कृष्ण भट्टराई
संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन र प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद दलितमुक्ति आन्दोलन ,आदिवासी-जनजाति मुक्ति आन्दोलनसंग जोडिएर नेपालमा करिव दुई दशक वरपर देखि दलित,आदिवासी जनजाति र केही कम्यूनिष्टहरुले प्रयोग गर्ने गरेको बहुप्रचलित संस्कृत भाषाको पदावली हो । यसलाई आजभोलि मधेस आन्दोलनले पनि प्रयोग गर्न थालेको छ । हिंजोआज यो शब्द सबैको मुखमा झुण्डिएको पाइन्छ । नेपाली समाजमा बहुप्रचलित शब्दावली ‘बाहुनवाद’ को शल्यक्रिया यो आलेखको ध्येय रहनेछ ।
संस्कृत भाषा ‘बाहुन’ शब्दको पछाडि ‘वाद’ प्रत्यय जोडिएर बनेको बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । रुपमा बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शब्दावली बाहुनवाद देखिएतापनि सारमा भने बाहुनवाद, हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससँग सम्बन्धित पक्ष हो । सनातन हिन्दूधर्म हिन्दूवादको वकालत पक्षपोषण गर्नेहरु नै बाहुनवादी हुन् भने बाहुनवादीनै हिन्दूवादी हुन् । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथकता बोकेका बाहुन वा अन्यले भने आपत्ति मान्नुपर्ने वा चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । बाहुनवादको खास विशेषता भन्न नै सामाजिक चेतना,राजनीति, अर्थनीति, नैतिकता, कानुन सौन्दर्य सबैलाई धर्मको अधीनमा राख्नु हो । यसले आफ्नो विरोध र आलोचना गर्नेलाइ मनुस्मृतिको मनुसंहिताले सिस्नो पानी लगाउँदछ ।
वास्तवमा बाहुनवाद एकल हिन्दू जातिवाद एवम आध्यात्मवादमा विश्वास गर्ने, कर्मकाण्ड गर्ने, गराउने र जातिप्रथा मान्ने छुवाछूत प्रथामा विश्वास गर्नेहरु नै हुन् । समाजशास्त्री डोरबहादुर बिष्टका अनुसार“ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलाई मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राख्दछ ।” अर्का बाहुनवादका आलोचक दुर्गाहाङ याक्खा राईका अनुसार ब्राह्मणवाद भनेको “ब्राह्मण वर्गको नितान्त स्वार्थी जातीय सर्वसत्तावादी मानसिकता, मनोवृति एवम तदअनुरुप स्थापित तथा सञ्चालित पद्धति हो ।’’(दुर्गाहाड. याक्खाराई,ब्राह्मणवाद विरुद्ध जनजातिरउत्पीडित वर्ग) एमाओवादी नेता तथा सभासद सुरेश आले मगरको भनाईमा“बाहुनवाद एउटा अत्यन्त नीच निकृष्ट एवम अमानवीय सामन्ती प्रवृति हो,जसले अरु सबैलाई तुच्छ एवम निच र आफ्नो जातिलाई सर्वश्रेष्ठ र सर्वोच्च ठान्छ, आफ्नो भाषा, धर्म र संस्कृति अरु माथि बलजफ्ती लादछ ।”(छापामा जनजाति) बाहुनवाद यति परिभाषामा मात्र सीमित नभएर यसको क्षेत्र व्यापक छ ।
बाहुनवाद पुस्तकका लेखक अरुण बरालका अनुसार वास्तवमा बाहुनवादी भन्नाले‘हाम्रो आशय हिन्दुवादी जातीय विभेद र रुढिवादमा विश्वास गर्ने र सो अनुरुपका व्यवहार गर्ने उपाध्याय बाहुन जैसी, क्षेत्री, कुमाई र अन्य जाति समेतलाई भन्न खोजिएको हो। नाकचुच्चे गरेको आर्य जो जातिप्रथा, आध्यात्मवाद,हिन्दुवाद कर्मकाण्डको वकालत गर्दछन् ती सबैलाई बाहुनवादी भन्न खोजिएको हो। बाहुन र बाहुनवाद बीचको अन्तर भनेको बाहुन भनेको एक किसिमको वर्ण मात्रै हो। यसर्थ बाहुनलाई देख्नासाथ उसलाई ब्राह्मणवादी, शाषक जाति वा शोषक जाति भन्ठान्नु हुँदैन। बाहुन हुन उसको ईच्छा होइन । रहर गरेर वा निवेदन हालेर बाहुनको कोखबाट जन्मिएको पनि होइन। सबै बाहुनलाई बाहुनवादी भनियो भने उसप्रति अन्याय पनि हुन जान्छ । बाहुनवादी भन्नाले हामी हिन्दुधर्ममा आस्था राख्ने, जातीय भेदभावमा विश्वास राख्ने, राजालाई बिश्वास गर्ने, स्वयम परिवारभित्र छुवाछूत गर्ने, विज्ञान विरोधी ,अग्रगमनलाई विरोध गर्ने, जातीय स्वायत्तताको विरोध गर्ने आदि गलत विशेषता बोकेका मानिसलाई सम्झनुपर्दछ ।
जनजातिमा पनि बाहुन बोलाएर पुजापाठ गराउने,ज्योतिष शुभ-अशूभ हेराउने,चिना बनाउने, हिन्दू मन्दिरमा गई दानदक्षिणा पूजापाठ गर्ने, दलितले छोएको नखाने, राजतन्त्रको वकालत गर्ने, संघीयता स्वशासन धर्मनिरपेक्षताको विरोध गर्ने आदि लक्षण छन् भने ती जनजाति पनि बाहुनवादी नै हुन । बाहुनवादी हुनका लागि नाक चुच्चो भइराख्नु पर्छ भन्ने केहि छैन। बाहुनवादी नाकले होइन विचार र व्यवहारले हुने कुरा हो । अहिले हामी कहाँ नाकचुच्चे भएपछि सबै बाहुनवादी नाक थेप्चो भएपछि बाहुनवाद विरोधी ठान्ने जुन प्रचलन छ । त्यो गलतछ । देउता,ईश्वर, भुतप्रेत वा आध्यात्ममा विश्वास गर्ने र विज्ञानको विरोध गर्नेहरु सबै बाहुनबादका ठिमाहा सन्ततीहुन ।’’(बाहुनवाद, अरुणबराल) माथिको परिभाषाबाट के स्पष्ट हुन्छ भने हिन्दूधर्म र हिन्दूवादको वकालत पक्षपोषण गर्ने कर्मकाण्डी पुरेतवादी हिन्दूधर्मभीरुहरु नै बाहुनवादी हुन । हिन्दूवादी वर्णव्यवस्था जातभात र धर्मकर्मको पुरातन संकिर्णतामा अल्झेर आफूलाई सर्वश्रेष्ठ जाति ठान्ने, हिन्दूधर्म संस्कृतिको आडमा अन्याय अत्याचार विभेद शोषण उत्पीडन थिचोमिचो गर्नेहरु नै बाहुनवादी हुन् । नेपाली समाजको जनजिब्रोमा भिजिसकेको बाहुनवाद शव्द र यसको चरित्र समाजमा यत्रतत्र व्याप्त छ ।
बाहुनवाद भारतीय हिन्दूवादको नयाँ संस्करणको रुपमा अगाडि उभिएको छ । यो भारतीय बाहुनवादको नेपाली ठिमाहा सन्तान हो । आज दुबै भारतीय र नेपाली हिन्दूवादी, बाहुनवादी मठाधिस कुपमण्डूकहरु मिलेर भारत वर्षीय हिन्दुवाद, बाहुनवादलाई नेपालमा लाद्न खोजिरहेकाछन । ०६२/०६३ सालको जनआन्दोलनमै मरिसकेको हिन्दूराष्ट्रलाई फेरि पूर्नजीवन दिइ बिउँताउन नाना भाँतिको षडयन्त्रका तानाबाना बुन्दैछन ।भारतीय हिन्दूवादीको सहयोग निर्देशनमा नेपालमा धार्मिक युद्ध छेड्नेसम्मको अति हांस्यास्पद कुरा गर्दैछन । यसबाट पनि बाहुनवादीहरुको असली भारतीय रुप बिस्तारै चिनिदैछ । त्यतिमात्र होइन यज्ञयज्ञादिको नाममा देशको बिकास,राष्ट्र निर्माण र सामाजिक कार्य भन्दै धर्मको आडमा मध्ययुगीन सामन्ती बर्बर लूट मच्चाइरहेकै छन् । वर्षौवर्ष देखिको नेपाली जनताको मुक्तिको माग र चाहना धर्मनिरपेक्षता,जातीय पहिचान, स्वसासन, स्वायत्तता, संघीयता, गणतन्त्र र आत्मनिर्णयको अधिकार जस्ता विषयका विपक्षमा पैतलादेखि टुप्पी सम्मको बल लगाएर नेपाललाई असफल राष्ट्र बनाउन बाहुनवादीहरु तल्लीन छन् ।
बुझ्नु पर्ने कुरा के छ भने हिन्दूवादका हिमायती केही क्षेत्री, बाहुनहरुले पनि हिन्दुवाद, बाहुनवादलाई आफ्नो जातीय धार्मिक सांस्कृतिक पहिचान अस्तित्वसंग गांसेर बाहुनवादका नकारात्मक पक्षहरुको पनि ढाकछोप गरि चूप लागेर वा अन्ध सर्मथन गरेर उसको वकालत पक्षपोषण गर्नु राम्रो कुरा होइन । बाहुनवादको शोषण अन्याय अत्याचार विभेद र उत्पीडनको दोहनमा नेपालका आदिवासी जनजाति,दलित तथा अन्य अल्पसंख्यक धार्मिक समुदायहरु मात्र परेका होइनन । स्वयम क्षेत्री, बाहुनहरु पनि यसको यथास्थितिवादी पश्चगमनको दोहनमा परेकाछन । बाहुनवादसँधै नेपाली समाज परिवर्तन अग्रगमनको विरोध विपक्षमा लागिरहेको छ । नेपालमा राजतन्त्र ढलेर गणतन्त्र आए पनि समाजमा व्याप्त रुढिवादको पयार्य हिन्दूवाद, बाहुनवाद यथास्थितिमै रहिरह्यो भने बाहुनवादको चाहि उन्नति प्रगति बिकास त होला । तर, आम नेपाली समाज मुलुकका जनताहरुको उन्नति, प्रगति, बिकास र रुपान्तरण भने हुदैंन। देशले मुहार कहिल्यै फेर्न सक्दैन । त्यसैले यसको पक्षपोषण गर्नु भनेको नेपाली समाजलाई पुनः पछाडि फर्काउनु र कालरात्री निम्त्याउनु हो ।
लेखकको फेसबुक – https://www.facebook.com/jhanice.mendoza.5?hc_location=timeline