पोखरा, साउन १९ पोखराको इतिहासमै पहिलोपटक कविता–मञ्चन भएको छ । मञ्चन गरिएको कवितालाई पोखरेलीले निकै मन पराए । कवि तथा नाटककार कृष्ण उदासीको नवौँ कृति ‘हिउँ फुल्ने गाउँहरु’को विमोचनसंगै भएको कविता मञ्चनलाई हेरिसकेपछि धेरैले पोखरेलीले रंगमञ्चले भिन्न शैली अपनाएको प्रतिक्रिया दिए । शनिबार विमोचित कवितासंग्रह ‘हिँउ फुल्ने गाउँहरु’ मै समावेश दुई कविता ‘आमाको मुर्छना’ र ‘स्मृति’ लाई निर्देशक पुरु लम्सालले नाटकमा रुपान्तरण गरेका थिए ।
युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुतीमा भएको कविता मञ्चनमा रेम बिक, कपिल शर्मा, विभु भुषाल, मनोज घर्तीमगर, निरज पन्त, सन्ध्या अधिकारी, लिला गुरुङ, राधा बस्नेत, विष्णु सुवेदी लगाएत कलाकारले अभिनय गरेका थिए । सम्मोहन साहित्यिक पत्रिकाको आयोजनामा भएको कृति विमोचन तथा कविता मञ्चन कार्यक्रममा काठमाण्डौबाट आएका साहित्यकार श्यामलले कविता र नाटकको फ्युजनबाट दुईवटै विधालाई उत्तिकै जम्न सघाउ पुगेको बताए । ‘कविता रहेपछि मात्रै कवितामा यस्ता नौला प्रयोगहरु देख्न पाईन्छ’ कविता संग्रह विमोचन गरेपछि बोल्दै उनले भने,‘कविताका शैलीलाई मात्र ध्यान दिनुको साटो कविता जोगाउन पनि सबैजना लाग्नुपर्ने बेला आएको छ ।’ आफैले आफैलाई भुल्न सक्ने व्यक्तिमात्र कवि हुन सक्ने बताउँदै कवि श्यामलले सस्तो लोकप्रियताको लागि कसैले पनि कविता लेख्न नहुने सुनाए । साहित्यका सरुभक्तले कविता र नाटकको फ्युजन गराएर कृष्ण उदासीले आफ्नो परिचयलाई बलियो बनाएको बताए ।
‘नाटक र कविता दुवै विधा उदासीसंग जोडिएका विधा हुन्’ उनले भने, ‘दुवैलाई संयोजन गराएर उनले नयाँ परिचय दिए ।’ युथ क्रियशन थिएटरको दोस्रो प्रस्तुती ‘कविता मञ्चन’ कार्यक्रम पोखराको ईतिहासमा पहिलोपटक भएको र यो सफल रहेको उनले बताए । कृतिकार उदासीले कविको रुपमा आफुले ‘हिउँ फुल्ने गाउँहरु’ भिन्न शैलीमा लेखेको बताए । पद्य, गद्य र लोकछन्दमा लेखिएका कविताहरु विशेषगरि भाव र लयमा ध्यान दिएर लेखेको उनले बताए । कवितासंग्रहमा पचास र साठीको दशकमा लेखिएका कविताहरु पनि समावेश गरेको उनले सुनाए । प्राज्ञ हरिदेवी कोईरालाले उदासीको ‘हिँउ फुल्ने गाउँहरु’ एउटा सुन्दर कृति भएको बताईन् । विमोचन कार्यक्रममा कृतिको समिक्षा गर्दै समिक्षक सुरेश रानाभाटले कविको रुपमा ‘हिँउ फुल्ने गाउँहरु’बाट उदासीले सामाजिक परिस्थितीलाई कलात्मक तवरबाट प्रस्तुत गरेको बताए । ‘ प्रतीकात्मक रुपमा उनले आफ्नै वरिपरी र परिवेशलाई कविताको शब्दहरुमा बुनेका छन् ।’ समिक्षक रानाभाटले भने–‘अघिल्ला कृतिहरुभन्दा उनी यो कृतिमा फरक शैलीमा प्रस्तुत भएका छन् जुन कुराले उनलाई अझै बढि प्रतिभावान देखाएको छ ।’ कार्यक्रममा साहित्यकार दीपक समिप, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, बाबु त्रिपाठी लगाएतले शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा राजीन पनेरुले विमोचित कृतिमा समावेश तीनवटा कविताहरु छन्दमा गाएर सुनाएका थिए । कार्यक्रमको अध्यक्षता सम्मोहन पत्रिकाका प्रधान सम्पादक रुपिन्द्र प्रभावी कटुले गरेका थिए ।
सविता मगर,पोखरा
तस्वीर सौजन्य : सागरराज तिमिल्सिना