पुर्वी पहाडी क्षेत्रको मुख्य वजार तेह्रथुमको वसन्तपुर देखि तीनजुर, चौकी, मंगवारे, गुफापोखरी हुदै चाईनाको सिमा क्षेत्र सम्म सामान ढुवानी गर्ने खच्चड र चौरीहरु विस्थापित हुदैछन् । गाउ गाउमा कृषि सडक पुगे पछि खच्चड र चौरीको ढुवानी वन्द हुने अवस्थामा पुगेको छ ।
पहिले चौरी र खच्चडको घण्टीले गुन्जायमान पुर्वको तीनजुरे मिल्के जलजले क्षेत्र आज भोली सुनसान छ । पहिले हुलका हुल चौरी र खच्चड हिडने यो क्षेत्रको वाटोमा आज भोली सामान वोकेर ट्याक्टर हिडन थालेको छ । यसले गर्दा पुर्वी पहाडको उच्च क्षेत्र तीनजुरे मिल्के जलजले देखि चीनको सिमा सम्म ढुवानी गर्ने खच्चडहरु विस्थापित हुन पुगेका छन् । सडक नपुग्दा तेह्रथुमको वसन्तपुर देखि ओलाङचुङगोला सम्मको सामान चौरी र खच्चडबाट ढुवानी हुने गर्दथ्यो । तर आज भोली सो क्षेत्रको अधिकांस ठाउमा कृषि सडक पुगेकोले खच्चड र चौरीवाट ढुवानी हुन छाडेको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको पुर्वी पहाडी क्षेत्रको उच्च क्षेत्र मानिने तीनजुरे मिल्के जलजले क्षेत्रमा यातायातको साधन नचल्दा यहाको ढुवानीको मुख्य माध्यम भनेकै चौरी र खच्चड हो । तर पछिल्लो समयमा यी क्षेत्रहरुमा पुगेका सडकले गर्दा वर्षयाममा यसो सानो तिनो ढुवानीको काम पाए पनि हिउदयाममा ट्याक्टरले सामान ढुवानी गरिदिए पछि यो रुट नभएर अर्काे चौरी र खच्चडको रुट खोज्नुपर्ने वताउछन् १५ वर्ष देखि खच्चड ढुवानी गर्दे आएका छागु सेर्पा ।
तेह्रथुमको मुख्य वजार वसन्तपुरवाट २६ किलोमिटर समुद्री सतहवाट २८सय ९० मिटरको उचाईमा रहेको गुफापोखरी सम्म कृषि सडक पुगेको छ । त्यहाँ देखि उता पनि सडक विस्तारको क्रममा छ । वर्षयाममा कृषि सडक हिलाम्मे भएकोले सामान ढुवानी ट्रयाक्टरले गर्न सक्दैन । तर हिउद महिनामा भने पुरै चौरी र खच्चडले सामान ढुवानीनै पाउन छाडेका छन् । पहिले तेह्रथुमको वसन्तपुरवाट चौरी र खच्चडवाट सामान ढुवानी हुन्थ्यो भने अहिले वर्षयाममा मंगलवारे, चौकीवाट माथि मात्रै सामान फाट्टफुट्ट ढुवानी हुने र हिंउदमा त गुफापोखरीवाट मात्रै समान पाईने वताउँछन् खच्चड संचालकहरु ।
यसरी पुर्वी पहाडी क्षेत्रको उच्च ठाँउ मानिएको तीनजुरे, चौकी, मंगलवारे र गुफापोखरी लगायतका ठाउहरुमा ट्याक्टर सम्म हिडने सडक पुगे पछि अहिले केही थोरैले मात्रै खच्चड ढुवानीको लागि तलतिर झार्ने गर्दछन् । थोरै समुहले पनि सामान पाउन छाडेका छन् । धेरै जसो चौरी ढुवानी व्यावसायीले त ढुवानीको काम नपाए पछि चाईना लगेर चौरी समेत वेचेका छन् । चौरी र खच्चड व्यावसायीले समेत आफनो ढुवानी रुट वदलेका छन् । गुफापोखरी देखि माथिको क्षेत्रमा चौरी र खच्चड ढुवानी गर्न थालेका छन् । ढुवानी रुट मास्तिर सरेकोले चौरी र खच्चडको ढुवानीवाट पहिलेको जस्तो आम्दनी हुन छाडेको छागु सेर्पा वताउछन् । विकास गाउ गाउमा पुगे पछि सजिलो त भयो तर केही वर्ष पछि यो व्यावसायको कामै नहुने वताउछन खच्चड व्यावसायीहरु ।
पहिले चौरी र खच्चडवाट तीनजुरे, मिल्के , जलजले क्षेत्रका वासिन्दाहरुको दैनिक उपभोग्य वस्तु ढुवानी हुने गर्दथ्यो । तर अहिले यो ढुवानी विस्थापित हुने अवस्थामा पुगेको छ । यो क्षेत्रमा वनेका कृषि सडकहरु वर्षायाममा मर्मत हुन नसक्दा खच्चडको पनि ढुवानी नपाईनु र ट्रयाक्टरको ढुवानी पनि नपाउँदा स्थानिय मारमा पर्ने गरेको स्थानियवासीहरु वताउछन् । पुर्वका उच्च पहाडी क्षेत्रमा वनेका कृषि सडकले चौरी र खच्चड ढुवानीलाई नराम्रो संग प्रभावित पारेको छ ।
भैरब आङ्ला, धरान