शीर्ष नेताहरुको बैठक सकारात्मक : प्रधानमन्त्री नेपाल

काठमाडौँ, २५ कात्तिक 

प्रधानमन्त्री माधवकुमार नेपालले तीनदलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई पूर्णता दिनेबारे प्रस्तुत भएका प्रस्तावहरु सकारात्मक भएको बताएकाछन्  ।

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुनुअघि आज पार्टी कार्यालय बल्खुमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री नेपालले प्रमुख राजनीतिक दलहरुबीच प्रस्तुत ती प्रस्तावहरुको व्यावहारिक कार्यान्वयनमा जोड दिए  ।

    गोकर्ण रिसोर्टमा हिजो भएको शीर्ष बैठकमा शान्ति प्रक्रियासम्बन्धी नयाँ प्रस्ताव आएको जानकारी दिँदै उहाँले आगामी २९ गते हुने शीर्ष नेताहरुको अर्को बैठकमा राजनीतिक निकासको सम्भावना रहेको बताए  ।

    नेकपा एमाले स्थायी कमिटीको बैठक पार्टी कार्यालय बल्खुमा मध्यान्ह १२ः३० देखि सुरु भएको छ ।

    प्रधानमन्त्री नेपाल भने कार्य व्यस्तताको कारण नेताहरुसँग अनौपचारिक छलफल गरी पार्टी कार्यालयबाट बाहिरिए ।

    आजको स्थायी समितिको बैठकमा मुलुकको वर्तमान गतिरोधको राजनीतिक निकासको सम्बन्धमा पार्टीेको आधिकारिक धारणा तय गरिने बुझिएको छ ।

 

 

रासस