हे सरकार हाम्रा नेता खपागीं बचाईदेऊ !

Read Time:11 Minute, 14 Second

गोरेबहादुर खपाङगी मगर उपचार सहयोग समितिले पूर्वमन्त्री तथा आदिवासी जनजातिका अगुवा नेता गोरेबहादुर खपाङगीको स्वास्थ्य उपचारका लागि तत्काल सहयोग गर्न सरकारसंग माग गरेको छ । दुई महिना अघिदेखि नर्विक अस्पतालमा उपचार गराईरहेका खपाङ्गीको स्वास्थ्य अवस्था नाजुक रहेकोले समितिले सरकारसंग सहयोगका लागि आग्रह गरेको हो ।

 दुई महिना अघि राजधानीको भृकुटीमण्डपमा मोटरसाईकल दुर्घटनामा परी सख्त घाईते भएका पूर्वमन्त्री खपाङगीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको खपाङगी मगर उपचार सहयोग समितिका संयोजक शंकर लिम्बुले बताए । उन्ले सरकारले आफुहरुले पटकपटक सहयोगका लागि सरकारसंग आग्रह गरेपनि सरकारले वेवास्ता गरेकोे बताए । उनले भने, ‘कतिपय राजनीतिक नेता तथा पहुँचवालाहरुलाई सामान्य रोग लाग्दा पनि तुरुन्तै सरकारी रकममा विदेशमा उपचार गर्न पठाउने सरकारले आदिवासीहरुको नेता गोरेबहादुर खपाङगीको सवालमा भने उदासिनता देखाएकोप्रति हामी खेद प्रकट गर्दछौं ।’

खपाङगीलाई सरकारले तत्काल आर्थिक सहयोग जुटाईदिनुपर्ने भन्दै आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हालसम्म जनजाति तथा सरकारले सहयोग गरेको दुई लाख रुपैंया गरी जम्मा २२ लाख रुपैंया संकलन भएपनि २० लाख रुपैंया उपचार खर्चमा सकिएको उपचार सहयोग समितिले जनाएको छ । पटक–पटक टाउकाको शल्यक्रिया गरिएपनि स्वास्थ्यमा सुधार नआई झन झन विग्रदैं गएकोले छिट्ट्रै आधुनिक औषधी विज्ञानको प्रविधि र स्वास्थ्य उपचार सेवा सुविधाको हिसाबले नेपाल बाहिर सिंगापुर वा भारतको नयां दिल्लीको मेदान्त अस्पतालमा तत्काल लैजान सकिए उनको जीवन बचाउन सकिने अस्पताल स्रोतले बताएको विज्ञप्तीमा उल्लेख छ ।
विदेशमा लगेर उपचार गर्न सक्ने आर्थिक हैसियत परिवारसंग नभएका कारण अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई लिखित र मौखिक अनुरोध गर्दा सरकारले दिने सहयोग गरी सकेको र स्वास्थ्य मन्त्रीलाई म बुझ्न लगाउंछु भन्ने खालको औपचारिकताको कुरामात्र आएको विज्ञप्तीमा समितिले उल्लेख गरेको छ ।

 गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग  समितिद्वारा जारी
 प्रेश विज्ञप्ती
    
मिति : २०७० साउन ६ गते
सम्पूर्ण पत्रकार मित्रहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु,

करिब तीन महिनादेखि आदिवासी जनजाति समुदायको न्यायको प्रखर योद्धा तथा राष्ट्रिय ब्यक्तित्व पूर्ब मन्त्री श्री गोरेबहादुर खपाङ्गी नर्भिक अस्पतालमा अचेतन अवस्थामा जीवनको निम्ति मृत्युसँग जुधिरहनु भएको छ ।   
वहाँ अन्र्तराष्ट्रिय आदिवासी चलचित्र महोत्वसव २०७० को उद्घाटन समारोहमा  भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा सहभागी हुन जानेक्रममा बैशाख १२ गते विहीबार दिउसो १२ बजे पुरानो बसर्पाक काठमाडौंमा बा. अ प. ५१ (७३७३) नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते हुनुभएको हो ।  उक्त घट्ना घट्नसाथ श्री खपाङ्गीलाई तत्काल वीर हस्पिटलमा लगि उपचार गराउँदा वहाँको टाउकोमा गम्भीर चोट लागेको थाहा भएपछि अस्पतालको सिफारिस अनुसार त्यहाँबाट आपतकालिन उपचारको लागि तत्काल अन्नपूर्ण न्यूरो अस्पताल सिंहदरबारमा आकस्मिक भर्ना गरी वहाँको टाउकोको शल्यक्रिया गरिएको थियो । अप्रेशनपछि अन्नपुर्ण न्यूरो अस्पतालको आई.सि.यू. कक्षमा ६ हप्तासम्मको उपचारमा पनि खपाङ्गीज्यूको स्वास्थ्यमा कुनै सुधार नभएपछि सघन उपचारको लागि वहाँलाई त्यहाँबाट थापाथलीस्थित नर्भिक अस्पतालको आई.सि.यू. कक्षमा सारिएको छ ।

वहाँलाई हालसम्म उक्त अस्पतालमा उपचारार्थ राखिएको छ । तर वहाँको अवस्थामा हालसम्म पनि कुनै सुधार भएको छैन । वहाँ अझै अचेत अवस्थामा आई.सि.यू. कक्षमा लडिरहनु भएको छ । उपचारमा संलग्न डाक्टरहरुको भनाई अनुसार वहाँको स्वास्थ्य स्थिति अझै गम्भीर बन्दै गएको छ । वहाँको उपचारमा संलग्न अन्नपूण न्यूरो र नर्भिक अस्पतालकै डाक्टरहरुको सल्लाहसुझाब अनुसार वहाँको सघन र थप उपचारको लागि वहाँलाई विना बिलम्ब आधुनिक औषधी विज्ञानको प्रविधि र स्वास्थय उपचार सेवा सुविधाको हिसाबले नेपाल बाहिर सिंगापूर वा भारत नया दिल्लिको मेदान्त अस्पतालमा अस्पतालमा तत्काल लान सकिए वहाँको जीवन बचाउन सकिने अवस्था विद्यमान रहेको छ । विदेशमा लगेर उपचार गर्न सक्ने आर्थिक हैसियत  देश र जनताको सामाजिक सेवामा जीवनको सम्पूर्ण भाग अर्पण गरेका गोरेबहादुर खपाङ्गी मगर र वहाँको परिवारसँग नभएको कारण तत्काल विनाविलम्ब आर्थिक सहयोग जुटाई उपचारमा सहयोग पु¥याउन नेपाल मगर सँघ तथा  आदिवासी जनजातिका ब्यक्तित्वहरुको पहलमा गोरेबहादुर मगर उपचार सहयोग समिति बनाई सरकार तथा अन्य सवैलाई आर्थिक सहयोगको अपिल गरियो । देश विदेशका सुभचिन्तकहरुबाट हालसम्म रु २२,०००००.०० अक्षरेपी बाइसलाख उठेको छ । तर उक्त उठेको रकमले हालसम्मको उपचारको सम्पूर्ण खर्च ब्याहोर्नै नसक्ने भएको छ ।
यस अवस्थामा राष्ट्रिय ब्यक्तित्वको हैसियतले सरकार समक्ष वहाँको उपचारको लागि अनुरोध गरिएकोमा सरकारले उपलब्ध गराएको रु २,००,०००(दुइलाख) मात्र सहयोग गर्यो । खपाङ्गीको दिनप्रतिदिन नाजूक हुँदै गएको स्वाथ्य स्थिति, परिवारको कमजोर आर्थिक अवस्था र उपचारमा संलग्न डाक्टरहरुको सल्लाहलाई हेर्दा नेपाल सरकारलाई सहयोगकोल ागि गुहार्न बाहेक अर्को विकल्प नरहेकोले सरकार तथा प्रमूख राजनीतिक संयन्त्रका सम्बन्धित नेताहरुलाई समितिले पटक पटक सहयोगको अपिल गर्दा पनि हालसम्म कुनै कार्य भएकै छैन । हिजो मात्रै चुनावी सरकारको अध्यक्ष सम्माननीय खिलाराज रेग्मीलाई लिखित र मौखिक अनुरोध गर्दा, सरकारले दिने सहयोग गरी सकेको र स्वास्थ्य मन्त्रीलाई म बुझ्न लगाउँछु भन्ने खालको औपचारिकताको कुरामात्र समितिको डेलीगेशनलाई दिएको यहाँहरुलाई अवगत गराउन चाहान्छौं ।
सर्वसाधारण सुभेच्छुकहरुबाट चन्दा उठाएर नेपाल बाहिर लैजाने खर्च जुट्न सक्ने स्थिति पनि छैन र त्यो कार्यको भरपर्दो सम्भावना पनि नभएको र सरकारको सहयोग गर्ने चाहना पनि नभएको अवस्थामा  खपाङ्गीको  उपचार निरन्तर गर्न गम्भीर समस्या आइपरेको छ । सरकारले खपाङ्गीको स्वास्थ्य सहयोग गर्ने क्रममा झाराटार्ने कार्यमात्र गरेको समिति तथा आदिवासी समूदायको ठहर छ । यो कार्य  आदिवासी जनजातिप्रति भइरहेको विभेद र उनीहरुको समस्याप्रतिको संवेदन हिनता हो भन्ने प्रष्ट छ । कतिपय राजनीतिक नेता तथा पहुँचवालाहरु  तुरुन्तै सरकारी रकममा विदेशमा उपचार गर्न जान पाउने तर आदिवासीहरुको नेता गोरेबहादुर खपाङ्गीको सवालमा भने उदासिनता देखाउने कार्यले सम्पूर्ण आदिवासिहरु अपमानित तथा निराश बनेका छन् जसले अप्रिय परिस्थिति सृजना हुन सक्ने भएकोले समिति चिन्तित पनि बनेको छ ।  सरकार तथा सम्बन्धित निकायलाई यसप्रति गम्भीर भइदिन अनुरोघ गरिन्छ ।
नेपालको राजनैतिक तथा सामाजिक क्षेत्रमा वहाको महत्वपूर्ण योगदान पुरयाउने राष्ट्रियरुपमै स्थापित व्याक्तित्वको जीवन रक्षा गर्नु राज्यले आफ्नो दायित्व ठान्नेछ भन्ने कुरामा हामी विश्वस्त छौ । अतः सरकार समक्ष निम्न माग गर्दछौं :
 (१) सरकारका स्वास्थ्य मन्त्रीबाट  नर्भिक अस्पतालमा खपाङ्गीको स्वाथ्य स्थिति बुझ्ने काम गरियोस्    
    र उपचारमा सहयोगको रकमले नधान्ने सम्पूर्ण खर्च सरकारले उपलब्ध गराइयोस् ।
 (२) डाक्टरहरुको सिफारिश अनुसार यथाशिघ्र नेपाल बाहिर लगि वहाँको स्वास्थ्य उपचार गरिदिने
    व्यवस्था गरी वहाँलाई बँचाउने काम गरोस् ।

शंकर लिम्बु  
(संयोजक)
गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग  समिति

 

जगन शर्मा र आनन्द गुरुङ, काठमाण्डु


किन बाँच्नुपर्छ खपागीं यहाँ पढ्नोस-

युगले नबुझेको मान्छेः खपाङ्गी

किन बांच्नुपर्छ खपाङ्गी (एक राजनेताको योगदानको शल्यक्रिया)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %