एनआरएनमा जनजाति भर्सेज बाहुन क्षेत्री युद्ध !

Read Time:7 Minute, 9 Second

१ जुलाई
गएको १२ मे मा भएको पाचौ अधिवेशनमा तत्कालिन अध्यक्ष दुर्गा गुरुङको प्रतिद्धन्द्धिको रुपमा उठेका तत्कालिन कार्यसमिति सदस्य भूतपूर्व भारतीय सैनिकका कर्नेल एमवी गुरुङको नेतृत्वले चुनावमा धाधली भएको भन्दै बहिष्कार गरेकोथियो । त्यसरी बहिष्कार गरि हिडेपछि दुर्गा पुनः निर्वाचित भएकाथिए । त्यो विवाद सल्टाउन केन्द्रिय कार्यालय नै लागेकोछ । तर सल्टनुको साटो बल्झिरहेकोछ ।
एशिया प्यासिफिक प्रमुख त्रिलोक गुरुङ, आईसीसी कृष्ण पाण्डे र जेएन ज्ञवालीहरुको टिमले छानवीन पनि गरिरहेकोछ तर विद्रोही पक्षले आज पत्रकार सम्मेलन गरि समानान्तर संस्था खोल्ने घोषणा गरेकाछन् । आज ४ बजे त्यसको घोषणा कार्यक्रम राखेकोछ ।

विद्रोही टिममा मुलतः दुई खालका मान्छे छन् । एक, जनजातिय आन्दोलनलाई समर्थन गर्ने र माओवादीको भातृसंगठन तमुवान मुक्तिमोर्चाका स्थानीय नेतृत्व । अर्काे, दुर्गासंग चिढिएका उनकै गृहजिल्ला पर्वतका उनकै नातागोता पर्ने बहुसंख्यक युवाहरु ।
जनजाति आन्दोलन उग्र भैरहेको हङकङमा दुर्गा गुरुङले जनजाति आन्दोलन र त्यसका नेताहरु विरुद्ध नकारात्मक भाषण गर्न थालेपछि उनलाई जनजाति विरोधिको रुपमा त्यो वृत्तमा हेर्ने गरिएकोछ । त्यसैले त्यसरी चिढिएका जति उनको विपक्षीलाई सहयोग गरिरहेकाछन् । यसअघि उनले पर्वत मन्च र तमु ट्यो ह्युलको अधिवेशनमा आफ्ना मान्छेलाई जिताउन तल्लो स्तरको ब्यवहार देखाएको भन्दै धेरै युवाहरु चिढिएकाथिए । उनले विपक्षीलाई हान्न कुर्सी समेत उठाएको बताईन्छ ।
ह्युलका तत्कालिन अध्यक्ष अर्जुन गुरुङलाई हराउन उनले अनेकन खुराफात गरेको तिनको आरोप छ । त्यसैले उनी र आफ्नो दाज्यु धर्म गुरुङ अहिले खुलेर दुर्गाको विपक्षमा लागेकाछन् । उनीहरुले नै अहिलेको नेतृत्व गरिरहेकाछन् । अर्जुन जनजाति मुद्दाका पक्षधर भएकोले उनका पछाडि जनजाति संघसंस्थाहरुको समर्थन देखिन्छ ।
एमवी स्वंय दुर्गाका नाताले सोल्टी पर्छन । तर उनीहरुबीच दुई बर्ष देखि एउटा ब्यावसायको क्रममा भएको खटपटका कारण इगो बढेको बताईन्छ । विद्रोहीमा प्राय सबै दुर्गाको नातागोता पर्ने र पर्वत जिल्लाकै छन् ।
एशिया प्यासिफिक प्रमुख तथा एनआरएन हङकङका पूर्व अध्यक्ष त्रिलोक गुरुङ दुर्गाकै नंवरी हुन् । अत्यन्त मिल्ने साथी अहिले उनीसंग पनि उनको सम्बन्ध सुमधुर छैन । त्यसैले केहिले दुर्गालाई असफल पार्न यी सबै गराउने भित्री खेल त्रिलोकको हो भनि आरोप पनि लगाईरहेकाछन् । गएको एनआरएनको अन्र्तराष्ट्रिय महाधिवेशनको मुखमा त्रिलोक र दुर्गा जनजातिको तर्फबाट उम्मेदवारी दिएका भनिएका देवमान हिराचनको पक्षमा थिए भने कृष्ण पाण्डे, जेएन ज्ञवाली लगायतका ब्यापारीहरु जिवाको पक्षमा थिए ।
तर अन्तिममा दुर्गा जिवा लामिछानेको पक्षमा गएकाथिए । मकाउका अध्यक्ष सुदर्शन थापा र चीनका अध्यक्ष सुन्दर थापाले पनि जिवा बलियो भएको देखेपछि क्याम्प बदलेकाथिए । त्रिलोक र हिराचन पक्ष त्यसबाट पनि असन्तुष्ट रहेको बताईन्छ । हिराचन पक्षका ललित लिम्बुले त यसको खुलेरै विरोध गरेकाथिए । अहिले ललित  हङकङको कार्यसमितिमा उपाध्यक्ष पदमा आएकाछन् ।
आज हुने पत्रकार सम्मेलनका लागि बांडिएको पत्रमा विशेष चौथो अधिवेशन तयारी समिति भनिएकोछ । यसको अर्थ विद्रोहीहरुले चौथो अधिवेशनलाई मान्यता नदिने गरि यो कार्यक्रम गर्न थालेको देखिन्छ । यसले गत दुई साल अघि भएको एनआरएनको चुनाव जस्तै यसपालि हुने चुनाव पनि जनजाति भर्सेज बाहुन क्षेत्री प्रतिस्पर्धा हुने तयारी जस्तै देखिन्छ ।
काठमाण्डौमा त्यतिबेला भएको एनआरएनको अधिवेशनमा बाहुन क्षेत्री भर्सेज जनजातिको प्रतिस्पर्धा नै भएकोथियो । त्यसैका कारण अन्तमा विश्वभरका बाहुन क्षेत्रीहरु एक भई चुनाव स्थलमा जातीयकरण भयो भन्दै एकजुट भएको एक सहभागी बताउछन् । त्यसैले अन्तमा हिराचनलाई अन्त सम्म साथ दिएको उनको दल एमालेले पनि साथ छाडेर काग्रेंसका जिवालाई साथ दिएकोथियो । जातीय स्वार्थका कारण माओवादीले पनि त्यसरी नै साथ छाडेको थियो । चुनाव भएकोभए हिराचनले जित्ने पक्कापक्की जस्तै रहेकोमा उनी दलका कारण खुम्चनु परेकोथियो ।
त्यसबाट क्रुद्ध हिराचनले कहिल्यै जिवा नेतृत्वलाई सहयोग गरेकाछैनन्, जसरी जिवा टिमले उनको पालामा सहयोग गरेको थिएन । बरु उल्टै हिराचनले विश्वभर घुम्दै उनको विरोधमा जनमत बनाउदै हिंडेकाछन् । जनजाति मत आफु तर्फ तान्ने राजनीति गरिरहेकाछन् । यसपालि उनको समर्थन जनजाति पक्षधरलाई हुने प्रचार गरिदैंछ । त्यसैले हङकङको विवादमा उनका समर्थकहरु संस्थापनमा रहेपनि अप्रत्यक्ष रुपमा विद्रोहीहरुलाई नै समर्थन गरिरहेकाछन् । त्रिलोक पनि उनकै नजिकका भएकोले त्यस्तो सहयोग गरिरहेको अनुमान गरिएकोछ ।
विश्वभर भैरहेको जनजाति भर्सेज बाहुन क्षेत्री राजनीतिले एनआरएनलाई पनि गांज्दै लगेकोछ र यसपालिको हङकङमा त्यसको खुलेर अभ्यास भैरहेको देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %