एउटा उक्ति छः जतिसुकै कालो बादलको घेराभित्र पनि चाँदीको घेरा रहेको हुन्छ । यो उक्ति अरुणथापामगरलाई सम्झने र सम्मान गर्ने हकमा पनि सही देखिन्छ । गायक अरुण थापामगरको नेपाली आधुनिक सुगम संगीतको भण्डारमा रहेको विशिष्ट योगदानको कदर गर्दै राज्यको तर्फबाट कुनै योजना तय नगरिएपनि नेपाल मगर विद्यार्थी संघले २०६० सालमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरी संकलित रु. ५०,०००।– को अक्षयकोषबाट अरुणस्मृति संगीत पुरस्कार स्वरुप प्रत्येक वर्ष रु. ५,०००।– नगदसहित अरुण स्मृति संगीत पुरस्कार वितरण गर्दै आएको छ । गित/संगितको क्षेत्रमा योगदान पुर्याएका एक जना मगर कलाकारलाई प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष श्रावण ५ गते अरुण स्मृति दिवशको अवसरमा वितरण गरिन्छ ।
यो साल यस पुरस्कारबाट गायक खडग बुढा मगर सम्मानित भएकाछन् ।नेपाल मगर विद्यार्थी संघले स्वर्गीय अरुण थापाको १४औं बार्षिक पुण्य तिथिको अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम गरी गायक खडक बुढामगरलाई सम्मान गरेको छ । नेपाल बिद्यार्थी संघका अध्यक्ष रेणुका काउचा मगरको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल सरकारका संस्कृति तथा पर्यटनमन्त्री रामकुमार श्रेष्ठले श्रष्टा बुढामगरलाई दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा नेपाल मंगर संघका अध्यक्ष महेन्द्र थापामगरले सरकारले स्वर्गीय अरुण थापाप्रति अन्याय गरेको भन्दै स्वर्गीय थापालाई नेपाली संगीत आकाशका स्वर सम्राटको संज्ञा दिनु पर्ने बताए । गायिका कविता आलेले सरकारले पॉच लाखको अक्षयकोष स्थापना गरी लोकप्रिय गायक प्रति सम्मान प्रकट गर्नु पर्ने बताईन । सम्मानित खडक बुढामगरले अरुण थापाको आर्थिक अभाव र सामाजिक दबावको जीवनको चर्चा गर्दै उनले देखाएको बाटो अनुसरण गर्नु नै स्वर्गीय थापा प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । कार्यक्रममा बुढामगर, कविता आले अगायतका संगीत कर्मीहरुले स्वर्गीय अरुण थापाका गीत गाएर उपस्थित सबैलाई उनको याद दिलाएकाथिए ।
अहिलेसम्म सम्मानित कलाकारहरु:
१. गायक एवं संगीतकार शिवशंकर थापामगर (२०६०),
२ .गायिका तारा थापामगर (२०६१),
३. गायक बंशिकुमार (विके) रानामगर (२०६२),
४. वरिष्ठ गायिका एवं अभिनेत्री कविता आलेमगर (२०६३),
५. वरिष्ठ संगितकार एवं गीतकार स्व. राम थापामगर (२०६४),
६. गायिका शिवा आलेमगर (२०६५),
७. गायक खडग गर्बुजामगर (२०६६),
८. संगीतकार तथा गायक दिपक थापामगर (२०६७),
९.गायक तथा संगीतकार बलराम समाल (२०६८) र
सम्मानित श्रष्टा गायक तथा संगीतकार खडक बुढामगरको परिचय:
रेडियो नेपालका बिशिष्ट लोक गायक तथा संगीतकार खडक बुढामगरको जन्म बि.स. २०२० साल पुस २ गते सल्यान जिल्लाको फलावाङ गाविस ८ मा बाबु रणबहादुर बुढामगर र आमा अमनी बुढामगरको कोखबाट दोस्रो सनतानको रुपमा भएको हो । वि.स. २०४५ सालबाट नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा सहायक संगीत प्रबन्धकका रुपमा कार्यरत बुढामगरले भारतको ईलाहबाद प्रयाग संगीत विद्यालयबाट गायन जुनियर डिप्लोमा र वि.सं २०६६ मा संगीत प्रविण (एम.म्यूस)उत्तीर्ण गरेका बुढामगर सांस्कृतिक संस्थानमा तबला प्रशिक्षक पनि हुन् ।
लामो समयदेखि नपाली लोक संगीतको क्षेत्रमा सक्रिय बुढामगरका हालसम्म सार्वजनकि गीति संग्रहहरु :
स्यानीमयालै २०४७
दाईलालै २०४९
लाउ“की माया २०५१
बुलबुले तालैमा २०५२
साइत जुरेछ २०५५
फुर्के रिबन फरर २०५६
तुलसी पुरैमा २०५७
खायो ज्यानले हार २०६३
तिजमा माइत२०६६
लोक भाका संग्ह २०६९
पुस्तकः
मध्यपश्चिमाञ्चलका लोकभाका मादल ज्ञानमाला
पुरस्कारहरु:
राष्ट्रिय लोक दोहरी प्रतियोगिता प्रथम २०४६
मञ्जुश्री संगीत उत्कृष्ट पुरस्कार २०५३
श्री बिरेन्द्र बिरविक्रम शाहदेवको २५ औ राज्यरोहण पदक २०५३
आनन्द गुरुङ, काठमाडौं