विनोद चैधरीको सफलता र गरिब देशको सुचि

Read Time:10 Minute, 16 Second

बलदीप प्रभाश्वर चामलिङ

पूँजिवादी मुलुक भनिएका युरोप तथा अमेरीकाको कुनै शहरको रेष्टुराँमा मालिक र मजदुर एउटै टेबुलमा बसेर संगै भोजन गरेको उदाहरण देख्न सकिन्छ । जुन गुणस्तरको खाना मालिकले खान्छ, त्यहि गुणस्तरको खाना उस्को मजदुरले पनि खान्छ । मालिकले त्यो भोजनको जति मुल्य तिर्छ त्यति नै उनको मजदुरले पनि तिर्न दक्षता राख्दछ । तर हाम्रो जस्तो देशमा उद्योग चलाउने मालिकले खाने चामलको गुणस्तर र उसकै उद्योगमा काम गर्ने मजदुरले खाने चामलको गुणस्तर विनिमय दक्षताको कारण तात्विक रुपले फरक पर्दछ । संगै बसेर खाने कुरा त परको कुरा हो ।

यहि भएर धनी देशहरुका मालिक र मजदुरबीचको सम्बन्ध सौहार्द हुन्छ । मालिक विश्वको धनी हुदा त्यसमा उस्को मजदुरहरुले पनि गौरानुभूति गर्दछन् ।  मजदुरहरुले मालिक विरुद्ध हतियार नै उठाउनु पर्छ भनेर हसिया र हथौडा अंकित झण्डा बोकिरहनु आवस्यक ठान्दैनन् । तर गरिब देशका मजदुर तथा जनताले मालिकले जतिसुकै प्रगति गरेतापनि  “ कागलाई बेल पाक्यो, हर्ष न विस्मत” भने झै महशुस गर्दछन् ।

नेपालका एक उद्यमी विनोद चौधरी  १३ सय ४२ औ स्थानमा विश्वको धनीको सुचिमा रहेको अमेरिकाबाट प्रकाशित हुने आर्थिक पत्रिका फोब्र्सले प्रकाशन गर्यो । यसले नेपालमा चौधरी नै धनी भएको कुरा प्रष्ट भयो । यो कुरा चौधरीलाई मात्र होईन् हामी नेपाली सबैलाई खुसीको कुरा हो । यसले नेपालको अन्तराष्ट्रिय चिनारी दिएको कुरालाई नकार्न हुदैन । चौधरीले त आफुले नोबेल पुरस्कार नै पाएको अनुभूति छापालाई दिए । कुनैपनि उद्यमीले यसरी सफलता पाउनु उस्को लागि खुसी र गौरवको कुरा नै हो । आफुले हात हालेको क्षेत्रमा सफतापाएको हर्ष हो यो । किन की कुनै पनि व्यपारी तथा व्यवसायीको लक्ष्य भनेकै आफु धनी नै हुनु हो ।

तर उनको यो सफलतालाई यो देशका मजदुर, किसान र सामान्य जनताले कसरी लिएका छन् ? यो प्रश्न प्रमुख कुरा हो । अरु छाडि दिऔ, साहुको ऋण बोकेर उनकै उद्योगमा काम गर्ने मजदुरहरुले यसमा गौवानुभूति गरेका छन् कि छैनन् ? दुरदराजमा मलको अभावसंगै वर्षभरि खान नपुग्ने खेति गर्ने ति गरिव किसानले यो समाचार सुनेका छन् कि छैन ? विहान बेलुका हातमुख जोर्नपनि धौधौ औसत नेपालीलाई यो समाचारले राहत दियो कि दिएन ? सडकको पेटीमा बसेर मकै पोल्ने आमाहरुले, नाङ्लोमा खैनी चुरोट बेच्ने चेलीहरुले, पुलिसको लाठिसंग पैठेजोरी खेल्दै मजबुरीले फुटपाथमा सामान बेच्नेहरुले, ठमेल असनमा ठेला रिक्सा तान्नेहरुले र थोरै ज्यालामा भारी बोक्ने  दाजुभाईहरुले विनोद चौधरी विश्वको धनीहरु मध्य एक भयो रे भन्ने समाचार सुने कि सुनेन् ? सुने भने उनिहरुले कसरी गौरव गरे होलान् ? एउटा गरिब र अर्को धनीको मनोविज्ञान बुझ्न अरु कुनै ठाउ जानु परेन, हामीले नै साक्षतकार गरिरहेका छौ ।

चौधरी विश्वका धनीहरुको सुचिमा परिरहदा उनको देश भने अझै गरिव देशको सुचिमा नै छ । देशमा चरम वेरोजगार छ । अधिकांश जनताको आय निम्न स्तर छ । आर्थिक व्यवस्थापन डामाडोल छ । राजनैतिक स्थिरता छैन । युवा विदेशीनु परेको अवस्था छ । एक तवरले हेर्दा नेपालको आन्तरिक अवस्था ज्यादै नाजुक छ । यद्यपि, चौधरी विश्वका धनीहरुमा गनिन पुगे । तर उनको देशले फड्को मार्न सकेको छैन । जो सुकैको पनि आधार भनेको उस्को समाज र देश नै हो । कामजोर आधार जगमा आकासिएको महलको प्रकृति कस्तो होला ? दरिद्र समाज भएको परिवेशमा व्यक्ति धनी हुनुले के महत्व राख्छ ? खाएर जमाएको धन र नखाई जमाएको धनमा के फरक होला ?

आज समाजवादी आखाबाट हेर्न आवस्यक छ । समाजवाद भन्ने वितिकै त्यो कम्युनिष्टहरुको कार्यक्रम जस्तो लाग्छ । तर त्यो होईन । समाजवाद भनेको आर्थिक प्रतिफलको राज्यकरण होईन, समाजिककरण हो । यो बेला राज्यले हस्तक्षेपकारी भूमिका नअपनाएर सहजकर्ताको भूमिका मात्र निभाउन् । पश्चिमा मुलुकलाई पूजिवादी मुलुक भनिएको छ । तर यो आरोप राजनीतिक मात्र हो । वास्तवमा ति मुलुकहरुमा व्यवहारमा सामाजवादी कार्यक्रम नै छ । भएको श्रोतसाधान सामाजिककरण गर्दैछन् । राज्यमा भएको श्रोतसाधनको उत्पादन र वितरण जनता तथा समाजको पहुचमा पु¥याउने आर्थिक नीतिहरु अवलम्बन गरिएको छ । फ्रान्सले त संविधानमै आफुलाई समाजवादी मुलुक भनेको छ । बेलायतमा पनि लेबर पार्टीका नेताहरु आफुलाई समाजवादी नै भन्दै आएको छ । जसरी भएपनि आर्थिक प्रतिफल समाजका जनताहरुको हातसम्म पुग्नु पर्छ भन्ने मौलिक अवधारणा नै हो समाजवाद । समाजवादमा कमसेकम न्युनतम आधारभूत आर्थिक आवस्यकता पुरा भएको हुन्छ । यस्तो अवस्थामा कुनै व्यक्ति राज्यलाई प्रगतिशील कर तिर्दै विश्वको धनी हुदा त्यहाका श्रमीक मजदुरले गौरवको अनुभूति गर्दछ । किनकी त्यहा सबै अघाएको हुन्छ ।

पूजिवाद व्यक्ति नाफाले चलायमान रहन्छ । त्यहा श्रमीकहरुको शोषण हुन्छ । धनी झन धनी हुने र गरिव झन गरिब हुने अवस्था हुन्छ । यसले धनी र गरिवबीच द्वेष श्रृजना गरेको हुन्छ । उक्त पत्रिकाले अमेरिकी डलर एक अर्ब चौधरीसंग सम्पति भएको घोषण गरेको छ ।  लगभग ५ बर्ष अगाडि ५० करोड अमेरिकी डलर थियो भनेका छन् । यत्रो छोटो समय अवधिमा उनले नाटकीय रुपमा थप ५० करोड कमाएर १ अर्ब बनाउनु भनेको ठुलो नाफा हो । यो यसले नै पूजिवादको चरित्र प्रष्ट्याएका छन् ।  त्यो नाफा सृजना गर्न उनको श्रमिकहरुको श्रम अवस्य प्रयोग भएको छ । भलै उनले श्रमको मूल्य तिरेता पनि ।

एउटा व्यक्ति धनी हुन तथा देशको सम्पन्नताको लागि उनै गरिब मजदुर, किसान र श्रमीकहरुको कति हात हुन्छ भन्ने कुरा विश्वका प्रख्यात लेखक म्याक्सिम गोर्कीको “आमा” उपन्यास हेरे हुन्छ । सो उपन्यासमा एक श्रमिक मुख्यपात्र पाभेलले यसो भन्छ, “ साथीहरु हो, हामी त्यस्तो जनता हौ कि हामीले  चर्च र फ्याक्ट्री बनायौ । हामीलाई नै बाध्ने  साङलाहरु हामीले नै बनाएका हौ, हामीले नै सिक्का रुपैया कुँद्छौ । हामी त्यस्तो जीवित शक्ति हौ जस्ले नै यो संसारलाई कोक्रादेखि चिहानसम्म खुवाएका छौ र मोजमस्ती दिलाएका छौ….हामी काममा अगाडि तर जीवनमा पछाडि छौ । तर हामीलाई कस्ले ख्याल गर्ने र कस्ले हामीलाई स्यावास भन्ने ।

” हो, तिनै श्रमिकहरु हुन जस्ले विनोद चौधरी बनाए । त्यसको लागि ति श्रमिकहरु हार्दिक कृतज्ञताको पात्रहरु अवस्य हो । तिनको उद्योगको वस्तुको उपभोग गरिदिने तिनै औसत नेपाली नै हुन । साहुको ऋण काढेर भएपनि जीविका धान्नेहरु नै उनको बजारको क्रेता हुन । यसको बदलामा देशले पक्कैपनि विनोद चौधरीबाट अपेक्षा राखेको छ । तिनको लागानी यहि देशमा हुनुपर्छ । तिनको बैक व्यालेन्स यहि देशमा हुनुपर्दछ । तिनको पूजी यहि देशका कुना कन्दरा पाखा भित्तामा सिंचित हुनुपर्दछ । नेपालका हरेक भाग छुने बाटो घाटोले, तिर्खाएको खेतवारीले, जढिबुटिले र नदीनालाहरुले विनोद चौधरीको पूजि र प्रवृधिलाई पर्खेर बसेका छन् । त्यो खाली धनि हुन मात्र उक्साउने विदेशी “फोब्र्स” पत्रिकामा नाम निकाल्नु भन्दा विकासको अवतार लिएर यहि देशको धरतीका पानाहरुमा विनोद चौधरी भएर सुचिकृत हुनु नै तीन करोड नेपालीको शान हो । 

raibaldeep@gmail.com

समाप्त

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %