२९ चैत,गैंडाकोट, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका अध्यक्ष कर्ण सुनारी मगरले एक कार्यक्रमका वीच राज्यले साँस्कृतिक विविधतालाई आत्मसात् गर्न नसक्नुले नै आज देश गम्भिर अवस्थामा गुज्री रहेको भनाई चिन्ता ब्याक्त गर्दे पुर्वाग्रही सोच भएका एकाधिकारबादीहरुले सविधान सभा रातरात विघटन गराई जनताको घाँटी निमोठेको आरोप लगाउनु भएको छ । यसको विरुद्ध नेपाली जनता एक जुट हुनु पर्ने बेला आएको र अब पहिचानको लडाईले मात्र देशले निकास पाउने वहाको ठहर थियो । गत चैत २९ गते विहिबार नेपाल मगर संघ गैंडाकोटको आयोजनामा भएको भयँर (भूमी) पुजा कार्यक्रम–२०६९मा प्रमुख आतिथ्यको रुपमा सम्बोधन गर्ने क्रममा सो कुरा वताउनु भएको हो ।
मगर समुदाय प्रकृति पुजक भएकोले रोग व्याधी केही नलागोस्, अन्नबाली, खेतीपाती, पशु पंक्षी,घर परिवार सबै आदि वस्तुहरु राम्रो होस भन्ने कामनाका साथ पुर्खादेखि नै मनाउदै आएको कुरा गैंडाकोट ५ निवासी अग्रज केयरसिं आले मगरले बताए । वहाको भनाई अनुसार भयँर पुजा विगत २०४५ साल देखि नै गर्दै आए पनि मगर युवाहरुको सक्रियतामा वि.स.२०५८ सालमा देऊसी भैलो खेली जम्मा भएको आर्थिक रकमबाट गैंडाकोट– ३, टाँटरीबास स्थित भयँर थान स्थापना गरी विधिवत रुपले गैंडाकोटका मगर समुदायले वर्षेनी सामुहिक रुपमा पुजा गर्दै आएको हो ।
संस्थाका अध्यक्ष शिवबहादुर पुन मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका सल्लाहकार रत्न राना मगरले मगर समुदायको भयँर पुजा र यसको औचित्यबारेमा छर्लङ्ग पार्नु भएको थियो । अतिथिहरुमा नेपाल मगर लेखक संघका महासचिव उजीर राना मगर, नेपाल आदिबासी जनजाति महासंघ गैंडाकोट गा.वि.स.समन्वय परिषदका महासचिव वृष राना मगर, ने.आ.ज.महिला महासंघ गैंडाकोटका अध्यक्ष सावित्री श्रेष्ठ,राष्ट्रिय जनमुक्ति पार्टी गैंडाकोटका अध्यक्ष चीनबहादुर सारु मगर,वरिष्ठ समाजसेवी गोपाल दर्लामी मगर यसैगरी नेपाल बौद्घ सेवा समाज नवलपरासीका जिल्ला सदस्य चेतबहादुर सारु मगर, मगरहाङ्ग परिषद नवलपरासीका उपाध्यक्ष तुलबहादुर सुनारी मगर एवं जातिय संघ संस्थाका अध्यक्ष ज्यूहरु लगायतका विशेष व्यक्तित्वहरुको उपस्थिती रहको थियो ।
कार्यक्रमलाई थप मनोरञ्जनका लागि कौरा, झयाउरे, आदि साँस्कृत्रिक पहिचान झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । विगतका वर्षहरुमा भन्दा यस वर्ष उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव रुमकुमार थापा मगरले गरेका थिए ।
–देवेन्द्र सारु मगर