काठमाडौ, मंसिर १
संविधान संशोधन गरेर बजेट ल्याउने विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले सहमति जनाएको छ । बजेट र संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार बोलाएको २७ दलको बैठकमा उक्त सहमति जुटेको हो ।
२७ मध्ये २५ दलले संविधान संशोधनको पक्षमा सहमति जनाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले बताए । नेकपा एकीकृत र दलित जनजाति पार्टीले संविधान संशोधन बिना नै बजेट ल्याउनुपर्ने धारणा राखेका थिए ।
सरकारले मंसिर ३ गते बजेट ल्याउने तयारी गरेको छ । बैठकपछि माओवादी नेता देव गुरुङले बजेट ल्याउने विषयमा सहमति जुटेको बताए ।