राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट संबिधान सभाको निर्वाचन २०६४ मा नवलपरासी क्षेत्र नं.३ बाट लडिसक्नुभएका कर्ण बहादुर सुनारी मगर पार्टीको सँघीय परिषद सदस्य पनि हुनुहुन्छ । आदिवासी जनजाति आन्दोलनमा दशकौँ देखि सकृय सुनारी आदिवासी जनजाति महासँघ नवलपरासीका अध्यक्ष समेत हुनुहुन्छ ।
वामपन्थी राजनीति छोडेर जातिय मुक्तिका लागि सँघर्षरत श्री सुनारीले आगामी मँसिर ४ मा हुन गइरहेको दोस्रो सँबिधान सभाको निर्वाचनमा पनि सोही ठाउँबाट उम्मेदवारी दिनुभएको छ । यसपालि जसरी पनि चुनाव जित्नेमा शँका नरहेको बताउने सुनारीसँग राज्यसत्ता डट कमका लागि प्रेमध्वज गाहाले निर्वाचन मितिको तीन दिन अघि गर्नुभएको कुराकानी :-
चुनावी अभियान कसरी चलिरहेको छ ?
चुनावी अभियान लगभग अन्तिम चरणमा पुगेको छ । घरदैलो सकियो । दाउन्ने वारि एक पटक मोटरसाइकल र्याली पनि गरियो र पारी फेरि एक चरण मोटरसाइकल र्याली गर्ने तयारीमा छौँ । र्याली भव्य एवँ बृहत भयो । अर्को कुरा गाउँ गाउँमा गएर मगराँत राज्य कसरी खोसियो भन्ने सन्दर्भमा बनेको चलचित्र सीमारेखा प्रदर्शन पनि गर्ने गरेका छौँ । जसबाट थुप्रै मान्छे प्रभावित पनि भएका छन् । अतः यसलाई पनि हामीले चुनावी अभियान अन्तर्गत नै लिएका छौँ । जे होस् हाम्रो चुनावी अभियान उत्साहजनक चलिरहेको छ ।
चुनाव जित्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
एकदम बिश्वस्त छु । शँकै छैन ।
के छ आधार ?
पहिलो आधार के छ भने म यस क्षेत्रको आदिवासी, जनजाति, दलित एवँ पिछडिएका समुदायको मुद्दा वकालत गरेर हिँड्ने मान्छे हुँ । यहाँ कुल सन्ताउन्न हजार मतदाता रहेकोमा करिव पैँतीस हजार जनता माथि उल्लेखित समुदायका छन् । पहिलो सँबिधान सभा बिना उपलब्धि बिघटन भयो त्यो पनि राज्यको मुलधारबाट अलग्याइएको बर्ग,जाति र समुदायको अधिकार सँबिधानमा लिपिबद्ध गर्न नचाहनेहरु हाबी हुँदा । त यो कुरा अहिले सम्पुर्ण जनताले बुझिसकेका छन् । मेरो पार्टीले बिगत २२ बर्ष अघिदेखि यी सीमान्तकृत समुदायलाई पनि सत्ताको मालिक बनाउनुपर्छ भनेर निरन्तर आवाज उठाइरकोले म र मेरो पार्टी छोडेर अन्यत्र भोट हाल्दैनन् जनताले । अर्को आधार के छ भने यस क्षेत्रमा म मात्र एक स्थानीय उम्मेदवार हुँ बाँकी सबै अन्यत्रका छन् । यो ठाउँको समस्या तथा बिकास निर्माणका कुरा मलाई राम्ररी अवगत छ । सबैतिर स्थानीय उम्मेदवारलाई जिताउने लहर चलेकोले यहाँ पनि मलाई सहयोग गर्ने आश्वासन पाएको छु । यसकारण पनि चुनाव जितिने पक्का छ ।
तपाईको पार्टीलाई आदिवासी जनजातिको मात्र पार्टी हो भन्ने आरोप छ नि ?
त्यो एउटा मिथ्या आरोप हो । हाम्रो घोषणा पत्र हेरे मात्र पनि प्रष्ट हुन्छ , यो आदिवासी जनजातिको मात्र पार्टी होइन भनेर । फरक के मात्र हो भने नेपालमा अढाइ सय बर्ष अघिदेखि चलिआएको एकजातिय सत्ताले समेट्न नसकेका जातिहरुलाई पनि सत्ताको साझेदार बनाउनुपर्छ भनेर हामी भन्छौँ । यो कुराले आदिवासी जनजातिलाई छिटो प्रभाव पार्न सक्यो र पार्टीको नेतृत्व तहमा उनीहरु नै पुगे । नेतृत्वमा जनजाति पुग्यो भन्दैमा पार्टी नै उसैको मात्र हुन्छ भने एमाले काँग्रेसलाई कसको पार्टी भन्ने ? यो सत्ताको बाँडफाँड गर्न नचाहने हैकमबादीहरुको आरोप मात्र हो । हाम्रो पार्टीको तर्फबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली हेर्नुभयो भने अझ प्रष्ट भइन्छ । बादी देखि ब्राम्हण सम्मका सबै समुदायका नाम छन् त्यहाँ ।
पार्टीको राष्ट्रिय रुपमा कस्तो परिणाम आउने आँकलन गर्नुभएको छ ?
निश्चित रुपमा यस अघिको निर्वाचनमा हामीले अपेक्षा गरे अनुरुप परिणाम आएन । तर यसपालि अधिक सफलता प्राप्त गरिनेमा पक्का छ । किनभने यो अवधिमा हामीले धेरै जनतालाई सचेत पारेका छौँ । गत सँबिधान सभामा यथेष्ट जनमत पाएका थुप्रै पार्टीहरु हाम्रो पार्टीमा मिलेका छन् । ब्यक्तिगत रुपमा पनि पार्टी प्रवेश गर्नेहरुको लहर चलेको छ । पार्टीको कामको सिलसिलामा म धेरै जिल्लामा पुगेको छु । त्यहाँको माहौल हेर्दा म एकदम उत्साही छु । इलाम,स्याङ्जा,सुनसरी,नवलपरासी,रुपन्देही, दैलेख, कैलाली लगायतका थुप्रै जिल्लाहरुमा हाम्रो पार्टीले जित्ने पक्का पक्की भैसकेको छ । चुनावी परिणाम पछि हामी राष्ट्रिय राजनीतिमा उल्लेख्य भुमिका खेल्न सक्ने पार्टीको रुपमा दरिने छौँ ।
जनमुक्ति पार्टीले उठान गरेको कतिपय जातिय मुद्दाहरु बिषयान्तर भएर राष्ट्रिय राजनीतिमा आएका छन् ,अव सही ट्रयाकमा ल्याउन के गर्नुपर्छ ?
पक्कै पनि हो । हामी नै हौँ सबैभन्दा पहिला सँघीयता,धर्मनिरपेक्षता एवँ समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाउने । ५२ सालमा माओवादीले यिनै मुद्दालाई उपयोग गरी सत्तासम्मको बाटो तय गर्यो तर जाति र समुदाय बीच बिद्वेष पनि हुने गरी । हामीले भन्ने गरेको जातिय जनसँख्याको आधारमा समानुपातिक प्रतिनीधित्वलाई पार्टीको समानुपातिक प्रतिनीधित्व बनाउने काम भयो । यसरी नियतवश तोडमोड भएका छन् हाम्रा मुद्दा । तर हामीलाई के सन्तोष छ भने कम्तीमा हामीले यहाँका सम्पुर्ण राजनीतिक दललाई हाम्रो मुद्दामा घिसार्न सफल भयौँ
। देखिहाल्नुभयो हिजो हामीलाई जातिवादी देख्ने अशोक राइ जस्ताहरुले हाम्रै मुद्दा बोकेर हुँदा छँदाको पार्टी छोडेर अर्को पार्टी खोलेका छन् । हामीले बाइस बर्ष अघि उठाएका मुद्दा सही रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । हरेक पार्टीको घोषणा पत्र हेर्ने हो भने आदिवासी जनजाति ,दलित र पिछडिएका बर्गको हक र अधिकारको कुरा नगर्ने कोही छैन । ब्यवहारमा जस्तो गरे पनि हाम्रो कुरा नगर्ने अव कोही पनि भएनन् । यस अर्थमा हाम्रो नैतिक बिजय भैसक्यो । यसबीचमा कसै कसैले गलत तरिकाले प्रयोग गरेका छन् हाम्रा मुद्दालाई । त यसलाई सही ट्रयाकमा ल्याउन के गर्नुपर्छ भन्ने सन्दर्भमा चाहिँ के भन्न चाहन्छु भने हाम्रो पार्टी सत्तामा पुग्नुको बिकल्प छैन, हामी सत्तामा पुग्नैपर्छ ।
अन्त्यमा,तपाइँ र तपाइँको पार्टीलाई जिताएर सँबिधान सभामा किन पठाउने ?
नेपालमा १२५ भन्दा बढी जात जाति छन् । तर राज्यसत्तामा एक जाति बिशेषको हाली मुहाली चलिरहेको छ । यसले अझै निरन्तरता पाइरह्यो भने जातिय द्वन्द अवश्यम्भावी छ । त्यही द्वन्दलाई रोकथाम गर्न,एउटा शान्त, उन्नत एवँ समृद्ध नेपाल निर्माण गर्न , जाति र समुदायहरु बीच मेलमिलाप र सह अस्तित्व कायम गर्न, धर्म निरपेक्षता,जातिय पहिचान सहितको सँघीयता ,जातिय जनसँख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनीधित्वका लागि र सोही अनुसारको सँबिधान निर्माण गर्नका लागि मलाई र मेरो पार्टीलाई सँबिधान सभामा पठाउने हो । सम्पुर्ण नेपाली बुवा, आमा, दाज,भाइ तथा दिदी बहिनीहरुमा मेरो यही अनुरोध छ ।