काठमाडौ, मंसिर २ – कार्यव्यस्तता रहेको जनाउँदै प्रधानमन्त्री माधवकुमार नेपाल संसदको सार्वजनिक लेखा समितिमा बिहीबार उपस्थित नहुने जनाएपछि समितिको बैठक स्थगित भएको छ । समितिले नयाँ जहाज खरीद सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई अपरान्ह १ बजे बोलाएको थियो ।
नेपाल वायु सेवा निगमले विमान खरीद गर्न लागेको विषयमा प्रधानमन्त्री नेपालले छानवीन नगर्न अख्तियारका सचिव लगायतका कर्मचारीलाई दवाब दिएको विषयमा छलफल गर्न समितिले उनलाई बोलाएको हो । अर्थ मन्त्रालय र लेखा समितिले निगमले प्रक्रिया नपुर्याई विमान खरीद गर्न लागेमा रोक लगाउँदै छानविनका लागि अख्तियारलाई आग्रह गरेको थियो । अख्तियारका अधिकारीलाई उक्त विषयमा छानविन अगाडि नबाढउन प्रधानमन्त्रीले दवाब दिएको सार्वजनिक भएको थियो ।
तीन दलका शीर्ष नेताहरुसंगको बैठकका कारण समितिमा उपस्थित हुन नसक्ने प्रधानमन्त्रीले खबर पठाएका थिए । त्यस्तै,जहाज खरीद,क्यासिनोको राजस्व संकलन,दलहरु मार्फत निकासा भएका बजेटको उपयोग आदिका विषयमा छलफल गर्न समितिले अर्थ सचिव रामेश्वर खनाललाई पनि बोलाएको थियो । तर,बजेटलाई अन्तिम रुप दिन व्यस्त रहेको भन्दै सचिव खनाल पनि समिति बैठकमा अनुपस्थित रहे ।