राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्छ : नेकपा – माओवादीका महासचिव बादल

Read Time:3 Minute, 48 Second

 

विरोधकाबीच चुनावी सरकार गठन भएपछि अबको कदम के हो तपाईहरुको ?

-यो सरकार हाम्रो चाहनाको ठीक विपरित बनेको छ । अब हामी जनताको संविधान निर्माण गर्ने दिशातिर अघि बढ्छौं ।

कसरी ?

-त्यो हामीले पहिलेदेखि नै भनिरहेका छौं कि एउटा जनप्रतिनिधिहरुको सरकार हुनुपर्छ; राष्ट्रिय संयुक्त सरकार गठन हुनुपर्छ । त्यो सरकारले मात्रै जनताको संविधान निर्माण गर्ने पहल गर्न सक्छ । र त्यो पहलले नै जनताको अपेक्षाहरुलाई पूरा गर्न सक्छ भन्ने हो ।

तर त्यस्तो संभावना त तत्काल देखिन्न नि ?

-हो देखिदैन । त्यसकारण त्यस्को निम्ति संयुक्त आन्दोलन गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।

त्यो अन्दोलनसरकार विरुद्ध कि को विरुद्ध हुनेछ ?

-यो आन्दोलन सरकार विरुद्ध हुन्छ । राष्टपति विरुद्ध पनि हुन्छ । किनभने अहिले जुनकिसिमको  असंवैधानिक, अलोकतान्त्रिक कदम राष्ट्रपतिको माध्यमबाट उठाइएको छ; त्यो कदम जनविरोधी छ । राष्ट्रविरोधी छ । त्यस्ले चुनावको नौटंकी गर्ने योजना बनाएको छ । त्यो वास्तवमा जनतालाई संविधान दिने होइन कि जनताको अधिकारहरुलाई अझ बढी कुण्ठित गर्ने एउटा योजना मात्रै हो भन्ने हाम्रो ठम्याई हो ।

तर चुनाव भयो भने त कसरी त्यो नौटंकी होला त ?

-चुनाव हुने अहिले कुनै संभावना हामी देख्दैनौं । सुरक्षा निकायले पनि असारमा चुनाव संभव छैन भनेर भनिसकेको छ । र मंसिरमा पनि त्यो संभव छैन । अहिले असार या मंसिरमा चुनाव हुन्छ भनिराखिएको छ; ती दुवै जनता चुनावमा नआउने समयमा भनिएको छ । यस्ले के देखाउँछ भने चुनाव गर्नलाई चुनावको घोषणा गरिएको होइन, बरु नगर्नलाई चुनावको घोषणा गरिएको हो । विगतका घटनाहरुले पनि त्यस्लाई पुष्टि गर्दछ ।

अहिले चुनाव हुने वातावरण बन्यो भने चाँहि तपाईहरु के गर्नुहुन्छ ?

-होइन, वातावरण त्यस्बेला मात्रै बन्छ; जब यो सरकारको खारेजी हुन्छ । यो असंवैधानिक कदमहरुको खारेजी भयो भने बल्ल चुनावी वातावरण बन्छ । त्यो स्थितिमा चाँहि हामी चुनावका लागि तयार हुन्छौं । हामीले भनिराखेकै छौं राष्ट्रिय सरकारको मातहतमा नै संविधानसभाको र लोकतान्त्रिक विधिद्वारा जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो घोषित नीति नै हो ।

भनेपछि यो सरकारले गराउने चुनावमा भाग लिनुहुन्न ?

-त्यो त भाग लिने प्रश्नै हुँदैन । अहिले त यो असंवैधानिक कदम खारेज गर्नुपर्छ । अहिले आन्दोलन मुख्य प्रश्न हो । त्यस्कारणले यो चुनाव गराउनकै लागि होइन । चुनाव नै हुन्न भन्ने हाम्रो ठहर छ । कथमकदाचित हिजो पञ्चायतको जस्तो चुनाव भै हाल्ने भयोभने चाँहि त्यस्बेला सोच्ने छौं ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %