रेग्मी र घिमिरेको एनआरएन लट्ठ पार्ने आश्वासन

Read Time:6 Minute, 12 Second

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा रूपान्तरण गर्न एनआरएनहरूको योगदान जरुरी हुने बताएकाछन् । एनआरएनको काठमाडौंमा आयोजित छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनको मंगलबार साँझ समापन गर्दै उनले सरकारले प्राथमिकता निर्धारण गरेका जलस्रोत, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा सामूहिक तथा व्यक्तिगत लगानी गरी नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न एनआरएनहरूले बढीभन्दा बढी योगदान गरुन् भन्ने सरकारको आश रहेको सुनाए। विश्वका विभिन्न मुलुकहरूमा व्यवसाय एवं रोजगारी गरी आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई मातृभूमिमा लगानी गरेमा त्यसबाट नेपालको समग्र आथिर्क विकासमा योगदान पुग्ने हुँदा ती क्षेत्रमा लगानीका साथै संयुक्त विदेशी लगानी भित्रयाउन सरकारी प्रयत्नमा सहयोग एवं सहकार्य गर्न अध्यक्ष रेग्मीको अाग्रह थियो। एनआरएनको हैसियतलाई वैधानिकता प्रदान गर्दै विभिन्न सेवासुविधा र सहुलियत प्रदान गर्नका लागि संसदले बनाएको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६६ ले महत्वपूर्ण रोल खेल्ने रेग्मीको भनाई थियो ।

 नेपालको आथिर्क सामाजिक विकासमा गैरआवासीय नेपालीको सहभागितालाई संस्थागत गर्न सरकारले विभिन्न कार्यक्रमहरूको थालनी गरिसकेको र परराष्ट मन्त्रालयमा एनआरएनसँग सम्बन्धित विषयलाई हेर्न छुट्टै आथिर्क कूटनीति तथा गैरआवासीय नेपाली महाशाखा स्थापना गरिनुका साथै उच्चस्तरीय आथिर्क कूटनीति सञ्चालन तथा अनुगमन समिति जस्ता सरकारी संयन्त्रमा गैरआवासीय नेपालीको प्रतिनिधित्व सुनिश्चित गरिएको उनको भनाई थियो । नेपाल र नेपालीको सर्वाङगीण विकास र समृद्धिका लागि नेपाल सरकार गैरआवासीय नेपालीहरूसंग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गर्दै उनले भने- विद्यमान राजनीतिक संक्रमणका कारण आर्थिक,सामाजिक तथा सांस्कृतिक रूपान्तरणको जनचाहना पूरा हुन नसकेकाेले अहिलेको  मुख्य प्राथमिकता राजनीतिक सङक्रमणको अन्त्य गरी राजनीतिक स्थायित्व कायम गर्नु हो । व्यावसायिक र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण  व्यक्तिहरूलाई विभिन्न सार्वजनिक स्थानहरूमा विशेष प्रकारको सुविधा प्रदान गर्नका लागि सरकारले आवश्यक पहल गर्ने बताउँदै उनले गैरआवासीय नेपालीहरूमध्ये उत्कृष्ट गैरआवासीय नेपालीलाई कदर गर्दै सम्मान गर्ने प्रचलनको थालनी गरिने जनाकारी दिए । विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिका संयोजक एवम् परराष्टमन्त्री माधवप्रसाद घिमिरेले नेपालप्रतिको उदारभाव र यसको समृद्धिप्रतिको एनआरएनको चासो प्रशंनीय रहेको बताउँदै नेपालको विकासका लागि नवीन सोचसहितको मार्गचित्र तयार गरेर एनआरएनसंग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । श्रम गन्तव्य मुलुकमा नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न तथा आथिर्क कूटनीति सञ्चालनमा विदेशस्थित नेपाली नियोगलाई सघाउन आग्रह गर्दै उनले राजदूतावासहरूलाई साधन स्रोत सम्पन्न गराउन सरकार लागिपरेको जानकारी दिए । उनले थपे- विदेशस्थित नेपाली नियोगहरूबाट प्रभावकारी र नतिजामूलक ढङगबाट आथिर्क कूटनीतिको सञ्चालनका लागि नियोग प्रमुखको संयोजकत्वमा गैरआवासीय नेपालीको प्रतिनिधित्व रहने गरी एक स्थायी संयन्त्र बनाउने निर्णय परराष्ट्र मन्त्रालयले भर्खरै गरेकोछ ।

उनले बिनाझन्झट राहदानी उपलब्ध गराउने तयारीमा सरकार रहेको र आगामी दुईवर्षभित्र यन्त्रले पढ्ने राहदानी प्राप्त गर्न एनआरएनहरूले विदेशस्थित नेपाली दूतावासमा लाम लाग्नुपर्ने अवस्था नरहने ठोकुवा गर्दै नेपालको आथिर्क विकासका लागि विदेशी लगानी ल्याउन, निकासी प्रवर्दन एवम् पर्यटन क्षेत्रको चौतर्फी विकास गर्न सरकारले अघि सारेको द्धिपक्षिय उद्योग वाणिज्य संघ स्थापनामा मद्दत गर्न पनि एनआरएनहरूलाई परराष्ट्रमन्त्रीले आग्रह गरे । संघका अध्यक्ष जीवा लामिछानेको सभापतित्वमा भएको समापन समारोहमा पूर्वअध्यक्षहरु उपेन्द्र महतो, नवनिर्वाचित अध्यक्ष शेष घलेलगायतले एनआरएन अभियानका लक्ष्य र उपलब्धीको चर्चा गरेकाथिए । अध्यक्ष घलेले मंगलवारबाट कार्यभार सम्हालेकाछन् ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %