मातृभाषा आउँदैन, के फुँई लाँउछौ त पहिचानको !

Read Time:8 Minute, 8 Second

सम्झना थापामगरका आमाबुवाले मगर भाषा बोल्न जानेनन् । आमाबुवाले मातृभाषा नजानेपछि सम्झानाले मातृभाषा जान्ने मौका पाइनन् । मगर भाषा सिक्ने रहर भएपछि भाषा कक्षाबारे सोधीखोजी गरेपनि सम्झनाले त्यस्तो अवसर पनि भेटिनन् । बाग्लुङमा हुर्किएकी उनको गाउँमा मगरहरु प्रशस्तै छन् । तैपनी त्यहाँ मातृभाषा बोल्ने मगरहरु छैनन् । उच्च शिक्षा अध्ययनका लागि पोखरा झरेकी १९ वर्षिय सम्झनालाई मगर भाषा जान्ने हुटहुटिले झनै सतायो।
 पोखरामा मगर भाषा जान्ने केही साथीभाइसँग संगत भएपति बल्ल उनलाई मातृभाषा नजान्दाको पिडा महसुस भयो । ‘साथीहरुले मगरभाषामा कुरा गर्दा म ट्वाल्ल परेर हेर्थे’ मातृभाषा नजान्दाको पिडा ओकल्दै सम्झनाले भनिन्, ‘एक दिन भर्खर चिनजान भएको एक साथीले मगरले भाषा नजान्ने मान्छे कसरी मगर हुन्छ भनेपछि मेरो मन भतभती पोल्यो, अनि मातृभाषा सिक्ने अठोट गरे ।’

साथीले मगर भाषा नजान्ने भनेर खिसी गरेपछि सम्झाना मगर भाषा सिक्नमा दिन रात लागिरहिन् । उनले यसका धेरै विकल्प खोजिन् । मगर भाषाका किताब पढ्ने, साथीसँगीसँग सोधीखोजी गर्दा गदै र पोखरा बाग्लुङ पोखरा मगर समाजले गरेको एक महिने मगर भाषा कक्षामा सम्झना सहभागी भइन् । मगर भाषा कक्षा लिएपछि सम्झना
अहिले मगर भाषा राम्रोसँग बोल्न सक्ने भएकी छिन् । ‘भाषा जान्दाको मजा नै बेग्लै छ’ उनी भन्छिन्,‘आफ्नो समुदायप्रति नजिक हुन पनि सजिलो छ, गोप्य कुरा गर्न पनि पाइन्छ ।’
सम्झना प्रतिनिधि पात्र हुन् । उनी जस्तै थुप्रै आदिवासी जनजाति युवाहरुले पछिल्लो समय आफ्नो मातृभाषाप्रति मोह राख्न थालेका छन् । सुरुका दिनमा मातृभाषाप्रति घृणा गर्नेहरु पछिल्लो सयम गर्व गर्न थालेका छन् । भाषा जान्दै नजान्नेहरु अहिले भाषा जान्नेहरुसँग सँगत गरेर, किताब पढेर, भाषा कक्षा लिएर भए पनि मातृभाषा सिक्ने प्रयासमा छन् । ‘मलाई मातृभाषा नजानेकोमा निकै दुःख लाग्छ’ मगर भाषाको किताब पढेर आफ्नो मातृभाषा सिक्न प्रयासरत पुतलिबजार नगरपालिका वडा नं।–३ लत्रेपिपलका सुरोज रानामगर भन्छन् ‘अहिले किताब पढेर मगर भाषा सिक्ने प्रयास गर्दैछु, कतै भाषा कक्षा संचालन भएमा त्यहाँ गएर पनि सिक्ने विचार छ ।’

