मातृभाषाले पत्रकार बनायो

Read Time:5 Minute, 12 Second

राज्यको विभेदकारी नीतिले हराउँदै गएको मातृभाषाले विस्तारै फैलने मौका पाउन थालेको छ । विशेष गरि विसं २०४६ को जनआन्दोलनपछि मातृभाषाले थोरै भए पनि राज्यको संरक्षण पाउन थालेको हो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा मातृभाषा बोल्ने मगर लगायतका जनजाति समुदायलाई खस नेपाली भाषा बोल्नुपर्ने उर्दी लगाएका थिए भनिन्छ। राणाकालमा राज्यले मगर लगायतका समुदायलाई मातृभाषा बोलेमा जरिवाना गर्ने व्यवस्था गरेपछि विभिन्न जनजाति समुदायका मातृभाषा लोप हुँदै गएका थिए ।

 अहिले समय बदलिएको छ । राजनीतिक र सामाजिक परिवर्तनसँगै आदिवासी जनजाति समुदायले आफ्नो, भाषा, धर्म कला सँस्कृतिको संरक्षण र पहिचानको आन्दोलन थाले । यहि पहिचानको आन्दोलनले विभिन्न जनजाति युवालाई मातृभाषाप्रतिको मोह बढाएको छ । पछिल्लो समय मातृभाषा जान्नेहरु विस्तारै बढ्दै गएका छन । यो सुखद पक्ष हो । मातृभाषा जानेकै कारण धेरैले आफ्नो रितिरिवाज, सँस्कृति बुझ्न त पाएका छन् नै पछिल्लो समय रोजगारी पनि पाएकाछन् । ‘भाषा जानेकै कारण मैले रेडियोमा दरै भाषाको समाचार पढ्न पाएकी छु’ तनुहँको दमौली एफएमकी मिला दरै भन्छिन्, ‘नत्र मलाई रेडियोले किन जागिर दिन्थ्यो र ?’

दरै भाषाको समाचार पढेकै कारण आफ्नै समुदायमा परिचित हुने मौका पाएको उनको भनाई छ । मिला जस्ता थुप्रै आदिवासी जनजाति युवाले पछिल्लो समय आफ्नो भाषा जानेकै कारण रोजगार पाएका छन् । सुरुका दिन मातृभाषाप्रति घृणा गर्नेहरु अहिले गर्व गर्न थालेको उनीहरुको भनाई छ । पत्रकारिताको अनुभव नभएपनि रेडियो र टिभीमा समाचार पढ्ने अधिकांश जनजाती युवायुवतिले मातृभाषा जानेकै कारण काम पाएका हुन् । ‘मैले गुरुङ भाषा जानेकै कारण रोजगार पाएकी हुँ’ पोखराको गण्डकी टेलिभिजनकी समाचारवाचिका प्रकृति गुरुङ भन्छिन्, ‘मलाई पत्रकारिताको अनुभव थिएन, भाषा जानेकै कारण टिभीले जागिर दियो ।’ विशेष गरि पछिल्लो सयम विभिन्न जिल्लामा खुलेका एफएमहरुले जनजातिका समाचारलाई प्राथमिकता दिन थाले पछि अनुभव नभएपनी भाषा जानेकै कारण ती जातिका युवायुवतीलाई रोजगार दिनुपरेको संचारमाध्यमका पदाधिकारीको भनाई छ ।

 ‘समाचार लेखेको र पढेको अनुभव थिएन, तर दरै भाषा बोल्न र लेख्न जानेकै कारण रोजगार दिएका हौ’ मिला दरैलाई रोजगार दिएको तनहुँको दमौली एफएमका समाचार प्रमुख प्रदीप काफ्ले भन्छन्, ‘हामीलाई अनुभवि भन्दापनि भाषाको ज्ञान भएको मान्छे आवश्यकता थियो ।’ ड काफ्लेले दमौली एफएममा नेपाली बाहेक गुरुङ, मगर र दरै भाषामा समाचार प्रशारण हुने भएकोले अनुभव नभएपनि भाषा बोल्न र लेख्न सक्ने भएकै कारण जनजाति युवायुवतिलाई रोजगार दिएको बताउँछन् ।

‘उनीहरुको काम समाचार वाचन र अनुवाद गर्ने हो’ काफ्ले भन्छन्,‘यसबाट संचार माध्यमले विभिन्न समुदायलाई सुचना पाउने अधिकार समेत स्थापित गरिदिएको छ ।’ आदिवासी जनजाति जिल्ला समन्वय परिषद् कास्कीका सचिव पुर्ण ह्याल्मोले संचारमाध्यमा जातजातिका समाचार आउन थालेपछि थुप्रै जनजाति युवायुवतीले रोजगार पाएको बताउँछन् । ‘आफ्नो भाषामा समाचार आउँदा हामीलाई गर्व महसुस हुन्छ’ ह्याल्मो भन्छन्, ‘यसले भावि सन्ततीलाई भाषाप्रति थप सामिप्यता तुल्याउनेछ ।’ ह्याल्मोका अनुसार पोखराका करिब आधा दर्जन रेडियोमा विभिन्न जनजातिका समाचार प्रशारण हुन्छन् ।

मनोज घर्तीमगर

(तनहुँको दमौली एफएममा दरै भाषाको समाचार वाचन गर्दै मिला दरै ।

(तस्बिर :समुन्द्र पौडेल )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %