पोखरा, १९ साउन पछिल्लो समय मगर भाषा तथा साहित्यको गतिविधि बढ्दै गएको छ । सबैले आफ्नो पहिचान खोजिरहेका बखत मगर जातिमा पनि बढ्दो जागरणले मातृभाषाको संरक्षणका लागि सक्रियता बढेको देखिन्छ । मगर जातिको मातृभाषाको रूपमा रहेको मगर भाषाको संरक्षण र विकासका लागि भनेर थुप्रै सङ्घसंस्थाको स्थापना भएका छन् । तीमध्ये कुनै न कुनैले एउटा न एउटा भाषिक गतिविधिलाई अगाडि बढाइरहेका छन् । यही क्रममा नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिले मगर भाषाको इतिहासमा पहिलोपटक कविता यात्रा सम्पन्न गरेको छ ।
तनहुँको भिमाद बजारमा शनिबार सम्पन्न कविता यात्रामा विशेष आकर्षणका रूपमा पोखराका तीन रूद्र र काठमाडौंका एक पूर्णले आ–आफ्ना मगर भाषाका कविता, गजल र मुक्तक सुनाए । पोखराका स्थापित मगर भाषी तीन कवि क्रमशः कविरत्न रूद्रबहादुर हितानमगर, रूद्र ‘सन्देश’ मगर, रूद्रबहादुर श्रीसमगर र पूर्ण थापामगर ‘सुगा’ले भिमादस्थित ग्रामीण तालिम केन्द्रमा भएको विशेष कार्यक्रममा कवितासहितका आफ्ना साहित्यिक रचना सुनाए । चारै कविले देशप्रेम र मगर जागरणसँगै रसिला कविता पनि सुनाएका थिए । चार कविका कविता सुनेर हलमा उपस्थित श्रोताहरू पनि निकै उत्साही देखिन्थे । मगर भाषा र साहित्यको इतिहासमा पहिलोपटक भएको कविता यात्रा त्यसमा पनि मगर आदिकवि रेखबहादुर सारूमगरको जिल्लाबाट भएको सुरुवातले पनि तनहुँलेहरू मक्ख थिए । नेपाल मगर सङ्घ तनहुँको स्थानीय आयोजनामा भएको कार्यक्रममा चार कविसहित तनहुँका पूराना कवि खडक आलेमगर, यामकुमार थापामगर, धिरेन्द्र थापामगर ‘किसानी’, बलहरि रानामगर, होम थापामगर ‘छिद्रमुटु’लगायतका अन्य स्थानीय कविले पनि आफ्ना जागरणमूलक कविता सुनाए । सो अवसरमा चार कवि र अन्य स्थानीय कविका कविता सुनिरहेका कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष डा. देव थापामगरले पनि मगर भाषाको विकासमा यो कार्यक्रम ऐतिहासिक थालनी भएको भन्दै खुशी व्यक्त गरे । ‘यस्तो पवित्र कार्य तनहुँको भिमादबाटै सुरु गर्नुभएको छ, यो अत्यन्त सकारात्मक कुरा हो’, डा. थापामगरले भने, ‘यसले अवश्य पनि हाम्रो मातृभाषाका लागि सुनौलो बिहानी ल्याउनेछ ।
कार्यक्रम वाचित कविताको समीक्षा गर्दै समालोचक एवं संस्कृतिकर्मी भीम रानामगरले प्रायः कविको कवितात्मक प्रस्तुतीमा जागरणमूलक विषयले प्राथमिकता पाएको उल्लेख गरे । साथै, समाजमा विद्यमान विकृति र विसंगति विरुद्ध पनि कविहरूको कलम सशक्त रूपमा चलेको उनको भनाइ थियो । नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य टीबी पुनमगर ‘रोशन’ले मगर भाषाको साहित्यिक विकासका लागि यस कविता यात्राले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । ऐतिहासिक कार्यको थालनी गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता र व्यापकता दिन आग्रह समेत गरे ।
नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष झकबहादुर सारूमगरले कविहरूले समुदायलाई उठाउन सक्नुपर्ने उल्लेख गरे । सुतेका समुदायलाई ब्यूँझाउन कविहरूले भूमिका खेल्नुपर्ने बताउँदै अध्यक्ष सारूमगरले संसारमा सबैभन्दा शक्तिशाली कलम नै भएको उल्लेख समेत गरे । हातेमालो अभियान नेपालकी अध्यक्ष तारामाया थापामगरले मगर भाषा र साहित्यको विकासका लागि यस्ता कार्यक्रम फलदायी हुने बताईन । केन्द्रका अध्यक्ष मेजन पुनमगरले कविता यात्राको समापन गर्दै अन्य ठाउँमा पनि मगर भाषाको कविता यात्रालाई लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, सदस्यसचिव हर्क आलेमगरले पनि सबै मगर बस्तीमा कविता यात्रा लिएर जाने उल्लेख गर्दै साहित्यिक जागरण र विकासका लागि संस्था सधैं लागिपर्ने बताए । मगर भाषाको उक्त कविता यात्रा सम्पन्न गर्नका लागि मगर समाज अष्ट्रेलिया, मगर सङ्घ युके, नेपाल मगर लेखक सङ्घलगायतका सङ्घसंस्थाले सहयोग गरेका थिए । केन्द्रले यसअघि, पोखरामा टिकटमा मगर भाषाको कविता कार्यक्रम सम्पन्न गरिसकेको छ । जसमा कविद्वय टोप अस्लामीमगर र गणेश पहराईमगरले कविता वाचन गरेकाथिए ।
रूद्र श्रीसमगर