पछिल्लो समय देशमा विभिन्न जायित सँस्थाहरुले भाषा र सँस्कृतिको आन्दोलन थालेपछि आदिवासी जनजाति युवाहरुको आफ्नो मातृभाषाप्रति मोह बढ्दैछ । त्यसैले त पोखरा उपमहानगरपालिका वडा नंं।– ४ गैह्रापाटनकी कविता श्रेष्ठ अहिले नेवारी भाषा सिकीरहेकीछिन् । आम जनजातिका युवाहरु जस्तै कवितालाई पनि मातृभाषा आउँदैनथ्यो । उनले पनि नेवारी भाषा नजान्दा आफ्नै समुदायका थुप्रै ठाउँमा अप्ठ्यारो झेल्नु पयो । भाषा नजानेकै कारण उनले आफ्नै नेवारी रितिरिवाजको बारेमा पनि त्यति धेरै ज्ञान लिन सकिनन् । ‘नेवारका हरेक सँस्कार, पूजापाठ, मेला पर्वमा नेवारी भाषामै काम हुने भएकाले केही कुरा बुझ्नै पाईन’ एमबिएसकी विद्यार्थी उनी भन्छिन्‘त्यति मात्रै हैन आफ्नो भाषा नजान्ने के नेवार हो भनेर खिसी गर्थे ।’ मातृभाषा नजानेकाले आफ्नै समुदायभित्र अपहेलित भएपछि उलाई आफ्नो भाषा जसरी पनि सिक्नुपर्छ भन्ने जोस आयो । अनि भाषा सिक्न नेखाः खल र नेवाः तजीलजी दवुमा पुगिन् । चार महिना नेवारी भाषा सिकेपछि फररर नेवार भाषा बोल्छिन् ।
कविताले आफ्नो भामृभाषा नेवारी सिकेपछि धेरै फाईदा भएको अनुभव लिईसकेकी छिन् । भाषा सिकेपछि आफ्नो समुदायको बारेमा नजिकबाट बुझ्न पाएको बताउँछिन् उनी । आफ्नो भाषा नजान्दा उनलाई नेवारी समुदायसँग नजिक हुन निकै गाह्रो पथ्र्याे । नेवार भएर नेवार भाषा नजान्ने कस्तो नेवार हो भन्दै खिसी गर्दा उनलाई निकै दुःख लाग्थ्यो । तर, अहिले उनै कविता नेवारी भाषाको प्रचार गर्दैछिन् । ‘आफ्नो भाषा भनेको पहिचान हो । यसलाई जोगाउन हामी युवा लाग्नुपर्छ । चाहे त्यो, गुरुङ, मगर, नेवार, शेर्पा किन नहोस् भाषा हाम्रो सम्पत्ति हो ।’ सुरुमा आफ्नै भाषाप्रति घृणा गर्ने कविता भन्छिन्‘हामीले हाम्रो भाषा नबोले कसले बोल्ने रु हामीले हाम्रो सँस्कृति नजोगाए कसले जोगाउने ?’

मातृभाषा जान्दा आफ्नो समुदायप्रति जती गर्व गर्ने युवाहरु छन्, भाषा नजान्दा त्यति नै ग्लानी गर्ने युवाहरु पनि थुप्रै छन् ।  २८ वर्षिय पूर्ण ह्याल्मोले भाषा नजान्दा धेरै ठाउँमा अप्ठ्यारो भोगीसकेका छन् ।  ‘मातृभाषा जान्नुपर्ने कुरा हो । मैले नजान्दा धेरै अप्ठ्यारो मसहुस गरेको छु’ आदिवासी जनजाति जिल्ला समन्वय परिषद कास्कीका सचिव समेत रहेका ह्याल्मो भन्छन्‘अहिले किताबहरु ल्याएर, ह्याल्मो भाषा बोल्नेको सँगत गरेर भए पनि भाषा सिक्न प्रयत्न गर्दैछु । लिडर भएपछि बल्ल भाषा सिक्नुपर्छ भन्ने महसुस भयो ।’
पुख्र्यौली घर पूर्वको हेलम्बु रहेका पूर्णको अघिल्लो पुस्ता सैमराङ–६ कास्कीमा आयो । हेलम्बुमा ह्याल्मो भाषा अहिले पनि राम्रोसँग बोल्ने गरिन्छ । तर, पूर्णको अघिल्लो पुस्ताले गरेको बसाईसाराईसँगै भाषा पनि हरायो । कास्कीको जनजाति नेता भएपछि उनी थुप्रै कार्यक्रममा सहभागी हुन्छन् । कहिलेकाही ति कार्यक्रममा आफ्नै भाषामा बोल्नुपर्छ भन्ने आवाज उठाएपछि उनी रातोपिरो मात्रै हुँदैनन् भाषा नजानेको भन्दै माफी पनि माग्छन् । ‘आफ्नो भाषा नजानेकोमा मलाई बल्ल ग्लानी महसुस भएको छ । अझ लिडर भएपछि त झन गाह्रो हँदो रहेछ ।’ उनले भाषा नजान्नुको पिडा सुनाउँदै भने‘भाषा सँस्कृतिका कुरा
गर्दै हिड्ने,आफूले भाषा नजान्ने त्यही भएर मैले भाषा सिक्दैछु ।’

मनोज घर्तीमगर, पोखरा
तस्वीर ः छवि मगर  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %