समानुपातिकमा मिले संघीय समाजवादी चुनावमा जाने

पोखरा, २९
 असार सङ्घीय समाजवादी पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय सुब्बाले अहिलेकै अवस्थामा चुनावमा नजाने बताएकाछन् । चुनावमा नजानुको कारण खोतल्दै  पोखरा नगरस्तरीय प्रथम भेलाको उद्घाटन गर्दै प्रमुख अतिति सुब्बाले भने, “अहिलेकै परिस्थितीमा निर्वाचनमा जानु भनेको प्रतिगामीको साक्षी बन्नु हो । समानुपातिक प्रतिनिधीत्वलाई कम्तीमा यसअघिको निर्वाचनमा जति प्रतिशत सुनिश्चित नगरिदासम्म हामी चुनावमा जादैनौ, बहिष्कार गर्छौ ।” पार्टीका उपाध्यक्ष रिजवन अन्सारीले संविधानसभाबाट पीड़ित समुदायहरुको बढ़ी प्रतिनिधित्व हुने डरले चारदलका नेताहरुले  समानुपातिक प्रतिशत घटाउने षडयन्त्र भएको आरोप लगाए । उनका अनुसार, सर्वदलिय राजनीतिक सम्मेलनको निर्णय विना गरिने मंसिर ४ गतेको निर्वाचन उत्पिडित जनताको विरुद्ध हुनेछ । पुर्व गृह राज्यमन्त्री समेत रहेका अन्सारीले अहिले मुलुकमा उत्पिडित जनता विरुद्ध षडयन्त्र भइरहेको र त्यसका विरुद्ध शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
 
 पार्टीका उपमहासचिव महेन्द्र थापा मगरले पुराना पार्टीबाट जनताले अधिकार र राष्ट्रले निकास नपाउने भएकाले नयाँ राजनैतिक शक्ति आवाश्यकतामा जोड दिदैं जातिय र वर्गीय मुक्तिका लागि सङ्घीय समाजवादी पार्टी क्रियाशील रहने बताए ।
 
केन्द्रीय सचिव डिवी नेपालीले दलित समुदायलाई कथित उच्च जातिहरुले हामीहरु आर्य हौं भन्दै भुलभलैयामा पारेको आरोप लगाए । स्थायी समितिका सदस्य गणेशमान गुरुङले मुलुकमा बैकल्पिक राजनीतिक शक्तिको आवाश्यकतालाई सङ्घीय समाजवादी पार्टीले पुरा गर्ने बताए । भेला आयोजक समितिका संयोजक मेजर कोमलसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य धनप्रसाद तामाङ, स्याङ्जा भेला आयोजक समितिका संयोजक दिलिप थापामगर, कास्की अध्यक्ष दीपक तामाङ, लेखनाथ नगर समितिका अध्यक्ष क्याप्टेन मेकबहादुर गुरुङ, अलिमियाँ लोकवाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, संघीय युवा संघ कास्कीका अध्यक्ष विष्णु गुरुङ, संघीय महिला संघ कास्कीका अध्यक्ष पुष्पा गुरुङ, अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्य फरेन्द्र थापामगरले शुभकामना व्यक्त गरेकाथिए । स्वागत सुवेदार तुलबहादुर गुरुङ र सञ्चालन क्याप्टेन नरेश थापाले गरे ।
 
 कार्यक्रममा चैत्र १८ गते जिल्ला प्रसासन कास्की धर्नाका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भएकाहरुलाई सम्मान गरिएको थियो भने कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा एमाओवादी, नेपाली काँग्रेस, एमाले पार्टी परित्याग गरी बाइस जना सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय सुब्बा र उपाध्यक्ष रिजवन अन्सारीले अबिर र खाता लगाई दिए । भेलाले मेजर कोमलसिंह गुरुङको संयोजकत्वमा २९ सदस्यीय सङ्घीय समाजवादी पार्टी पोखरा नगर तदर्थ समिति गठन गरेको छ ।
हुम तमु