पहिलो कुरा यादगार हुन्छ सायद । चाहेर पनि भुल्न सक्दिन होला, अरुहरुले जस्तै…
जीवन के हो ?
–रहर, सपना र भ्रमहरुको शिलशिला…