दोरम्बा ः तामाङ नरसंहारको दशबार्षिकी

Read Time:15 Minute, 57 Second

 

 अमरद्धीप मोक्तान
जुन राष्ट्रमा जनताको कुनै मूल्य हुदैन, मानवताको सिद्धान्त विपरित राज्यको आचरण हुन्छ भने त्यो राष्ट्र कहिले पनि सवल र समृद्ध हुनै सक्दैन । विद्रोहीबाट अन्याय हुन सक्छ र भएका दृष्टान्त भेटिन्छन् तर राज्यद्वारा समातिएका निहत्या विद्रोहीलाई नृसंसतापूर्वक हत्या गरिएको हृदय विदारक दोरम्वा हत्याकाण्ड २०६० साउन ३२ गते भएको थियो । २०७० साउन ३२ गते दोरम्वा हत्याकाण्डको दस वर्ष स्मृति दिवस परेकोछ । दोरम्वा हत्याकाण्डमा युवराज मोक्तान तथा उनका छोरा लिला, बाबुराम लामा लगायतका होनहार तामाङ्ग युवाहरुलाई हत्या गरियो । दोरम्वा हत्याकाण्डमा शहादत प्राप्त गर्ने क्रान्तिकारी युवाले बोकेका विचार जमिन मुनि दफन गरिएको छ, आखिर ती विर सहिद तामाङ्गहरुको शहादतको के नै अर्थ रह्यो तथा राष्ट्र«ले के नै सार्थक परिणाम प्राप्ति गर्न सक्यो । दोरम्वा हत्याकाण्डमा मारिएका सहिदहरुका सपना क्रमशः विलिन हुदै गइरहेको छ ।

 

यसरी मारिएकोथियो सेनाद्धारा

 दोरम्वा हत्याकाण्डको दसौं वर्षमा प्रवेश तथा उक्त घटनामा सहिद भएका एक पात्र हुन् यूवराज मोक्तान । युवराज मोक्तान स्कूल पढ्ने तत्कालिन समयमा दोरम्वामा हाइ स्कूल नभएको कारण युवराजले मेरै गाउँ मेलुङ्गमा केही वर्ष अध्ययन गरेका थिए । स्कूल विदा समाप्ती पश्चात दोरम्वाबाट डोको बोकेर मालसामान सहित मेलुङ्ग आउँदा मेरै घरको बाटो हुदै हिडेको स्मरण आउँछ । काका भनी युवराजका त्यो बाल सुलभ अनुहारद्वारा गरिएको संम्बोधन कसरी बिर्सन सकिन्छ ! त्यस्तो भद्र केटाले के नै राज्यद्रोह गरेको थियो ? राज्यले हत्या नै गर्न उचित ठान्यो सम्झिदा अचम्म लाग्छ । दोरम्वा घटनासँग युवराज जोडिएको हुँदा त्यो नृसंस घटना मेरो मानस पटलमा हमेशा जिवित छ, रहनेछ ।
    

 इतिहासको कालो दिन
ः २०६० साल साउनको महिना डाँडा पाखा, वृक्षहरु वर्षाको फुहारले तरवतर  थियो । सैलङ्गको दक्षिण तर्फको काखमा पर्ने मनोरम झुरुप्प घर भएको गाँउ दोरम्वामा पनि वर्षा यामले गर्दा गाँउलेहरु कोही घर भित्र कोही घुम ओडेर बारीमा आफनो काममा मग्न थिए । दोरम्वा बजार भन्दा तल अन्तिम छोरमा रहेको युवराज मोक्तानको घरमा त्यस दिन माओवादी कार्यकर्ताहरुको आन्तरिक छलफल चलिरहेकोथियो । मन्थली बाट मेजर राम मणी पोखरेलको नेतृत्वमा लगभग ८० जना सेनाको डफ्फाले युवराजको घरमा घेरा हाल्यो केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए भने युवराज समेत १९ जनालाई सेनाले आफनो कव्जामा लिए, समातिएका मध्ये सबै माओवादी कार्यकर्ता थिएनन् । युवराज मोक्तान विचारको समर्थन गर्नेमा पर्थे तर माओवादी कार्यकर्ता थिएनन् युवराज ज्ञान बाँड्ने शिक्षक थिए ।
समातिएका माओवादीहरुलाई अनुसन्धान तथा सोधपुछ नै नगरि सवैलाई पछाडिबाट डोरीले बाँधि बन्दुकको कुन्दाले तथा लाती घुस्साले हान्दै सैनिकहरुले लघार्दै सैलुङ्गको बाटो तर्फ लगे । डाँडा कटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा हतियार विहीन १९ जनाले बचाउ बचाउ भन्दै ज्यान बचाउन याचना गर्दा गर्दै निधारको नजिकबाट नृसंसता पूर्वक गोली हानी हत्या गरियो ।
गोली प्रहार पश्चात् भिरालो पाखामा मृत पशुलाई जस्तै गरि १९ जनालाई सैनिकद्वारा भिर मुनि फ्याँकिदिए । दाङ्गको हापुरेमा तत्कालिन राज्य शक्ति तथा माओवादी बिच शान्ति वार्ता चलिरहेको बेला निरंकुश राज्यसत्ताले जेनेवा महासन्धिको उल्लंघन गर्दै दोरम्वा हत्याकाण्डलाई नृसंसता पूर्वक अन्जाम दियो । दोरम्वा हत्याकाण्डले गर्दा माओवादी पार्टीको लोकप्रियता तथा राजनैतिक कदमा भयंकर वृद्धि भयो तथा उक्त हत्याकाण्डले नेपाली राजनितीमा ठूलो भुइँचालो ल्यायो ।
न्यायमुर्ति कृष्णजंग रायमाझीको नेतृत्वमा राष्टिय मानव अधिकार आयोगका टोली घटना स्थलमा पुगि निरीक्षण पश्चात् उक्त हत्याकाण्ड सेनाद्वारा अपनाइएको नृसंसता  थियो भन्ने प्रमाणित भयो । यो समाचारले नेपाली जनता स्तव्ध भएका थिए । राज्यको सेनाले विद्रोही कार्यकर्तालाई कव्जामा लिएर नजिकबाट निधारमा गोली प्रहार गरि हत्या गर्नु राज्यको सेनाले क्रुरता तथा बर्बरताको पराकाष्ठ नाघेको पुष्टि भएको छ ।
राज्यद्वारा दोरम्वा हत्याकाण्डमा क्रुरता अपनाउनुको कारण माओवादी कार्यकर्ताको रुपमा समातिएका बहुसंख्यक तामाङ्ग समुदाय भएको कारणले गरिएको भन्ने तर्फ इंगित गर्दछ । २००७ सालको क्रान्ति होस् वा माओवादी जनयुद्धमा सहिद भएका तामाङ्गको बलिदान किन अवमूल्यन गरियो गम्भिर रुपमा चिन्तन मनन गर्ने बेला आएको छ । तामाङ्ग समुदायले राष्ट्र« प्रति, राज्य प्रति, पाटी प्रति गरेको इमान्दारी, त्याग तथा बलिदान को कुनै अर्थ छ वा छैन सोच्ने बेला आएको छ । नेपाल गणतन्त्र भयो भनिन्छ तर गणतन्त्र नेपाल को राजनैतिक परिदृष्यमा तामाङ्ग समुदायको उपस्थिति तथा सहभागिता किन न्यून छ ? तामाङ्ग समुदाय प्रत्येक क्षेत्रमा न्युन हुनको कारण खोतल्दै जाँदा नेपालमा अहिले पनि तामाङ्ग समुदायलाई हेर्ने दृष्टिकोणमा बिगतको राज्यसत्ताले गरेको आचरणको धङ्गधङ्गी स्पष्ट रुपमा अनुभव गर्न सकिन्छ ।

 तामाङ्ग समुदायलाई अहिले पनि दोयम दर्जाका नागरिक तथा अछुत जस्तो व्यवहार गर्ने परिपाटी यथावत् रुपमा कायम छ । हाल सम्म पनि तामाङ्ग जाति माथि कुनै न कुनै रुपमा उत्पिडन तथा पक्षपात गरेको स्पष्ट रुपमा देखिन्छ । दोरम्वा हत्याकाण्ड एक उदाहरण मात्रै हो तामाङ्ग समुदायले राष्ट्रका लागि असंख्य बलिदान दिएका छन् तर तामाङ्गले दिएको बलिदानको अवमुल्यन बाहेक केही प्राप्त भएको छैन । २००७ सालको क्रान्तिमा तामाङ्गकांग्रेसी भएर क्रान्तिमा होमिएर बलिदान दिए, माओवादी जनयुद्धमा माओवादी लडाकुको रुपमा विभिन्न मोर्चामा बलिदान दिए तर तामाङ्गले दिएको बलिदान फलस्वरुप के प्राप्त गरे त ? तामाङ्गको हात लाग्यो शून्य, यही नै यथार्थ हो ।

अचेत तामाङ र तिनका लाचारी
 तामाङ्ग समुदायका केही मित्रहरु कांग्रेस, एमाले, एमाओवादी भनेर गर्व बोध गरि रहेका छन्, आज भोली केही तामाङ्ग मित्रहरु मधेसवादी दलको  झोला पनि बोक्न थालेका छन् । विवेक शून्य तामाङ्ग समुदाय समृद्धशाली इतिहास, शक्तिशाली एवं बलशाली भएतापनि क्रमशः अस्तित्व विहीन जाति हुने तर्फ उन्मुख भइरहेका छन् । नेपालका प्रत्येक साना ठूला जातिको आफ्नो क्षेत्रमा पकड देखिन्छ उदाहरण स्वरुप मधेशका यादव समुदायको मधेशका केही जिल्लामा बोलवाला देखिन्छ, मुसलमान समुदायको रौतहट, पर्सा, कपिलवस्तु, सुनसरीमा देखाइएको एकजुटता शक्ति प्रदर्शनले राज्यलाई घुडाँ टेकाएको देखिन्छ त्यस्तै मकवानपुर जिल्लाका तामाङ्ग जनसंख्याको बराबर भएको लिम्बु जाति विभिन्न धडामा विभाजित भएतापनि कुनै पनि धडाले लिम्बुवान क्षेत्रमा देखाएको शक्ति प्रदर्शनले त्यस क्षेत्रमा स्थापित भएको देखिन्छ । यत्रो विशाल जनसंख्या भएको तामाङ्ग समुदायले ताम्सालिङ्ग भनि तोकिएको जिल्लामा आफ्नो शक्ति प्रदर्शन द्वारा राज्यको ध्यानाकर्षण गराउन अहिले सम्म सफल भएको देखिन्न । मधेशको विभिन्न कार्यलयमा मधेशीको राम्रो उपस्थिति तथा पकड देखिन्छ तर तामाङ्गसालिङ्ग क्षेत्रमा पर्ने जिल्लाहरुमा तामाङ्ग पिउन समेत पाउन कठिन छ,  किन ?
    २००७ साल देखि २०७० अर्थात् ६३ वर्ष सम्म आइपुग्दा तामाङ्ग समुदायको स्तरमा बिगत भन्दा  उन्नति देखिएको छैन स्थिति जिउँका तिउँ छ । २००७ साल पश्चात लोकतन्त्र, प्रजातन्त्र तथा गणतन्त्रको नाममा कांग्रेस, पञ्चायत, एमाले, माओवादी सरकारमा सत्तासिन भए तर तामाङ्ग समुदायको स्तरोन्नतिका लागि उल्लेखित पार्टीहरुले के गरे ? बुँदागत रुपमा त्यसको जवाफ तामाङ्ग समुदायले खोज्नुपर्छ । कांग्रेसले स्व. भिम बहादुर तामाङ्गको अवहेलना गरेकै हो, एमाले लगाएतका कम्युनिष्ट पार्टीहरुले स्व. कमरेड निर्मल लामाले नेपाल कम्युनिष्ट आन्दोलनमा दिइएको योगदानलाई ओझेलमा पारेकै हुन् भन्दा अन्यथा हुने छैन ।
जातिय, वर्गीय, क्षेत्रिय, लैगिंक नारा अघि सार्ने एमाओवादीले पनि तामाङ्गको घोर उपेक्षा मात्रै गरेन एमाओवादी बाबुराम भट्टराईले  जनचाहना बमोजिमको संविधान निर्माण गर्ने संविधानसभा समेतको निर्मम हत्या गर्ने क्रुर कार्य गरे । आजभोली जनतालाई मूर्ख बनाउन विघठित संविधानसभाबाट संविधानको घोषणा नगर्नु भयंकर भूल भएको भनि बहुरुपिया एमाओवादी अध्यक्ष प्रचण्ड  घडियाली आँशु बगाउदै क्षमा याचना गर्दै हिडीरहेका छन् । माओवादी आज दुई चिरामा विभाजित भएको छ । एकातर्फ एमाओवादी पुनः दोस्रो संविधान सभाको चुनाव गराएर राष्ट्रमा अन्योलको वातावरण निर्माण गर्न खोजिरहेको छ भने माओवादीका वैद्य पक्ष राष्ट्र स्वाभिमान माथि कुनै सम्झौता नगर्ने तथा संविधान सभाको हत्या भएको कारण सहित राजनैतिक पार्टीहरुले राष्ट्रका जनतासंग माफी माग्नु पर्ने धारणा अघि सारिरहेको अवस्था छ ।
 संविधान सभाको निर्मम हत्या गर्न उपयुक्त वातावरण निर्माण गर्ने बर्तमान प्रधानमन्त्री खिलराज रेग्मीलाई पुनः दोस्रो संविधान सभाको चुनाव गराउने अभिभाराले संविधान निर्माणको कुरा अविश्वसनिय तथा हास्यास्पद बन्न पुगेको छ, दोस्रो संविधान सभाको चुनाव नभए लोकतन्त्र खतरामा पर्ने जस्ता शब्द प्रयोग गरेर संविधानसभा हत्याका मतियारहरु पुनः जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरिरहेका छन् ।
    तामाङ्ग  समुदायले आफ्नो विशाल शक्तिको पहिचान गरि संगठित नभए दोरम्वा हत्याकाण्ड जस्तै तामाङ्ग नरसंहारका घटना पुनः नदोहोरिएला भन्न सकिन्न । निरन्तर रुपमा अन्याय, अत्याचार, सहन गर्न सक्ने नेपालमा कुनै अनौठो जाति कोही छ भने त्यो तामाङ्ग जाति नै हुनुपर्छ । तामाङ्ग जाति अव सुत्ने, जाग्ने वा आफैलाई सदाका लागि मृत जाति हुँ भनी आफैलाई घोषणा गर्ने  कि  एउटा मूल मन्त्र तामाङ्ग एकताको मात्र प्रदर्शन गरे तामाङ्गको सम्पूर्ण समस्याको समाधान हुने थियो । तर दूर्भाग्य तामाङ्गको एकता प्रतिको सद्बुद्धि अहिले सम्म आएन । दोरम्वा हत्याकाण्ड लगाएत ज्ञात अज्ञात तामाङ्ग सहिदलाई श्रद्धान्जली स्वरुप अनुपम उपहारको रुपमा सम्पूर्ण तामाङ्ग एकता बाहेक केही हुन सक्दैन । दोरम्वामा सहिद भएका तामाङ्ग दाजु भाइद्वारा दिइएको बलिदानलाई साकार बनाउन छदमबेशी कांग्रेस, एमालेको भ्रम जालमा फस्न नहुने भन्ने विचारलाई व्यापकता प्रदान गर्न अति जरुरी छ । तामाङ्ग स्वाभिमान जागरणको सन्देश प्रति प्रतिबद्धताका साथ अगाडि बढ्यौ भने दोरम्वा हत्याकाण्डमा सहिद भएका योद्धाहरुको दसौं स्मृति दिवस प्रति सच्चा श्रद्धान्जली हुनेछ ।

डाँडाखर्क, दोलखा

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %