काठमाडौँ, २५ कात्तिक
काठमाडौं जिल्ला प्रहरी कार्यालयले नक्कली नोटसहित नक्कली नोट बनाउन सक्रिय समूहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा बुङ्कोट घर भई हाल कीर्तिपुर बस्दै आएका तीर्थराज ढकाल र कीर्तिपुर ट्याङ्लाफाँट बस्ने विनोद वीर राय रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।
उनीहरुबाट प्रहरीले नक्कली रु एक हजार दरका एक थान, ५०० दरका १० थान, १०० दरका एक थान, नोट बनाउन प्रयोग गरिएका कम्प्युटर दुई थान र नोट छाप्न प्रयोग हुने प्रिन्टर एक थान बरामद गरेको छ ।
काठमाडौँ मलअगाडि यही कात्तिक १६ गते तीर्थराज ढकालले मेलिना श्रेष्ठको पसलबाट रु ५०० को नोट दिई टोपी खरिद गरेको र श्रेष्ठले नक्कली नोट भएको हल्ला गरेपछि ढकाल फरार भएका थिए ।
सोही सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग जनसेवा काठमाडौँबाट खटिएको प्रहरी टोलीले ढकाल र रायलाई पक्राउ गरेको हो ।
रासस