जसु गुरुङको परिचय कुनै बेला म्युजिक भिडियोको मोडलिङ मात्रै थियो । नायिका बन्न निकै लालायीत यीनको परिचय अहिले गुरुङ फिल्मकी व्यस्त नायीकाको रुपमा फेरिएको छ । मनोहर रानाको ‘पातभन्दा फुल राम्रो’ गीतबाट मोडलिङ दुनियामा प्रवेश गरेपछि जसु ग्ल्यामर दुनियाँमा चिनिन थालेकीछन् ।
पोखराको नदिपुरमा रहेको डाँफे कला मन्दिरका संचालक स्व. क्याप्टेन मिनबहादुर गुरुङले ‘टोरा’ (टुहुरो) नामक गुरुङ फिल्ममा खेल्ने अवसर दिएपछि उनी पछाडी फर्कनु परेन । रहरमै ग्ल्यामर दुनियाँमा छिरेकी जसु ‘रुपै राम्रो रुपा तालको’ नामक म्यूजिक भिडियोको निर्देशन गरेपछि निकै चर्चामा रहिन् । ‘अचेल फिल्ममा अभिनय गरिदिनका लागि एकपछि अर्को अफर आएका छन्’ उनी भन्छिन् ।
नृत्यमा निकै पोख्त उनी जातिय सँस्कृति झल्कने गीतदेखी लोकगीतसहित दर्जनौ म्युजिक भिडीयो र गुरुङ फिल्ममा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय म्यूजिक भिडियो निर्देशकको समेत छवि बनाइसकेकी उनले विभिन्न फिल्मको मुख्य सहायक निर्देशन पनि गरिसकेकी छिन् । ‘हिजोआज छानेर मात्रै खेल्ने गरेकी छु’ गुरुङ पहिरनमा सजिएकी उनले जोशीलो पारामा भनिन्‘अरुले गुरुङ फिल्ममा निरन्तरता दिन नसकेपनि मैले निरन्तरता दिन सकेकी छु, फुर्सद बस्नु परेको छैन ।’
प्राय गुरुङ फिल्ममा नायिकाको भूमिकामा जमेकी सुनिता गुरुङ यतिबेला निकै व्यस्त छिन् । विसं २०५५ सालतिर सामान्य डान्स गर्ने उनी स्कुल फढ्ने बेलामा गुरुङ फिल्म ‘म्हि सै’ (मान्छेको मन) का लागि नायिकाको रुपमा छनौटमा परेकी थिईन् । गुरुङ भाषा खासै नआउने भएपनि फिल्ममा नायिका बनेपछि उनी निकै चर्चामा रहिन् । डाँफे कला मन्दिरले बनाएको ‘धिर बैता’ (घरको कुरा) मा दोस्रो पटक नायिकाको रोल गरेपछि उनले नेपाली भाषाको फिल्म ‘मिथेवा’ मा तेस्रो पटक नायिका बन्ने अवसर पाईन् । ‘नेपाली भाषामा बनेको फिल्म भएकोले मिथेबा निकै राम्रो भयो’ सुनिता भन्छिन् ‘धमाधम अफर आउन थाले, त्यहाँदेखि अहिलेसम्म पछाडी फर्कनु परेको छैन, फिल्ममै व्यस्त छु ।’
१३ वटा फिल्ममा नायिका बनीसकेकी सुनिताले दर्जनौं म्यूजिक भिडियो खेलेकी छिन् । त्यति मात्रै हैन उनी पछिल्लो समय निर्देशक समेत बनेकी छिन् । फिल्म निर्देशनदेखि लिएर नायिकाको भूमिकामा देखिने सुनिताको यतिबेला व्यस्तता निकै बढेको छ ।
सुनिता (दाँया)
गुरुङहरुको बाक्लो वस्ती रहेको पोखरामा गुरुङ भाषा, सँस्कृति रहनसहनलाई विषयवस्तु बनाएर गुरुङ फिल्महरु धमाधम बनिरहेका छन् । फिल्म निर्माणसँगै नायिका बन्न गुरुङसेनी युवतिहरु पनि दौडधुप गरिरहेका छन् । ङै जीन्दगी (मेरो जिन्दगी) लगायतका ६ वटा गुरुङ फिल्ममा नायिका बनेकी प्रतिक्षा गुरुङको अभिनय गर्ने ईच्छा अझै मेटिएको छैन । उनी अभिनय क्षेत्रमा लागेको ७ वर्ष भईसकेको छ । ‘नायीका बन्ने सोख सानैदेखिको हो’ उनले भनन्‘िफिल्ममा अभिनय गर्ने रहर मात्र पुरा भएको छैन,आफ्नो जातिय सँस्कृति पनि जगेर्ना गर्न सन्देश दिन सकिएको छ ।’
वर्षेनि पोखरामा गुरुङ फिल्म बन्ने क्रम बढेको छ । त्यसले गर्दा पनि गुरुङ युवतिहरुको फिल्म अभिनयतिर झुकाव बढेको हो । पछिल्लो समय निकै व्यस्त नायिका मध्ये अर्कि हुन् वसन्ती गुरुङ । ‘गुरुङ फिल्ममा अभिनय गर्न पाउँदा निकै खुसी छु’ उनी भन्छिन्‘फिल्मकै माध्यमबाट भए पनि आफ्नो समुदायको कला सँस्कृति जगेर्ना गर्न सहयोग पु¥याएको छु, त्योबाहेक थोरै भए पनि आम्दानीको स्रोत पनि बनेको छ ।’करिब ८ वटा फिल्ममा नायिकाको रुपमा अभिनय गरिसकेकी उनले थुप्रै म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।
‘वर्षेनी गुरुङ फिल्म बन्ने क्रम बढेको छ’ कलात्मक फिल्म निर्देशन गर्न माहिर माओत्से गुरुङ भन्छन्‘यसले गर्दा पनि गुरुङ युवती फिल्म खेल्न उत्साहित भएका मात्र छैनन् मौका पनि पाएका छन् ।’ उसो त गुरुङ फिल्म हिजोआज विस्तारै आधुनिकतातिर ढल्कदैछन् । गुरुङ परम्परा मै र आफ्नैपन भेषभुषमा फिल्म निर्माण हुने भएपनि पछिल्लो पुस्तालाई मध्यनजर गरि केही आधुनिकीकरण गर्न खोजिएको निर्देशक माओत्सेको भनाई छ । उनले निर्देशकहरुले रिस्क उठाएर भए पनि गुरुङसेनी (ङ्लोस्यो) नायिकालाई भर्सटाईल रोल दिएमा यिनीहरु अझ चम्किने र उनीहरुको कलाकारिता देखिने बताए ।
पोखरामा मात्र गुरुङ भाषा र सँस्कृतिमा आधारित ६५ भन्दा बढी फिल्म निर्माण भईसकेका छन् । गुरुङ फिल्म एशोयिसन नेपालमा सयभन्दा बढी फिल्म दर्ता छन् । ती फिल्महरुमा अभिनय गर्ने नायिकाहरु धेरैजसो अभियनामा जमेका छन् । अधिकांश अहिले पनि फिल्म क्षेत्रमै सक्रिय छन् । बैबाहिक जीवनमा बाँधिए पनि फिल्म क्षेत्रमा अभियनयलाई निरन्तरता दिनु उनीहरुको सवल पक्ष हो ।
गुरुङ फिल्मको बढ्दो निर्माण क्रमसँगै नयाँ अनुहार पनि त्यत्तिकै मात्रामा थपिदैछन् । वसन्ती गुरुङ, सुनिता गुरुङ, छायाँ गुरुङ, मिरा गुरुङ, प्रतिक्षा गुरुङ, पविना गुरुङ, सविना गुरुङ, शान्ति गुरुङ लगायतका नायिकाहरु अहिले बनिरहेका गुरुङ फिल्ममा सक्रिय रुपमा लागिरहेका छन् ।
मनोज घर्तीमगर,पोखरा
तस्वीर पोखरा सिटी डट कम