९ मार्च/रियाद । नेपाल मगर संघ, साउदी अरबियाले पनि यहाँको समय अनुकुल मिलाई ८ मार्च, शुक्रबारको दिन दमाम शहरको एक होटेलमा मगर दिवस, मगरहरुको बिशेष दिन अथवा मगरहरु औपचारिक रुपमा संगठित भएको दिन “१५ फाल्गुन” मनायो । सघका कार्यबाहक अध्यक्ष श्री बाबुराम राना मगरको सभापतित्वमा सम्पन्न उक्त ३१ औ मगर दिवस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबियाका केन्द्रिय अध्यक्ष श्री हुम सुनारी मगरको प्रमुख आतिथ्यमा र गैर आवासिय नेपाली संघ, साउदीका अध्यक्ष श्री धरम केसीको बिशेष आतिथ्यमा मगर दिवस सम्पन्न भएको थियो ।
मगर दिवस कार्यक्रमका प्रमुख अथिति अथवा नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबियाका केन्द्रिय अध्यक्ष श्री हुम सुनारी मगरले मगर दिवस मनाउनुको कारण प्रस्ट्याउदै नेपालको सबै १८ लाख मगरहरुले आफ्नो खोसिएको अधिकार पुन: प्राप्तिको लागि देश बिदेशमा रहनु हुने सबै मगरहरु संगठित हुनु पर्ने धारणा राखेको थियो । मगर पुर्खाहरुले अंगिकार गर्दै आएको मगर समाजको लागि उपलब्धि मुलक संस्कारहरुलाई अबलम्बन गर्नु पर्ने र मगर समाजको हित बिपरित हुने केही कु-संस्कारहरुलाई त्यागेर सबै मगरहरु एकजुट भै अगाडी बढ्नु पर्ने अहिलेको प्रमुख आवश्यकता रहेको कुरा राख्नु भएको थियो ।
कार्यक्रमका बिशेष अतिथि तथा गैर आवासिय नेपाली संघ साउदीका अध्यक्ष श्री धरम केसीले नेपाली दूताबासका वर्तमान राजदूतको खुलेरै बिरोध गरेका थिए । राजदूत डेढ बर्ष अगाडी साउदी अरबिया आएर पाच लाख प्रवासी नेपालीहरुलाई जुन किसिमको आश्वासन दिनु भएको थियो, त्यो कुनै पनि अहिले सम्म पुरा गर्न नसकेको र सबै प्रवासी नेपालीहरुलाई रणभुल्लमा पारेको आरोप श्री धरम केसीले गर्नु भएको थियो ।
नेपाल मगर संघ, साउदी अरबियाका प्रबक्ता श्री जय आलेमगरको संयोजनमा आयोजित मगर दिवस कार्यक्रम संचालन संघका महासचिव श्री रुद्र सारुमगरले गरेका थिए । उक्त मगर दिवस कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा मगर संघ, साउदीका संस्थापक अध्यक्ष तथा निबर्तमान संरक्षक श्री बिष्णु थापा मगर, तमुधि साउदीका अध्यक्ष श्री ओम घले, नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति दमामका अध्यक्ष श्री राजेश सेन्देङ लिम्बु, महासंघ क्षेत्रीय समिति कै उपाध्यक्ष श्री याम बोम्जन लामा, जनजाति महासंघ केन्द्रिय समितिका केन्द्रिय महिला सदस्य श्रीमती कुमारी सुनारी मगर, रेमिट्यान्स कम्पनीका प्रतिनिधि श्री रुद्र कार्कीले मगरहरुको प्रगतिको कामना गर्दै आ-आफ्ना बिचारहरु ब्यक्त गरेका थिए ।
बिगतका बर्षहरुमा नेपाल मगर संघ साउदी अरबियाले नेपालबाट अर्थमन्त्री साथै केहि राष्ट्रिय कलाकारहरु झिकाएर मगर दिवस मनाउने गरेको र यस पटक केही प्राबिधिक कारणहरुले गर्दा साधारण किसिमले ३१ औ मगर दिवस मनाएको धारणा कार्यक्रमका सभापति श्री बाबुराम राना मगरले प्रस्ट पार्नु भएको थियो । कार्यक्रमको रोचक पक्ष राष्ट्रिय कलाकार तथा तमुधि साउदीका उपाध्यक्ष श्री तिलक गुरुंगले आफ्नो शुभकामना मन्तव्यको साथमा आफ्नो सुमधुर स्वरमा सबैको मन छुने राष्ट्रिय गीत सुनाएका थिए ।
साउदी अरबिया बाट हुम सुनारी मगर