काठमाडौँ, २ मङ्सिर
शान्ति प्रक्रिया कार्यान्वयन, सत्ता साझेदारी र वर्तमान राजनीतिक गत्यावरोध अन्तका लागि आज बसेको तीन प्रमुख राजनीतिक दलको बैठक स्थगित भएको छ ।
एनेकपा माओवादीको मंसीर पाँच गतेदेखि गोर्खाको पालुङटारमा हुने विस्तारित बैठकको तयारीमा जुट्नु परेकाले शीर्ष नेताहरूको बैठक स्थगित भएको हो । अर्को बैठक माओवादीको विस्तारित बैठकपछि हुने भएको छ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एनेकपा माओवादी पार्टी आफ्नो विस्तारित बैठकमा व्यस्त हुनुपरेकोले शीर्ष नेताहरूको बैठक कुनै एजेण्डामा प्रवेश नगरी सकिएको बताए ।
एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आफ्नो पार्टीद्वारा प्रस्तुत शान्ति प्रक्रिया कार्यान्वयनको खाका र सत्ता साझेदारीका विषयमा धारणा राखिएको जानकारी दिए ।
नेपाली काँग्रेसका सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीको विस्तारित बैठकमा लडाकुहरूको सहभागिता शान्ति सम्झौतामा गम्भीर असर पर्ने भन्दै माओवादी नेताहरूसमक्ष पुनर्विचारको लागि आग्रह गरे ।
काँग्रेसका तर्फबाट वार्तामा सहभागी केन्द्रीय सदस्य कृष्ण सिटौलाले काँग्रेसको उक्त भनाइप्रति एनेकपा माओवादीले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको वताए ।
शान्ति प्रक्रिया कार्यान्वयन, सत्ता साझेदारी र मुलुकमा देखिएको राजनीतिक अन्यौल जस्ता समस्या समाधान गर्न प्रमुख तीन दलको गोप्य बैठक काठमाडौंको सेतीदोभान गाविसको हात्तिवन रिसोर्टमा कात्तिक २० गते शुरु भएको हो । त्यसपछिका दुइवटा बैठक गोकर्ण रिसोर्टमा भएका थिए । आजको बैठक सिंहदरबारस्थित शान्ति मन्त्रालयमा भएको हो । रासस