आदिवासी जनजाति महिला आन्दोलनको औचित्य

Read Time:13 Minute, 8 Second
-इन्दिरा चोङबाङ

परम्परागतरुपमा हेर्ने हो भने आदिवासी जनजाति महिलाको अधिकार पुरुको भन्दा बढी थियो, यो समुदायमा महिला घरको मुली हुने गर्थे भने पुरुषले महिलालाई सम्मान गर्ने गर्थे । समयको परिवर्तनसँगै आदिवासी जनजाति महिलाहरुले आफ्नो परम्परागत अधिकार गुमाउँदै गए ।

आदिवासी जनजाति संगठनको आवश्यकता किन ?

आदिवासी जनजाति के हो ? यिनीहरु किन संघठित भएका छन् भन्ने प्रसंग धेरै पुरानो भए पनि अझसम्म यदाकदा किन र के का लागि आदिवासी जनजाति महिला भन्ने प्रश्न जनमानसमा धेरै नै पाइन्छ । कतिपयलाई यो शब्द भनेको महिलाको एकतालाई खलबलाउने तत्व हो भन्ने भ्रम पनि सिर्जना भएको छ ।

महिला आन्दोलनले यतिको उचाइ पार गरिसक्दा पनि आजसम्म महिला पुरुषबीचको असमानता हट्न सकेको छैन यो सर्वविधिदै छ । यो प्रसंगलाई सँगै जोड्दा आदिवासी जनजाति महिलाभित्रको पनि आदिवासी महिला भएका कारण दोहोरो मारमा परेका छन् । महिलालाई राज्यले जुन विभेद गरेको छ त्यस विभेदबाट बाहिर निस्कदा अन्य विभेद यथावत नै छ । त्यो हो आदिवासी जनजातिको पगरी ।

महिला अधिकारको कुरा गर्दा, महिलालाई समान राजनीतिक अधिकार, समान मानव अधिकार, रोजगारीमा समानता, नागरिकतामा अधिकार, शैक्षिक अधिकार र आर्थिक पहुँचमा महिला अधिकारको सन्दर्भ जोडिएका छन् । यी सवालहरु सम्पूर्ण महिलाका साझा मुद्दा हुन् । यधपी यी मुद्दामात्र सम्बोधन गर्दा आदिवासी जनजाति महिलाका जुन सांस्कृतिक र पहिचानको अधिकार छ त्यसलाई समेट्न सक्दैन ।

एक समयमा आदिवासी जनजाति महिलालाई परम्परागत शैलीबाट रक्सी उत्पादन गर्न निषेध गरिएको थियो, यो उनीहरुको मानव अधिकारको उल्लंघन हो । आज तिनै विषयसँग विश्वव्यापीकरण, निजीकरण र उदारीकरण प्रसंगहरु जोडिएका छन् जसकारण यिनीहरुको जन्मसिद्ध केही अधिकारहरु खोसिएका छन् भने यिनीहरुमा भएको प्रतिभा र कलाहरु लोप हुने अवस्थामा छन् ।

आदिवासी जनजाति भन्नाले आदिम समयदेखि नै आ–आफ्नो थातथलोमा रह“दै आएका, आफ्नै भाषा, संस्कार, संस्कृति र कला भएका जातिलाई बुझिन्छ । नेपालमा आदिवासी जनजाति महिलाको अधिकारको कुरो गर्दा उनीहरुको भाषिक अधिकार, सांस्कृतिक आधिकार, कला सीपको संरक्षण र सम्बद्र्धन गर्ने अधिकार पर्छ । जुन अन्य महिलाको मुद्दाभन्दा अलग छ ।

समान मुद्दाका सवालमा सम्पूर्ण महिलाहरु सहकार्य गरेर अघि बढिरहेका छन् भने जुन पृथक मुद्दाहरु छन् यसका लागि आदिवासी जनजाति महिलाहरु संगठित भएर लडिरहेका छन् । यो नेपालमा मात्र होइन अहिले विश्वमा नै द्रुत गतिमा अघि बढिरहेको छ । आदिवासी जनजाति महिलाहरु घरेलु सामानको प्रयोग गरेर विभिन्न सामग्रीहरु बनाउनमा निपुण छन्, जस्तै कपडा बनाउने, मर्चा बनाउने, जाँड, रक्सी बनाउने जस्ता सीप यिनीहरुसँग छ ।

आजको परिवर्तनशील समयमा विश्वव्यापीकरणका कारण मानिस ग्लोबल सिटिजन बनेका छन् । त्यस्तै विश्वका विकसित मुलुकबाट आधुनिक सामानको आयातबाट यी घरेलु उत्पादनका सामानहरु घरायसी भएका छन् । यसैकारण यी कला र सीपहरु लोप हुने अवस्थामा छन् । यतिमात्र होइन भाषा, संस्कार, संस्कृति यिनीहरुको सम्पति हो ।

आज विश्वमा नै रोजगारको लागि प्रतिस्पर्धा गर्ने समय भएकाले अन्तर्राष्ट्रिय भासाको प्रभावका कारण यिनीहरुको भाषा र संस्कार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । यी अमूल्य सम्पतिको जगेर्ना गर्ने जिम्मेवारी आदिवासी जनजाति महिलाका हुन् । यिनीहरुको सही रुपमा संरक्षण र सम्बद्र्धन गर्नु आजको आवश्यकता हो । यदि यो काम अहिलेदेखि भएन भने भोलि हामी को हौं, हाम्रा संस्कार र संस्कृति के हो ? भन्ने प्रश्नसँगै पहिचानको अन्त्य हुन सक्छ ।

यी पहिचानका मुद्दा आदिवासी जनजाति महिलाहरुसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यिनीहरु आदिवासी जनजाति महिलाका संगठनबाट मात्र सम्भव छ । यो प्रक्रिया नेपालमा मात्र नभएर विश्वकै आदिवासी जनजाति महिलाबाट भइरहेको छ । उदाहरणको लागि अहिले एसियाली मुलका आदिवासी जनजाति महिलाहरु ककस बनाएर अघि बढ्दै छन् । कतिपयको मनमा लग्न सक्छ परदेशमा रहेर यी मुद्दाहरु उठाइराख्न कुनै महत्व छैन, तर हामी स्वदेशमा या त विदेशमा जहा“ रहे पनि आफ्नो पहिचानलाई र आफ्नोपनलाई भुल्न मिल्दैन ।

स्वदेशमा भन्दा विदेशमा यी कुराहरु अझ महत्वपूर्ण देखिन्छ किनभने विदेशमा जब नयाँ सन्ततिहरु हुन्छन् उनीहरुलाई आफ्नो भाषा संस्कार र संस्कृति के हो भन्ने कुरो थाहा हुन्न, यदि उनीहरुलाई यी विषयमा ज्ञान दिन सकिएन भने यो अमूल्य सम्पति हराएर जान्छ । त्यो भनेको हाम्रो पहिचानको अन्त्य हुनु हो ।

त्यसैले जहा“ रहे पनि हामी आफ्नो मातृभूमिको इज्जत गर्छौ, आफ्नो इतिहासलाई बचाउन चाहन्छैा र हामी भोलिसम्म तिनै पहिचान कायम राख्न चाहन्छौं । यी अमूल्य सम्पतिहरुको सदुपयोग र संरक्षण गरेर उही नेपालका आदिवासी जनजाति हौं, लिम्बु हौं, तामाङ हौं, शेर्पा हौं, मगर हौं या अन्य जाति हौं भन्ने पहिचान सहित आफ्नो धर्म, संस्कार र संस्कृतिलाई निरन्तर बचाउन चाहन्छांै । यी महत्वपूर्ण पर्वहरुको संरक्षण गर्ने सवालमा पुरुषभन्दा महिलाको भूमिका प्रमुख देखिन्छ किनभने आमा नै सन्तानको पहिलो शिक्षिका हुन् । आफ्ना छोराछोरीलाई कस्तो संस्कार सिकाउने यसमा बाबुभन्दा आमाको भूमिका प्रमुख हुन्छ ।

त्यसैले यदि आजका आदिवासी जनजाति महिलाहरु आफ्नो मुद्दामा स्पस्ट छन् भनेमात्र यसको महत्वबारे सचेत हुन सक्छन् । आफ्नो सन्तानलाई त्यतैतिर डोर्याउन सफल हुन्छन् । यिनै उद्देश्यहरु लिएर अमेरिकाको न्युयोर्कमा रहेका आदिवासी जनजाति महिलाहरु संगठित भएका छन् । धेरैको मनमा उब्जिएको प्रश्न जस्तो यो संगठन यथावत रहेको संगठनको प्रतिस्पर्धामा उत्रिएको भने अवश्य होइन, न त महिला एकतालाई खलबलाउने प्रयास नै हो । माथि उल्लेख गरेभन्दा बढी आदिवासी जनजाति महिलालाई सशक्त बनाउन, अन्य महिला संगठनसँग सहकार्य गर्दै अघि बढ्ने तथा कल्याणकारी काम गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।

विश्वका आदिवासी जनजाति महिलाहरु

विभिन्न स्रोतले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विश्वमै आदिवासी जनजाति महिला दोहोरो विभेदमा परेका छन् । प्रथम विभेद एउटा महिला भएको नाताले समाज, परिवार र राज्यबाट भएको छ भने दोस्रो विभेद आदिवासी जनजाति भएकाले खेप्नुपरेको छ । विश्वमै यिनीहरुको अधिकारको उलंघन भएको छ । यिनीहरु निर्णायक तहमा पुग्न सकेका छैनन्, जमिनमाथिको अधिकार सुनिश्चित गरिएको छैन, उच्च शिक्षाको अवसरबाट बञ्चित छन्, घरेलु हिंसाबाट पिडित छन् भने असुरक्षित तवरले बच्चा पैदा गर्ने, ट्राफिकिङ र कमजोर स्वास्थ्य सेवा आदिबाट प्रताडित छन् । अहिले आएर यिनीहरु स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा संगठित भएका छन् ।

संयुक्त राष्ट्र संघमा पनि आदिवासी जनजाति महिलाको मुद्दालाई सन् १९९२ देखि सम्बोधन हुन थालेको छ । अहिले यो मुद्दा हेर्ने छुट्टै निकाय छ । त्यसैगरी विभिन्न देश र महादेशहरुमा आदिवासी जनजाति नेटवर्क र ककसहरुले आदिवासी जनजाति महिलाको मानव अधिकार संरण तथा हिंसालाई निराकरण गर्ने काम गर्दै आएका छन् ।

संयुक्त राष्ट्र संघले जारी गरेको आदिवासी जनजाति सम्बन्धी विभिन्न घोषणापत्रहरुमा आदिवासी जनजाति महिला अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख छ । सोही प्रतिवेदनअनुसार विश्वका आदिवासी जनजातिहरु आफ्नो हक र अधिकारका लागि सन् १९७० देखि आन्दोलित भएका हुन् । परम्परागतरुपमा हेर्ने हो भने आदिवासी जनजाति महिलाको अधिकार पुरुषको भन्दा बढी थियो, यो समुदायमा महिला घरको मुली हुने गर्थे भने पुरुषले महिलालाई सम्मान गर्ने गर्थे ।

समयको परिवर्तनसँगै आदिवासी जनजाति महिलाहरुले आफ्नो परम्परागत अधिकार गुमाउँदै गए । आदिवासी जनजातिहरु आफ्नो भूमिबाट विस्थापित भए भने उनीहरुले प्राकृतिक स्रोत र साधनमा भएको अधिकार पनि गुमाउँदै गए । यहीकारण आदिवासी जनजाति महिलाहरुले आफ्नो भएको अधिकार गुमाउँदै गए । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी मुद्दा हेर्ने निकाय UNPFII का अनुसार महिला विरुद्ध हुने सम्पूर्ण हिंसाको अन्त्य गर्ने महासन्धी सिडले पनि आदिवासी जनजाति महिलाको मुद्दालाई सम्बोधन गर्न सकेको छैन । उक्त महासन्धीमा यिनीहरुको मुद्दालाई सम्बोधन गर्नका लागि UNPFII ले सिफारिस गरेको छ ।

अहिले विश्वव्यापी रुपमा आदिवासी जनजाति महिला आफ्नो अधिकार सुनिश्चित गर्न एकतावद्ध भएका छन् । यसैको उपलब्धी स्वरुप विभिन्न देशमा यिनीहरुको हक अधिकार सुनिश्चित गर्ने आवाजहरु बुलन्द भएका छन् । यिनै प्रसंगलाई हेर्दा आदिवासी जनजाति महिलाहरु आफ्नो गुमेको अधिकारलाई स्थापित गर्न, अन्य नागरिक सरहको अधिकार सदुपयोग गर्न र विभिन्न तरहबाट भएको विभेदको अन्त्यको लागि जुटेका छन् । यो उनीहरुको मानव अधिकारको संरक्षणको लडाई हो ।

यसका लागि आजका सम्पूर्ण महिलाहरु सचेत हुनु छ तबमात्र सम्पूर्ण महिलाहरुमा सहकार्य सम्भव छ । इतिहास रच्नका लागि यिनै सहकार्य र सद्भाव नै आजको मुलमन्त्र हो ।

 

(लेखक आदिवासी जनजाति महिला महसंघ अमेरिकाकी महासचिव हुन् ।)

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %