संविधान संशोधन गरेर बजेट ल्याउन तीन दल सहमत

Read Time:4 Minute, 10 Second

काठमाडौँ, ३० कात्तिक

प्रमुख तीन राजनीतिक दल संविधान संशोधन गरेरै भए पनि बजेट ल्याउन सहमत भएकाछन् ।

    कामचलाउ सरकारले संविधानमा एकपटकका लागि एक तृतीयांशलाई नबढाइ बजेट ल्याउन सकिने प्रावधान भएकोमा त्यसलाई संशोधन गरी पूरा अवधिका लागि बजेट ल्याउनसक्ने व्यवस्था राख्न दलहरूबीच सहमति भएको हो ।

    सभामुख सुवास नेम्बाङको कार्यकक्ष सिंहदरबारमा आज बिहान प्रमुख तीन राजनीतिक दल एनकेपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू र तीनै दलका पूर्वअर्थमन्त्रीहरूसहित बसेको बैठकमा कामचलाउ सरकार भएकाले नयाँ कार्यक्रम नल्याउने र पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिनेगरी बजेट ल्याउन सहमति भएको थियो ।

    बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधान संशोधन गरेर छोटो विधिबाट बाधा अड्काउ फुकाएर पूर्ण बजेट ल्याउनेबारे तीनै दलबीच सहमति भएको बताए  ।

    उनले  यसका लागि संविधानको धारा ९६ मा एकपटकका लागि तृतीयांशलाई बजेट ल्याउन सकिने प्रावधानलाई संशोधन गरी काम चलाउ सरकार दुई महिनाभन्दा बढी कायम रहेमा त्यसले पूर्ण बजेट ल्याउनसक्ने व्यवस्था गरिने जानकारी दिए ।

    अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा विशेष परिस्थिति उत्पन्न भएकाले छोटो बाटोबाट संविधान संशोधन गरेर मङ्सिर ३ गते नै बजेट प्रस्तुत गर्ने हिसावले सरकार अगाडि बढेको जानकारी दिए  ।

    सरकारले करिब रु.साढे तीन खर्ब बराबरको बजेट ल्याउने सोच बनाएको भए पनि बजेट आउन ढिलाइका कारण राजस्व उठाउन नसकिएकाले बजेटको आकार केही सानो हुने जानकारी दिए  ।

    पूर्वअर्थमन्त्री तथा एनेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले पुरानो सरकारले राजीनामा दिएको र नयाँ सरकार बन्न नसक्दा बजेट आउनमा ढिलाइ भएको अवस्थालाई ध्यानमा राखी विशेष अवस्थामा संविधान संशोधन गरेर भएपनि विशेष बजेट ल्याउन तीन दलबीच सहमति भएको प्रतिक्रिया दिए  ।

    उनले पूर्ण बजेट आउने भएपनि यो नियमित प्रक्रियाबाट नभई विशेष अवस्थाका कारण ल्याउनु परेको जानकारी दिँदै बजेटमा नयाँ कार्यक्रम नआउने र पुरानैलाई निरन्तरता दिइनेछ भने  ।

    अर्कापूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का स्थायी समिति सदस्य भरतमोहन अधिकारीले संविधानको धारा ९६ मा राजस्व तथा आयव्यय प्रस्तुत गर्नेसम्बन्धी वर्तमान प्रावधानलाई संशोधन गरेर जनताको छिटै बजेट आओस् भन्ने चाहनालाई पूरा गर्न तीन दलबीच बजेट ल्याउन सहमति भएको जानकारी दिए  ।

    उनले बजेटमा काम चलाउ सरकार भएकाले बजेटमा पुरानो कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रम समावेश नगर्ने सहमति भएको जानकारी दिए  ।

    बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाल) का अध्यक्ष झलनाथ खनालसमेत सहभागी थिए ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %