जिवनभर दासी ! अब हाम्रो पिडा आफै लेख्छौ

Read Time:3 Minute, 14 Second

दाङ, असोज २१
 दाङका मुक्त कमलहरीहरुले आफ्नो पिडा आफै लेख्ने बताएकाछन् । पहिलोपटक मुक्त कमलहरीहरुका लागि दाङको घोराहीमा आयोजना गरिएको ३ दिने आधारभुत पत्रकारिता तालिममा मुक्त कमलहरीहरुले अब मुक्त कमलहरीका पिडा आफै लेख्ने कोसिश गर्ने बताए ।


    ‘हामी विगतमा पनि अर्काको घरमा दास जीवन बिताउन बाध्य भयौं, अहिले पनि हामीलाई कमलहरी हुँन् यिनि त अर्काको घरमा बसेका भनेर भन्ने गर्छन्–पुर्व कमलहरी गिता चौधरीले भनिन्, तर हामी कोही भन्दा कम छैनौ, हामीले अवसर पाएमा हाम्रो जीवनलाई राम्रोसँग अगाडी बढाउन सक्छौ ।’ प्लस टु अध्ययन गर्दै आएकी गिताले भनिन्–‘हामीलाई कसैले पनि कमजोर नसोचुन्, हामी अब कमजोर छैनौं । अब हामी आफ्नो कथा आफै लेख्नका निमित्त पत्रकारितामा आउँन चाहन्छौ ।’
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा दाङले आयोजना गरेको ‘मुक्त कमलहरीका लागि ३ दिने आधारभुत पत्रकारिता तालिम’ को समापन कार्यक्रममा बोल्दै सिता चौधरीले मुक्त कमलहरीका मुद्दाहरु अब आफुले पनि उठाउन बताईन् । यसैबिच तालिमको सोमवार एक कार्यक्रमका बिच समापन गरिएको छ । फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता एवँ नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुनमगरको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न सके मुक्त कमलहरीका क्षेत्रबाट पनि सञ्चारक्षेत्रमा उपस्थित हुने र मुक्त कमलहरीका पिडाहरु अझ राम्रोसँग सञ्चारमाध्ययमबाट बाहिर ल्याउन सकिने बताएका थिए ।
कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य रिता लामा, थारु पत्रकार संघका मध्यपश्चिम संयोजक तथा दाङ जिल्ला अध्यक्ष सन्तोष दहित, फोनिज दाङका निवर्तमान अध्यक्ष तथा तालिमका प्रशिक्षक जेएन सागर, तालिमका सहभागिहरु सीता चौधरी, गिता चौधरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण फोनिज दाङका सचिव शिव घर्तीले गर्नुभएको थियो । तिन दिनसम्म सञ्चालन भएको तालिममा १५ जना मुक्त कमलहरीहरुको सहभागिता थियो । तालिमको प्रशिक्षकमा जेएन सागर, दुर्गालाल केसी र देविका घर्तीमगर थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %