लोकसंस्कृतिविद् डा. कुसुमाकर न्यौपाने पेशाले पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक हुन् । नेपाली विषय पढाउने उनी नेपाली लोक सँस्कृतिका अध्येता पनि हुन् । उनले धौलागिरी अञ्चलमा प्रचलित लोक प्रचलित लोकगीत, गन्धर्व जातिको लोकसाहित्य र प्रर्दशनकारी लोककलाको अध्ययन, पैंयुखोले लोक गीतको सङ्कलन, वर्गीकरण र विश्लेषण, दसावतार बालन लोकनाटकबारे अनुसन्धान गरेकाछन् ।
डा.न्यौपानेले लेखेको ‘दसावतार बालन लोकनाटक’ ले केही हप्ता अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘उत्कृष्ट पुस्तक पुरस्कार’ पाएको छ । उनैले लेखेको ‘गोपीचन लोकनाटक’ले दुई वर्ष अघि पनि यहि पुरस्कार पाएको थियो । न्यौपानेले मगर जातिमा प्रचलित गोपीचन लोकनाटक, कौरा नृत्य र गीत, घुम्टेको भाका लगायत थुप्रै लोक सँस्कृतिको पनि अनुसन्धान गरेकाछन् । पोखराका डा. न्यौपानेसँग राज्यसत्ता डटकमका लागि मनोज घर्तीमगरले मगर समुदायको लोकसँस्कृतिमा केन्द्रित रहेर लिएको अन्तर्वार्ता ।
मगर जातिको लोक सँस्कृतिको अवस्था के छ ?
मगर जाति नेपाली सँस्कृतिलाई बोकेर हिड्ने कर्तव्यनिष्ठ र इमान्दार जाति हो । नेपाली लोक सँस्कृतिमध्ये यो जातिले आफ्नै किसिमका मौलिक लोक सँस्कृति बोकेर यहाँसम्म आइपुगेको छ । उहिलेका मगरले गाउँघरमा बचाएर राखेका लोक सँस्कृति अहिलेका मगरहरुले पनि जिवित राखेका छन् । यो लोक सँस्कृतिलाई मगरले युगयुगसम्म जोगाएर राख्नुपर्छ किनभने त्यो मगरहरुको पहिचान हो ।
मगर जातिका के–के लोकसँस्कृति महत्वपूर्ण छन् ?
मगर जातिले आफ्नो एउटा मौलिक पहिचानयुक्त सँस्कृति बचाएको छ । सँगसँगै सबै नेपालीले बोकेर हिडेको लोक सँस्कृतिलाई पनि बचाएर हिडिराखेको छ । दुवै सँस्कृतिलाई समान महत्व दिएर मगर जातिले आफूलाई परिचित गराएकाले नेपालमा प्रचलित विभिन्न लोकसँस्कृतिहरु मगर जातिका लागि महत्वपूर्ण मानिन्छन् । बिशेष गरेर जनजातिका मान्छेहरुले बजाउने बाजा मादल पनि आफ्नोजस्तै गरि बजाउने गरेकाछन् । कौरामा बजाउने डम्बु मगरहरुकै बाजा हो । त्यस्तै झ्याउरे, सोरठी, गोपीचन लोकनाटक पनि आफ्नै खालको बनाएर प्रर्दशन गर्ने गरेका छन् । गीत, बाजा र नृत्य मगर जातिका आफ्नै खालका बनाएर हिंडेकाछन् ।
तपाईले लामो समयदेखि मगर जातिको लोकसँस्कृतिबारे सोधीखोजी गरिरहनु भएको छ । अहिलेसम्म बाहिर ल्याइएका अनुसन्धानहरु के के हुन् ?
मगर जातिको लोक सँस्कृतिभित्रको पाटो एउटा लोक सँगीत हो । मैले बाग्लुङ मगर जातिमा प्रचलित ‘गोपीचन लोकनाटक‘ बारे किताब लेखे । यसको भिडियो बाहिर ल्याएँ । गोपीचन लोकनाटक उनीहरुले नेपाली भाषामै प्रर्दशन गर्छन् । त्यहाँका मगर जातिलाई ‘गोपीचन लोकनाटक’ महत्वपूर्ण लोकसँस्कृति हो भनेर उत्प्रेरणा दिने काम गरे । अर्को बाग्लुङका मगरहरुले सुरु गरेको र उनीहरुले नै बचाउँदै आएको ‘घुम्टेको भाका’ लोक गीत छ । यो उनीहरुले नेपाली भाषामै गाउँछन् । यसबारे खोजेको छु । अर्को मगर जातिको प्रमुख लोक सँस्कृति कौरा गीत र नृत्य हो । यसबारे पनि अनुसन्धान गरेको छु ।
कौराको सन्दर्भ आयो । कौरा मगरका अलावा गुरुङ, दुरा र कतैकतै कुमालले पनि नाच्ने गरेका छन् । वास्तवमा कौरा कसको हो?
मैले भेटेसम्म, मेरो आफ्नो अनुसन्धानबाट पाएका तथ्यका आधारमा भन्दा कौरा मगर जातिको नृत्य र गीत हो । मगरहरुको धेरै बस्ती भएको ठाउँ विशेष गरि पश्चिमाञ्चलका मगरहरुमा कौरा गाउने चलन पाइन्छ । कालिगण्डकी पश्चिमतिरको भेग, गुल्मी, अर्घाखाँची, पाल्पा, तनहुँ, स्याङ्जा, गोर्खासम्मका मगरले कौरा गाउँछन् । त्यसैले कौरा मगरको हो ।
जहाँसुकैका मगरले कौरा गाउँछन् । यसले पनि के प्रमाण दिन्छ भने जुन जातिले धेरै मात्रमा कौरालाई प्रयोग गरेको छ त्यो त्यही जातिको सँस्कृति हो । यसको नामगत पृष्ठभूमि खोज्दा पनि थाहा हुन्छ यो मगर भाषाबाटै आएको हो । पानी कुरुवा भन्दाभन्दै, कडुवा भन्दाभन्दै कौरा भएको हो । मगरहरुको भाषा, सभ्यता, सँस्कृतिलाई जोडेर यसको नाम रहेको पूर्व अध्येताहरुले पनि उल्लेख गरेकाले कौरा गीत र नृत्य मगरहरुकै हो । बाग्लुङ र म्याग्दीतिरका मगरहरुले बरु त्यति गाउँदैनन् । गुरुङहरुमा कौरा गाउने सँस्कार न्यून पाइन्छ ।
त्यसो भए अरु जातिमा कौरा नाच्ने प्रचलन कसरी रह्यो त ?
कौरा मिठो भएको कारणले अरु जातिले पनि गाउने बजाउने गरेका छन् । मगर जातिले जागरुक बनाएको कौरा गीत र नृत्य अत्यन्तै प्रिय भएका कारण बाहुनले पनि नाच्ने-गाउने गरेका छन् । गुरुङ र अन्य जातिले पनि नाच्ने गाउने गर्छन् । मगर जातिले यसलाई हुर्काउने बढाउने काम गर्यो । अहिले यो सबै जातिको सबै नेपालीको प्रिय भएको छ ।
मगर जातिले पछिल्लो समय आफ्नो लोकसँस्कृतिलाई बिर्सदै गएका छन् भन्नेहरु छन्, यसमा तपाईंको मत के छ ?
सहरी इलाकामा बस्ने मगरहरुले आफ्नो सभ्यता र सँस्कृतिलाई बिर्सनु यो समाजको आधुनिकीकरणले ल्याएको प्रभाव हो । मगरहरुले मात्रै आफ्ना सँस्कार, सँस्कृति बिर्सदै गएका होइनन्,अरु जातिले पनि बिर्सेकाछन् । तर, गाउँमा जाने हो भने अहिले पनि त्यहाँका मगरहरुले आफ्नो सँस्कृति र सभ्यतालाई जोगाइ राखेकाछन् । उनीहरुले छोडेका छैनन् । पूजापाठ परम्परा, धूप, धुँवार, ढुंगाको पूजा, प्रकृतिको पूजा, पहिले जे गर्दै आइरहेका थिए अहिले पनि मगरहरुले त्यो छाडेकै छैनन् ।
बिकृति कहाँनेर आएको छ भने हामी सहरिया सभ्य बन्यौ । साँस्कृतिक असभ्यताको प्रर्दशन गर्दा वास्तवमा सही सँस्कृति हराउँदै गएको छ । गाउँका मगरहरुले आफ्नो सँस्कृति र सभ्यतालाई जोगाइ राखेकाछन् । बरु सहरमा बस्ने मगर मात्रै हैन सबै जातिले आआफ्नो सँस्कार भुलेकाछन् । उनीहरुले गाउँको सँस्कृतिलाई अपहेलना गरेको पाइन्छ । गाउँले सँस्कृतिका माध्यमबाट एक छिन रमाईलो र आनन्द लिएको तर, जोगाउ भन्ने सोचाइ नभएका सहरका मान्छे हुन् । त्यो मगर जातिमा मात्रै छैन । सबैमा लागु हुन्छ ।
त्यसो भए अहिले पनि मगरहरुको ठेट लोक सँस्कृति पाइन्छ ?
पाइन्छ । अहिले पनि तपाई बाग्लुङको ताराखोला, राङखानीतिर जानु भो भने त्यहाँका मगरलाई भेट्नु भो भने त्यहाँका मगरको पूरानै लवाइखवाइ छ । तीनै पूराना ढोगभेट छ । हामी त्यही गएर गाउँमै बस्नु भो भने तपाईले पूराना गरगहना लगाएको पूरानै सोली र थुन्सेहरु बोकेको देख्न सक्नुहुन्छ ।
मगरका धेरै लोक सँस्कृति आफैसँग छन्, तर बाहिर ल्याइएका छैनन् । मगरहरु आफैले यसलाई बाहिर ल्याउन के गर्नुपर्ला ?
मगर जातिमा प्रचलित लोक सँस्कृतिलाई बाहिर ल्याउन मगरहरु आफैले विभिन्न तह र तप्काबाट अनुसन्धाता तयार पार्नूपर्छ । मगर अनुसन्धाताहरु जन्मिनुपर्छ । अन्य जातिका अनुसन्धाताहरुले भन्दा मगर जातिका अनुसन्धाता ले मगर जातिको चिज खोज्दा अझ बढी तथ्यपरक र धेरै राम्रो रिसर्च हुन्छ कि भन्ने मलाई लाग्छ । सँगसँगै त्यो मगर जातिको मात्रै नभएर अर्को जातिको विज्ञहरुलाई पनि सँगसँगै हिडाएर अध्ययन गर्ने र यस्ता लोक सँस्कृतिलाई बाहिर ल्याउने गनुपर्छ ।
अर्कोतिर मगर समुदायलाई हाम्रो पहिचान भनेकै हाम्रो सँस्कृति हो भन्ने बोध गराउनुपर्छ । त्यसप्रंति श्रद्धा जगाईदिनुपर्छ । त्यस्तो काम गर्ने मान्छेलाई उत्प्रेरित गर्नुपर्छ । मगरको पूरानो सभ्यता र सँस्कृतिलाई जोगाएर हिडेको मान्छेहरुलाई उत्प्रेरणा दिनुपर्छ । मगर जातिको पहिचानयुक्त खान भनेको बटुक हो । त्यो बटुक बनाउँदाखेरी, खाँदाखेरी आनन्द लिने तर, बटुक बनाउने परिपाटिलाई निरुत्साहित गर्नु हुँदैन । मगर जातिको पूरानो पोशाक लगाउन उत्प्रेरित गर्ने । मगर जातिको खानपिन, चालचलन, रितिरिवाज र ढोगभेटलाई पनि सम्मान गरिदिनुपर्छ । यस्तो गरे मात्रै मगरहरुका सँस्कृति र सँस्कार जीवित रहन सक्छन् ।
कुनै चाडपर्वको अवसरमा मगरहरुले आफ्नो जातिय पोशाक लगाएर, एक दिन भाषण गर्दैमा मगरहरुको सँस्कार जोगिएला त ?
जातिय पोशाक लगाउनु पनि एउटा उत्प्रेरणा त पक्का हो । त्यसलाई मिडियाका माध्यमबाट बाहिर ल्याइदिने हो भने मगरहरुले हाम्रो पोशाक त यो रहेछ नी भनेर जानकारी पाउँछन् । सँगसँगै मगरले आफ्नो पूरानो मौलिक पोशाक लगाएर चिटिक्क परेर हिडेपछि गाउँका मगरहरुले पनि आत्मगौरव गर्छन् । ‘ए म नि ठिकै रैछु नि त’ मैले लगाएको पोशाक सहरका पढेलेखेका मान्छेले पनि त लाउँदारहेछन् । मैले गरेको काम राम्रो रहेछ भनेर गर्व गर्छन् । तर, सहरिया मगरले त्यतिमा मात्रै आफूलाई सिमित राख्ने र अरुबेला बिर्सिए भने आफ्नो मौलिक सँस्कार र सँस्कृति, भेषभुषा हराउन सक्छ ।
तत्कालै अनुसन्धान गरि बाहिर नल्याए लोप हुने अवस्थामा पुगेका मगरका कुनै लोक सँस्कृतिहरु छन् ?
मगरहरुले तत्कालै खोजेर जोगाउनुपर्ने सोरठी नृत्य हो । यो अन्य जातिले पनि नाच्छन् । तर, मगरहरुको सोरठी र त्यसको मौलिकपन भिन्न छ । मगरहरुको सोरठी कुन हो । त्यसको पहिचान गरेर बाहिर ल्याउन अत्यन्तै जरुरी छ । मैले यसको खोजीको तयारी पनि गरेको छु । तर, असजिलो कहाँनेर हो भने दुःख गर्यो,खोज्यो, ल्यायो । किताब छापिदिनुस् भन्दा छाप्ने सँस्थाहरुले पनि नछापिदिने । लेखक आफैले छापिसकेपछि अरु केही नगरेपनि अनुसन्धान गर्नेलाई प्रोत्साहन गर्न किनेर पढिदिए पनि हुन्थ्यो । तर यस्तो परिपाटी नै छैन ।
मैले मगरहरुको लोकनाटक गोपिचनबारे अनुन्धान गरे । त्यसका किताब मेरा घरैभरी छन् । स्वंय मगरले किनेर पढे पनि त हुन्छ नी । त्यो पढेर त्यसका गल्ती औंल्याइदिने । अर्को सँस्करणमा सच्याउन प्रोत्साहन गर्दा के बिग्रन्छ र ? यसमा मगर जातिहरु सचेत हुनुपर्छ । सोरठी जस्तै कौरा पनि नेपालको महत्वपूर्ण नृत्य हो । यो साँच्चिकै कौरा नभएर बिकृत भएर बच्न सक्छ । झाम्रे नाँच, झाम्रे गीत लगायत विभिन्न लोक सँस्कृतिहरु मगर आफैले अध्ययन गर्नुपर्छ । मगर जातिका लोक सँस्कृतिलाई अध्ययन र अनुसन्धान गर्ने व्यक्तिलाई यो समुदायले माया गर्नुपर्छ । मगर जातिका लोक सँस्कृतिबारे अध्ययन अनुसन्धान गर्ने व्यक्तिले पनि इमान्दारिपूर्वक सहि अध्ययन गर्नुपर्छ ।
अन्य जातिका मान्छेले मगर समुदायको लोक सँस्कृति अध्ययन गर्दा भाषिक जटिलता हुँदैन ?
हो, अन्य जातिमा मान्छेले मगर समुदायका लोक सँस्कृति अध्ययन गर्दा भाषिक जटिलता अवश्य हुन्छ । तर, अनुसन्धाताले मगर भाषा जान्ने व्यक्तिको सहयोग लिएर अध्ययन गर्नुपर्छ । त्यसो गर्दा खासै जटिल नहोला ।
तस्वीर ः छवि मगर