पोखरा, २४ साउन
पोखरेली चर्चित व्याण्ड ‘डि–मर्चा‘ को ‘कोहि छ किन्ने’ ? एल्वम बजारमा ल्याएर आधा दशकपछि पुनरागमन भएको छ । व्याण्डहरुको राजधानी भनेर चिनिने पोखरामा रहेका व्याण्डहरु सुस्ताउँदै र अस्ताउँदै गईरहेको समयमा नयाँ एल्वमसँगै पुनरागमन भएको हो ।
गायक भास्करध्वज श्रेष्ठ
एक ताका झ्याम्म–झ्याम्म, तारा खस्यौली, हुन्देरे, रिग रिग रिग्छ, मलाई तिमि नै ठीक छ, लगायतका चर्चित गीत गाएर चर्चाको शिखरमा पुगेका उनै पोखरेली गायक भाष्करध्वज श्रेष्ठको स्वर नयाँ एल्वम ‘कोहि छ किन्ने’ ? मा रहेको छ । त्यस्तै, ड्रममा जोनी तामाङ, बास गितारमा बुद्धि थापा तथा गितारमा अनिल गुरुङ र दिनेश विक छन् ।
२०५२ सालमा स्थापना भएको पोखरेली सांगीतिक व्याण्ड डि–मर्चाको यो पाँचौ एल्वम हो । नेपालमै पहिलो पटक देउडालाई पपमा गाउने तथा पोखरामै पहिलो र्याप व्याण्डको रुपमा स्थापित डि–मर्चाले यस एल्वममा विभिन्न प्याट्रनका ७ गीत समावेश गरेको छ । एल्वममा झ्याम्मै चौतारी–पपमा, जनताको समस्या–र्यापमा, कैलाशमा–पप शैलीको भजन, ठूली भेरी तरेर–लोक र्याप, कोहि छ किन्ने–फङ्क, तारा खस्यौली–र्यागी र तिम्रो माया–स्लो रक शैलीमा रहेको एल्वमका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
सबैले रुचाएको यो गीत सुन्नोस-
{youtube}https://www.youtube.com/watch?v=kGqefKLX-eM{/youtube}
गायक श्रेष्ठले एकै एल्वममा फरक-फरक शैलीको गीत राखेर यो एल्वम तयार पारेकाले डि–मर्चालाई नयाँ उचाईमा पु¥याउन मात्रै हैन नेपाली पप गीतको क्षेत्रमा नयाँ उत्साह थप्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । समसामयीक विषयबस्तु, टिपिकल नेपाली शब्द र संस्कृतिलाई लोकभाकासँगै पश्चिमी संगीतमा ढालेर सबै किसिमको श्रोता दर्शकलाई मन छुने भाकामा गीत तयार पारेकाले यो एल्वम बच्चादेखि यूवक र बृद्धसम्मले मन पराउने उनको विश्वास छ ।
‘कोहि छ किन्ने’ ? एल्वममा रहेका ७ वटै गीत उत्तिकै स्ट्रोङ्ग भएपनि झ्याम्मै चौतारी, चर्चित पोखरेली गीतकार आरजु विष्ट सल्यानीको ठूली भेरी तरेर लगायतका गीत चर्चित हुने गायक श्रेष्ठको अनुमान छ । एल्वमको बजार ब्यबस्थापनको जिम्मा जिनियस डिजिटल काठमाडौंले लिएको छ ।
यसअघि डि मोर्चाले २०५४ सालमा खैलाबैला, २०५९ सालमा हुन्देरे, २०६१ सालमा १,२,३, भन्दिने हो र २०६३ सालमा झ्याम्म, झ्याम्म गरी ४ वटा एल्वम बजारमा ल्याईसकेको छ ।
यसैबीच, डि–मर्चाले नयाँ एल्वमसँगै विभिन्न क्षेत्रमा एल्वम प्रोमोसनल कन्सर्ट पनि गर्ने गायक श्रेष्ठले बताए । उनले आउँदो असोज १२ गते काठमाडौंमा, दशैं अगाडि पोखरामा र बुटवलमा कन्सर्ट गर्ने योजनामा रहेको जानकारी दिए । गीत गाउनकै लागि जापान, यूके, हङकङ, अष्टेलिया र मलेसियाको भ्रमण गरिसकेका श्रेष्ठले आफू यो एल्वमका गीतहरु सुनाउन यूरोप भ्रमणको तयारीमा रहेको पनि बताए ।
मनोज घर्तीमगर