इस्लाम धर्मको १२ औं महिना मध्ये एक महिनाको नाम हो “रमदान” । रमदान एक पर्व पनि हो । यो महिनै भरी मनाइने पर्व हो ।
यो महिना अन्य ११ औं महिना भन्दा उत्तम (अफ्जल) महिना मानिन्छ । ईश्लाम धर्मका चार मुख्य दर्शनहरु नमाज, हज, रोजा र जकात मध्ये यस महिनामा २ कार्य रोजा र जाकात यहि महिनामा पर्ने हुँदा यो महिनालाई अन्य महिना भन्दा उत्तम मानिएको हो ।
अल्लाका रसुल (इश दुत) पैगम्वर मोहम्मद साहेवले भन्नुभयो –“यस महिनामा एक पूण्य कार्य गरेवापत ७० गुणा फल पाइन्छ ।” अर्थात कोही गरिबलाई एक रुपैया दियो भने हामीलाई अल्लाहले रु ७० रुपैया फिर्ता गर्नेछन् । रमदानको नित्य कर्म दिनको ५ पटक नमाज पढनु, रोजा राख्नु नै हो । बिहान फजिरको नमाज (प्राथना) सँगै रोजा सुरु गरिन्छ र साँझ मगरिवको नमाज (प्राथना) सँगै रोजा तोडिन्छ ।
रोजाको अर्थ ब्रत हो । रोजा फजिरको नमाज खाना, पानी, चिया, चुरोट, पान, फलफुल बन्द गरी दिनभर भोकै बस्नुपर्छ र मगरिवको नमाजसँगै खानपिन गरी रोजा तोड्नुपर्छ । रोजा खास गरी दिनभर भोकै बस्नुलाई नै भनिन्छ । तर रोजा दिनभर भोकै बस्नुको साथ साथै, आँखा, नाक, मुख, हात र खुट्टाको पनि बस्नु पर्छ । आँखाको रोजा भन्नु नराम्रो नजर नलगाउनु, नराम्रो नहेर्नु आदि
मुखको रोजा भन्नु नराम्रो नभन्नु अरुको कुरा नकाट्नु आदि
हातको रोजा भन्नु चोरी चाकरी नगर्नु, अनहाकमा नपिट्नु, अन्य स्त्रीलाई हात नहाल्नु आदि
खुट्टाको रोजा भन्नु गलत लाईनमा नहिड्नु, आदि
पवित्र भएकोले वर्षभरी आफुले गरिएको कारोबारको सम्पूर्ण नाफा नोक्सान यही रमदान महिनामा हेर्ने गरिन्छ । आफ्नो कारोबारको आम्दानी र खर्च हिसाब मिलाउँदा देखिने भएको नाफा रकमको साढे दुई प्रतिशत रकम निकाल्नुपर्छ त्यसै लाई नै जकात भनिन्छ ।
जकात हरेक मुस्लिम समुदायले निकाल्नैपर्छ ।
ईश्वरका दुत पैगम्वर हजरत मोहम्मद साहेव हो । सल्लमले भन्नु भएकोछ जसरी हाम्रो शरीरमा मयल हुन्छ त्यसलाई फाल्न हामी साबुन पानीले नुहाई सफा हुन्छौं र शरीर स्वच्छ राख्छौं । त्यसैगरी हामीसँग भएको सम्पत्तिलाई स्वच्छ राख्न आफ्नो सम्पत्तिको नाफा रकमबाट साढे दुई प्रतिशत निकाली आफ्नो सम्पत्तिलाई शुद्ध गरिन्छ । जकात यस्तो धन हो जसलाई आफ्नो सम्पत्ति शुद्ध गरी त्यो रकम गरिबलाई बाँड्नुपर्छ ।
ईश्लाम धर्ममा गरिब भन्नाले साढे सात तोला सुन वा ५२ तोला चाँदी जससँग छैन वा त्यो बराबरको सम्पक्ति जससँग हुन्न त्यसलाई बुझाउँछ । आजको दिनमा करिव ३ लाख ७५ हजार धनमाल वा जायजेथा जोसँग छैन त्यसलाई गरिब भनिन्छ । त्यस्ता गरिबलाई जकात दिनु पर्छ भन्ने ईश्लाम धर्मको मान्यता हो । ईश्लाम धर्मको मुल उद्देश्य गरिब कोही नहुनु र यदि कोही गरिबीको रेखा मुनि छन् भने यस्तालाई सबै मिलेर जकात दिई त्यसको जीवन उठाउनु पर्छ भन्ने हो ।
माथि उल्लेखित सम्पुर्ण कुराहरु यही रमदान महिनामा मात्र गर्नुपर्ने भएकोले यो महिना अति नै उत्तम (अफ्जल) ठानिन्छ । त्यसैले सम्पुर्ण ईश्लाम धर्मावलम्वीहरुले रमदान पर्वमा जकात पाई पाईको हिसाब निकाली आफु र आफ्नो सम्पत्ति शुद्ध र स्वच्छ राख्छन् र दिनदुखीको सेवा गर्छन् । रमदान महिनाको मुख्य उद्देश्य नै आफु रोजा बसी शुद्ध र स्वच्छ भई ईश्वर (अल्ला) सँग लिप्त हुनु र आफ्नो सम्पत्तिको शुद्धिकरण गर्नु नै हो ।
मोहम्मद हजी उल्ला मिया शुभानी
– बुटवल–७, विकास पथ
(संघीय एक्सप्रेस साप्ताहिकसंगको सहकार्य)