पोखरा, १४ असार
करिब एक दशकपछि पोखरेली मनहरु मदमस्त भई झुम्न पाए । एक दशक नाटकको नशाबाट टाढिएका दुर्ब्यसनीहरु शुक्रवार ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ मा लट्ठ परे । लट्ठिने क्रम भोलि शनिवार सम्म चल्नेछ । कुनै बेला नेपाली रगंमन्चलाई नेतृत्व दिने पोखराको सौन्दर्य क्रूर बजारवादको हावाले सोत्तर पारेर लगिदिएकोथियो । तर तिनका भ्रुणहरु मुना भई पलाउन शुरु गरेकोछ र, त्यो अन्तराष्ट्रिय रक्सीभट्टीको रुपमा चिटिक्क परि दर्शक माझ देखिन आईपुगेकोछ ।
कृष्ण उदासीको भट्ठी ( लेखन/निर्देशन) मा मद बेच्नेहरु सबै जोशिला युवाहरु छन् । कपिल शर्मा, रेम बिक, ईन्दु श्रेष्ठ, मनोज घर्तीमगर, सौगात पोखरेल, सरु लामिछाने, दिपक त्रिपाठी, रेखा पुरी, विभु भुषाल, मनिष पुरी, प्रकाश पराजुली, पारु भण्डारी, सन्ध्या अधिकारी, प्रदीप सुवेदी, लक्ष्मी जिसी र रुपिन्द्रप्रभावि कटुको आ-आफ्ना कौशलले धेरैलाई लट्ठ्यायो । युथ क्रियशन थियटरको आयोजनामा पोखरा उद्योग वाणिज्य संघमा खचाखच भरिएका दुर्ब्यसनीहरुलाई नाटकको लत लगाउने खुवी तिनमा प्रचुर देखिन्थ्यो । तिनलाई यसरी लठ्ठ पार्न तम्सिएका करामाती दुर्ब्यसनीहरुको कौशललाई सबैले वाहीवाही मात्र गरेनन् तिनको नशामा ति सबै लट्ठ परि मदमस्त भई झुमे ।
भट्ठीको व्यवस्थापन हेमन्त पराजुली, संगीत ऋतु लामा, प्रकाश प्रकाश गिरी, नृत्य प्रिति गुरुङ, ऋंगार/भेषभुषा सञ्जय श्रेष्ठ र सहनिर्देशनको कमान विभु भुषालले सम्हालेकाथिए । पोखरेली नाट्य प्रतिष्ठानको विशेष सहयोग थियो ।
प्योर मदले लट्ठ परेकाहरु पोखरामा पुनः यस्तो अन्तराष्टटिय स्तरको भट्ठी उपलब्ध गराईदिएकोमा मख्ख देखिन्थे ।
‘मलाई कलाकारहरुको अभिनय र नाटकको प्रस्तुती खुब राम्रो लाग्यो ।‘ पोखराका पुराना नाट्यकर्मीमध्येका एक सरुभक्तको प्रतिक्रिया थियो । उनी पुरानो बहार फेरि फर्कने आशमा हर्षित थिए । राष्ट्रियता पढाउने ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ मा एकचोटी जसरी हुन्छ घुस्न उनले सबैलाई आग्रह गरे । सरुभक्त जस्तै पोखराका पुराना नाट्यकर्मीहरुले समेत त्यस्तै मिठो प्रतिक्रिया दिएकाछन् ।
“आजको दर्शक संख्या र हुटिङले हामीलाई दुई महिनासम्मको दुख बिर्साईदिएको छ । ” कर्मको फलबाट हौसिएका
कृष्ण उदासीको प्रतिक्रिया थियो । युथ क्रियशन थियटरका अध्यक्ष कपिल शर्मा संजोग पनि गमक्क पर्दै आफुहरुले सोँचेको भन्दा राम्रो भएको भन्दै हिंडिरहेकाथिए । टोलीमा आत्मविश्वासको संचार गराएको प्रष्ट बुझ्न सकिन्थ्यो । असार महिना भित्र काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा हुने नाटक महोत्सवमा ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ जाने निश्चित भएको थियटरको घोषणाले त्यहि संकेत गर्दथ्यो ।
फोटो : सुरज तमु