बैद्य माओवादीको आतँककारी कृत्य – यात्रुसहितको बसमा आगजनी

Read Time:5 Minute, 58 Second

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्य नेतृत्वको माओवादीसंग चुनाव भांड्ने हैसियत नभएको बताएको केही घन्टामै नेकपा माओवादीले  काभ्रेको धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गरेकाछन् । बनेपाबाट सिन्धुपाल्चोकको मेलम्चीका लागि छुटेको हेलम्बु यातायात सेवा समितिको बा २ ख  ५६७२ नम्बर बसलाई धुलिखेल स्थित मिरावेल चोकमा आइतबार माओवादी  कार्र्यकर्ताहरुले यात्रुहरु बस भित्रै रहेको अवस्थामा आगो लगाइदिएका हुन् । आगलागिबाट मानवीय क्षति नभएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । बसभित्र ३५ जनाभन्दा बढी यात्रुहरु रहेको सबै जना बसको झ्यालबाट हामफालेर बाचेको प्रहरीले जनाएको छ ।  धुलिखेलमा यात्रुसहितको बसमा आगो लगाउने माओवादी गतिविधिलाई युद्धकालमा चितवनको माडीमा सर्वसाधारण सवार गाडीमा बम विस्फोट गराइएको घटनाको पुनरावृत्तीका रुपमा सर्वसाधारणले कडा आलोचना गरेकाछन् ।

प्रहरीले बन्द गरेको भनेपछि आफु बनेपाबाट यात्रुलिएर मेलम्चीका लागि हिडेको सह–चालकले दिपक कार्कीले जानकारी दिए । यसैबीच चाडवाडको मुखमा बन्द गर्दा ब्यापार ब्यवासयी चौपट हुने भन्दै बनेपाका ब्यापारी र स्थानीयहरुले बन्दको प्रतिकार गरेका छन् । प्रतिकारको क्रममा दोहोरो झडपको अवस्था आएपछि प्रहरी नेकपा माओवादीका केन्द्रिय सदस्य चुडामणि गौतम सहित १६ जनालाई नियन्त्रणमा लिएको छ । बन्दको समाचार संकलन गर्न गएको दुई जना पत्रकारमाथि बन्दकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणबाट राजधानी दैनिकका काभ्रे संवादाता केशवराज पौडेल र अरनिको टेलिभिजनका पत्रकार देवराज केसी घाइते भएका छन् । त्यस्तै दोलखामा पनि विहानैदेखि नेकपा माओवादीका कार्यकर्ताले सातदोवाटो चोकमा जम्मा भएर सवारी साधनमा रोक लगाएपनि स्थानीयले बन्दको अवज्ञा गरेका छन् ।

……………………………………………………………………

यो त अति नै भो
राम कार्की, बसमा सवार यात्रु  

आइतबार बिहान बा १ ख ५६७२ नम्बरको यात्रुबाहक बस  धुलिखेलबाट मेलम्चितर्फ गइरहेको थियो । त्यहिबीचमा केहि बन्दकर्ताहरु सडकमा झण्डा लिएर नाराबाजी गर्दै आए अनि यात्रुसहितको बसमा आगो लगाए । बस क्षणभरमै ध्वस्त भयो । आइतबार वैद्य नेतृत्वको नेकपा माओवादीसहितका केहि दलले ताम्सालिङ क्षेत्र बन्द भन्दै काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्ला बन्दको आह्वान गरेका थिए । त्यहि बन्दमा सवारी चलाएको भन्दै बन्दकर्ताहरु रिसले आगो भए र सामान्य मानविय संवेदना समेत गुमाएर यात्रुसहितको बसमा आगो लगाए । धन्न यात्रु भागेर जोगिन सफल भए । निर्वाचन प्रकृयाप्रति असहमित जनाउँदै आएका दलहरुले विभिन्न माग राख्दै पछिल्लो समयमा राष्ट्रिय र क्षेत्रिय बन्दको आह्वान गरिरहेका छन् । तर, उनीहरु शान्तिपूर्ण नभई केहि समययता आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । त्यसैको उदाहरण हो धुलिखेल घटना । आइतबार धुलिखेलमा जुन बसमा आगो लगाइयो त्यो बसमा यात्रुहरु सवार थिए । धन्न कुनै मानविय क्षति भएन ।

बन्दका नाममा यो अति हो । यात्रुसवार बसमा नै आगो लगाउनुले बन्दकर्ताहरुको मानसिकता राजनीतिक भन्दा पनि आपराधिक भएको भन्न करै लाग्छ । सर्वसाधारणहरु त्यस्तै भनिरहेका छन् । बन्दकर्ताहरुका राजनीतिक माग आफ्ना ठाउँमा सहि होलान् । गोलमेच सम्मेलन, नयाँ सरकार निर्माण या अरु यस्तै माग नाजायज नहोलान् । यो एउटा राजनीतिक बहसको विषय हो । तर, यी माग पुरा गराउन जुन तबरले बन्दका कार्यक्रम गरिएको छ यसले जनताको समर्थन भने कुनै हालतमा पाउन सक्दैन । यात्रु सवार बसमा आगो लगाएर गरिएको आन्दोलनलाई राजनीतिक आन्दोलन भन्न सकिन्न । नाम जे दिइएपनि यस किसिमको काम राजनीतिक हुनै सक्दैन । र, यसप्रकारका घटनाका दोषिहरुलाई राजनीतिक आन्दोलनका नाममा सरकारले उन्मुति दिन हुँदैन । आइतबार धुलिखेलमा जसरी यात्रुसवार बसमा आगो लगाउने काम गरियो यसले माओवादी शसष्त्र युद्धताकाको  माडि घटनाको झझल्लको दिएको छ । चितवनको माडिमा यात्रुसवार बस विद्युतिय धरापमा पारेर थुप्रै यात्रुको ज्यान लिइएको थियो । धन्न आइतबार बस ध्वस्त भएपनि मानविय क्षति हुन पाएन । यात्रुसवार बसमा नै आगो लगाइएको धुलिखेल घटना सामान्य होइन । बन्दका नाममा यो अति हो ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %