पूर्वराजा ज्ञानेन्द्र शाहलाई म प्रधानमन्त्री भएको भए जेल हाल्थे भन्ने अभिव्यक्ति दिने एमाओवादी नेता बाबुराम भट्टराईले माफी नमागे कारवाही गर्ने शिव सेनाले चेतावनी दिएको छ । बाढी पीडितलाई राहत वितरण गरेको विषयलाई लिएर जेल हाल्नु पर्ने अभिव्यक्ति दिएका पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी नेता भट्टराईले माफी नमागेसम्म उनलाई शिव सेना नेपालले निगरानीमा राख्ने बताएको छ । शिव सेनाले सो विषयलाई लिएर भट्टराईले तत्काल माफी माग्नु पर्ने स्पष्ट पार्दै नमाग्दा सम्म निगरानीमा राख्ने चेतावनी दिएको हो । राजधानीमा बिहिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले तत्काल माफी माग्नु पर्ने अन्यथा “जनयुद्धका नाममा हजारौं निर्दोष जनताको ज्यानलिने राष्ट्रघाती भट्टराईको हरेक गतिविधिहरुलाई मध्ये नजर राख्दै उनको गतिविधि अनुसारको कारवाही गर्ने” धम्कि दिएको छ ।
बाढी पहिरोले आक्रान्त भएका जनतालाई राहत वितरण गर्न जाँदा अङकुश लगाउन खोज्ने भट्टराई जनविरोधी र राष्ट्रघाती हुन्, शिव सेना नेपालका महासचिव माधवप्रसाद भण्डारीले भने, “ पूर्व राजालाई जेल हालेर देखाउन् । ” भट्टराई क्रिश्चियनको ठेकेदार र भारतीय विस्तारवादको दलाल भएको आरोप लगाउँदै उनले भने– राजसंस्था र ८५ प्रतिशत हिन्दू भएको अखण्ड मुलुकप्रति कसैले धावा बोल्छ भने त्यस्ताहरुको विरुद्ध बन्दुक उठ्न सक्छ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष समेत रहेका शिवसेना नेपालका उपाध्यक्ष राजकुमार थापाले डा भट्टराईको अभिव्यक्ति संविधान विपरित भएको दावी गर्दै उनलाई कानुनको कठघरामा उभ्याउन कानुनी प्रकृया अगाडि बढाउने चेतावनी दिए । महावीरसिंह खड्काले राजसंस्था र हिन्दूधर्म विरुद्ध बोल्ने बाबुराम लगायत सबैको प्रतिकार गर्ने घोषणा गर्दै एक एक गरेर कारवाही गर्ने चेतावनी दिए । शिव सेना नेपाल राजसंस्था निकट रहेको संस्था हो ।
जगन शर्मा, काठमांडू