आधुनिक स्वरुपमा बदलिदै कौरा

Read Time:8 Minute, 18 Second

 

हा…सानु माया लाउँकी भनेर
यो दाजुलाई भनेर दिनदिन औला गनेर
सानु माया लाउँकी भनेर

यी यस्तै भाकामा गाउँघर वनपाखा घन्काउँदै कौरा गाउने अनि नाच्ने समय आजभोली छैन । मगर सँस्कृतिमा निकै प्रचलित कौरा नृत्यको चार्म भए पनि यसको मौलिकता संरक्षण हुन सकेको छैन ।
विभिन्न कार्यक्रममा हुने कौरा गीत र नृत्यलाई नमान्ने हो भने कौरा देख्न पाउनु शौभाग्य हो । विशेष गरि पश्चिमाञ्चलका मगर बस्तीमा प्रतलित कौरा सँस्कृति हराउँदै गएकोमा चिन्ता गर्नेहरु बढेका छन् । कौराको असली स्वरुप हराउँदै गए पनि पछिल्लो समय यसले व्यापकता भने पाउँदै गएको छ ।
मगर भाषाको कानराहाबाट अपभ्रंश भएर कौरा भएको हो । कानराहा भनेको हामी आयौं भन्ने अर्थ लाग्छ । मगर सँस्कृतिमा धेरै वर्ष पहिले घाँस दाउरा गर्ने बेला कानराहा–कानराहा अर्थात हामी आयौं भन्दै मगर युवा र युवतीले गीत गाउने गर्थे ।
कौरा गीत माघे संक्रान्तिदेखी असारे पूर्णिमासम्म पर्ने विभिन्न मेला जात्रा पर्वमा नचाइन्छ नै यसबाहेक मगर जातिको विवाह, पास्नी, न्वारन, छैटी, छेवार आदिमा पनि नाच्ने गरिन्छ । कौरा गीतमा माया प्रेम सुखदुख, हर्ष उल्लास ख्यालठट्टा पनि गरिन्छ । गीतबाट सञ्चोबिसञ्चो, चिना परिचय पनि गरिन्छ । पहिले­­­­­–पहिले गाउँघरमा पल्लो गाउँका युवा र वल्लो गाउँका युवति मिलेर कौरा नाचगान गर्दैै रमाईलो गर्थे ।
कौरामा नै उनीहरुले मायाप्रितिका कुरा पनि गर्न भ्याउँथे । केटापक्षले गीतबाटै केटीलाई अनेक कुरा सोधनी गर्थे ।

हा…नानी त रैछौ हाम्रै दावली
का हो नानी घर तिम्रो का हो माईती मावली
नानी त रैछौ हाम्रै दावाली

केटाले गीतबाटै आफ्नो दावली बनाएपछि केटीले पनि गीतबाटै उत्तर त दिनैप¥यो । केटी पनि के कम भाका मिलाएरै यस्तो उत्तर दिन्छन् ।

हा… पार्छौ की त हाम्लाई बितरा
हाम्लाई भने बाउको डर, कान्छा तिमलाई केछर
पार्छौ की त हाम्लाई बितरा

पश्चिमाञ्चलको बाक्लो मगरबस्ती रहेको तनहुँको रिसिङ, घिरिङ, ढोरबराह, स्याङ्जा, पाल्पा, नवलपरासी, गोर्खा, कास्की लगायतका क्षेत्रमा कौरा नाचिन्छ । त्यो बाहेक अहिले गण्डकी, धौलागिरी, लुम्बिनी अञ्चलमा मगरका अलावा गुरुङ, दरै, दुरा लगायतका समुदायले पनि नाँच्ने गरेका छन् । कौरा नाच्ने केटीहरुको संख्या बिजोर हुनुपर्छ । कम्तीमा तीनदेखी १३ जनासम्मको कौरा नाच्ने गरिएको छ ।
कौरामा एउटै टुक्कालाई धेरैपटक गाइन्छ । नाच्नलाई अनुकुल बनाउन पटकपटक दोहो¥याउने गरिएको हो । कौरा नाच्दा केटाहरुले भांग्रा कछाड शिरमा टोपी लगाउँछन् भने केटीहरुले मखमलको चोली घलेक र पोते पहेलो पटुका छिटको गुन्यु र काँधमा सानो रुमाल राख्ने गर्छन् । जमानाको कौरामा यस्तो हुलिया देखिने भए पनि आजभोली खासै देख्न पाईदैन । कौरा कल्चर फैलदो अवस्थामा भए पनि यसको असली रुप हराउँदै गएको दावी गर्छन् पोखरा विश्वविद्यालयमा पूर्व उपकुलपति डा. केशरजंग बरालमगर ।
‘कौरा विकृतरुपमा गएको छ, यसको ओरिजिनल फर्म आजभोली देख्न पाइदैन । यो पुरै बिग्रदै गएको छ’ डा. बरालमगर भन्छन्‘कौरा अहिले बजारमा आएर व्यापारिकरण भएको छ, त्यसैले पनि यसको असली रुप देख्न पाईदैन ।’
कौरा युवाहरुले खैजडी बजाउँदै गाउने र युवतीहरुले गीतको भाव अनुसार हातको पार लगाउँदै नाचिने सामूहिक नृत्य हो । कौरामा विवाहित र अविवाहित दुवै केटाहरु सहभागी हुन पाउँछन् भने केटीहरुचाही अविवाहित हुनैपर्छ ।
विवाहित केटीले कौरा नाँच्ने परम्परा छैन । कौरा नाच्ने केटाहरु हरेकको हातमा खैजडी हुनुपर्दछ । कौराको विशेषता के भने कौरा गीत केटीहरुले गाउँदैनन् । पुरानो सँस्कृति जे भए पनि अहिलेका युवापुस्ताले आफ्नो मन लागी गरेका छन् । त्यसैले त कौरामा जे हुनुपथ्र्यो त्यो छैन । नयाँनयाँ कुराहरु थप्दै यसलाई बर्णशंकर बनाएका छन् ।
सँस्कृतिकर्मी एवं गायक बुद्धिमान दुरा धम्पु पनि पहिलेको जस्तो कौरा आजभोली नभएको सुनाउँछन् । उनका अनुसार २०३६ सालपछि कौरमा पनि धर्म र राजनीति घुस्दै गएकोले कौरामा बिकृत रुपमा देखा परेको छ । २०३६ सालपछि समूह–समूह भएपछि एक गाउँबाट अर्को गाउँमा गएर कौरा गाउने र नाच्ने गर्दा ‘मेरो गाउँमा किन आइस्’ भन्दै झगडा हुन सुरु भएको थियो ।  मान्छेहरु बढी मात्रमा संकिर्ण हुँदै गए । वल्लो गाउँको पल्लो गाउँमा जाने र पल्लो गाउँको अर्को गाउँमा नाचगान गर्न जाने अवस्था भएन ।
‘कौरामा एउटा गीत यस्तो छ, यो नानीको शिरको जोवन जुठो छ की चोखो छ , त्यो फूल लाउने मलाई धोके छ भनेर गीत गाएपछि यहाँ ठूलै झगडा हुन्छ’ धम्पु भन्छन् ‘कौरामा केटीका हात समातेर नाच्नुपर्छ । अहिले त सुरुदेखी नै केटा केटी प्राईभेट जस्तै भइसकेका हुन्छन्, केटीको हात समातेर नाच्न थालेपछि त यहाँ बबाल हुन्छ । अर्कालाई रिस गर्ने डाहा गर्ने प्रबृत्ति छ त्यसैले त अहिले कौरामा बिकृति घुसेको छ ।’
सँस्कृतिका अध्येता डा. कुसुमाकार न्यौपानेको विचारमा चाँही कौरा फैलदो अवस्थामा छ । कौरा मगर जातीको मौलिक नृत्य भए पनि अहिले कुमाल, दरै, गुरुङ, दुरा लगायतका जातिले नाच्ने गाउँने गर्न थालेका छन् । त्यतिमात्रै हैन, गाउँमा हुने कौरा सहरमा समेत नाच्ने प्रचलन बढेको छ ।
‘अलि पहिले कौरा हराउँछ की भन्ने थियो, गाउँमा नाच्ने कौरा अहिले सहर पसेको छ । मगरले मात्रै नाच्ने कौरा मिठो गीत र संगीतमा भएकाले अरु जातिले पनि नाच्न थालेका छन् त्यसैले कौरा फैलँदो अवस्थामा छ’ सँस्कृतिका अध्येता डा. कुसुमाकर न्यौपाने भन्छन्‘ भलै गाउँमा जस्तै ठेट कौरा नपाईएला तर, कौरा उन्नती उन्मुख छ सँस्कृतिमा अलिअलि बिकृति त आईहाल्छ नी, त्यो विकृति नभएर परिवर्तन पनि हो ।’

मनोज घर्तीमगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %