राजकुमार लेखी थारू ,(अध्यक्ष) आदिवासी जनजाति महासंघ

देश अहिले राजनितिक संकटको सामना गर्दै छ । शीर्ष ४ राजनितिक दलका केहि सिमित नेताहरूको अनुयायीमा न्यायपालिकाको प्रमुखलाईनै चुनावी सरकारको प्रमुख बनाउने संविधान विपरित रहेतापनि शीर्ष राजनितिक दलहरू जसको हाथमा लाठी उसैको भैसी भने जस्तै चरित्र देखाईरहेका छन् । तर यि क्रियाकलापहरू लोकतन्त्र पक्षमा नरहेको नेपाल आदिवासी जनजाती महासंघ तथा नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखी थारूको ठम्याई छ । एक कार्यक्रमका लागि बुटवल आउनु भएका लेखी संग देशको वर्तमान अवस्था र देशले राजनितिक जटिलतालाई फुकाएर निकाशतर्फ अगि बढनका लागि उपायबारे पवन गुरूङ्गले गरेको संक्षिप्त कुराकानी :
– १. एमाओवादीको हेटैडा महाधिवेशन सकिनु भन्दा अगि अध्यक्ष प्रचण्डले न्यायप्रमुखलाई चुनावी सरकारको प्रमुख बनाउने प्रस्तावमा अहिले रेग्मीले केहि शर्तहरू राखेतापनि अन्तः कार्य प्रमुख बन्ने राजी भएको देखिन्छ । महासंघको अध्यक्षको रूपमा समग्र अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– एमाओवादी अध्यक्ष प्रचण्डको रेग्मी प्रस्ताव र सो प्रस्तावलाई समर्थन जनाईरहेका शीर्ष अन्य दलहरूको निर्णयनै असम्वैधानिक, नेपालको अन्तरिम संविधान र नियमविपरित छ । त्यसैले खिलराज रेग्मीको नेतृत्वलाई कुनैपनि हालतमा हामी स्वीकार गर्ने छैनौं ।
२. त्यसो हो भने शीर्ष ४ राजनितिक दलले गरेको निर्णयको पक्षमा हुनुहुन्न ?
– सर्वप्रथम देशले राजनितिक संकटबाट निकाश पाउन शीर्ष ४ दलमात्र नभई सबै पार्टीको सहमतिमा कुनै निर्णयमा पुग्न सकिन्छ । अलिसम्मका निर्णयहरू निष्पक्ष छैनन् । हाम्रो देश लोकतन्त्रीक भईसकेको छ । लोकतन्त्र भएको देशमा ४ दलहरू असफल भयो भन्दैमा सबै राजनितिक दलहरू या देश असफल भएको त होईन । त्यसैले रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने षडयन्त्र अन्तरिम संविधान विपरित छ । फेरिपनि रेग्मी प्रस्तावलाई अन्तिम रूप दिनेको ५ मिनट पूर्वसम्म यो मनसाय पुराहुने अवस्था मैले देख्दिन ।
३. नेपालको अन्तरिम संविधानमै व्यवस्था नभएको प्रस्तावलाई शीर्षदलहरूले प्राथमिकतामा राख्नुको पछाडि के कारण देख्नु हुन्छ ?
– यो त शीर्ष राजनितिक दलहरूको चुनाव नगर्ने षडयन्त्र मात्रै हो । यी शीर्ष ४ राजनितिक दलहरू स्वयं चुनाव गर्न चाहदैनन् । बाहिर झगडा गरे जस्तो गर्छन तर आन्तरिक रूपमा मिलेका छन् । त्यसैले तत्काल चुनाव हुने कुनै सम्भावना देख्दिन् । आगामी दिनमा चुनाव हुन्छ भन्ने कुरामा पनि मलाई शंका छ । र देश अहिले जुन दिशानिर्देश तर्फ अगि बढिरहेको छ त्यसको कुनै दीर्घकालीन राजनितिक स्थिरता नेपाली जनताले पाउनै सक्दैन् ।
४. रेग्मीले चुनावी सरकारको नेतृत्व सम्हाले पनि जेठ महिनामा चुनाव गर्न सक्ने सम्भावना छैन् तर मंसिरमा हुने प्रवल सम्भावना रहेको शीर्ष राजनितिक दलहरूको ठम्याई छ । चुनाव भए तपाईको नागरिक पार्टीले सहभागिता जनाउछ कि जनाउदैन् ?
– सर्वप्रथम त यो निणयनै प्रतिगमन, तानाशाही र अन्तरिम संविधानलाई समाप्त पार्ने खोजिएको छ । त्यसैले कुनै हालतमा मंसिरमा पनि चुनाव हुदैन् । त्यसैगरि आन्तरिक मुद्दाहरू जस्तै जनमुक्तिको सेना समायोजन, कर्णेल लामा प्रकरण,पत्रकार डेकेन्द्र थापाको हत्याको विषय टुंग्याउन बाकीनै छ । साथै हामीले ३ वटा विकल्प अगि सारेका छौं – संविधान सभाको पुर्नःस्थापना गर्ने , सर्वपक्षीय सर्वदलीय गोलमेच सरकारको निर्माण गर्ने वा सबै साना ठुला दलहरूको छलफल सहमति र सहकार्यमा संविधान सभाको निर्वाचन गर्ने । यी विकल्पले नेपालको अन्तरिम संविधानलाई पनि बचाएर राख्छ, सबै राजनितिक पार्टीको सहमति रहन्छ र नेपाली जनताले राहत पाउन सक्छ ।
५. प्रसंग बदलौं, केहि महिना अगि सम्म अशोक राई, पासाङ शेर्पा लगायत तपाई पनि आदिवासी जनजातीको हक र अधिकारका लागि अब नयाँ पार्टी खोल्नु पर्छ भनि सो अभियानमा लाग्नु भएको थियो । तर, तपाई, पृथ्वी सुब्बा गुरूङ्ग लगायत पछि हटनु भयो नि ? किन ?
– म पछि हटेको होईन् । पत्रपत्रिकामा समाचार पात्रको विषय नबनेको भएर त्यसो लाग्दो होला । तर आदिवासी जनजातिको हक अधिकारका लागि म विगतका दिनहरूमा लडिरहेको थिए, लडिरहेको छु र निरन्तर लडिरहने छु । र प्रसंग नयाँ पार्टी खोल्नेको कुरा । हामी कुनै जातीय पार्टी खोल्ने भनेका थिएनौं र बनाउनु पनि हुदैनौं । कुनैपनि पार्टी जाति विशेषको पार्टी हुदैंन । हामीले सो अभियानलाई निरन्तरता दिनुको अर्थ र उद्धेश्य अहिलेको अवस्थामा रहेको राजनितिक पार्टीको विकल्पको रूपमा एउटा विकराल नयाँ जनशक्ति पार्टीको खाचो रहेको महसुस गर्यौं जसले आदिवासी जनजातिको हक र अधिकारलाई प्राथमिकतामा राख्ने भनेका थियौ र यो अभियान अहिले पनि जारी छ ।
६. अभियान जारी छ भन्नु भयो, त्यसो भए कस्तो प्रक्रियालाई अपनाई अगि बढदै हुनुहुन्छ ?
– हामी सचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं । युवा परिचालन गर्नु पर्छ भन्ने सोचमा छौं र कार्ययोजनाहरूलाई निरन्तरता दिईरहेका छौं । अहिलेपनि विकल्पका रूपमा नयाँ शक्ति आवश्यक रहेकोले आन्तरिक रूपमा सो अभियानलाई निरन्तरता दिई रहेका छौं ।
७.अन्त्यमा, देशले राजनितिक अस्थिरताको समस्या भोगिरहेको लगभग ५ वर्ष पुगिसक्यो । फेरिपनि देशले न त संविधान पाउन सकेको छ, न त राजनितिक स्थिरता, विकाश, न त आगामी चुनाव हुन्छ-हुन्न , कुनै निदो छैन् । तपाईको बुझाईमा कुन प्रक्रियाबाट गए देशले यी समस्याहरूबाट छिटो निकाश पाउन सक्छ ?
– देशले आर्थिक र सामाजिक विकाश गर्नका लागि सर्वप्रथम देशमा सुख शान्ति, स्थिरता लागु हुनु पर्छ तर देशमा अहिले राजनितिक जटिलता दिनबदिन बडिरहेका कारण यसबाट निकाश पाउनका लागि सबै पार्टीको सहमतिमा संविधान सभाबाटनै संविधान लागु गर्नु पर्छ । किनकि यो प्रक्रिया लोकतन्त्रवादी प्रक्रिया हो । संविधान सभाको पुर्नःस्थापना गरेर हुन्छ वा सबैको सहमतिमा नयाँ संविधान सभाको चुनाव गरेर नयाँ संविधान लागु गरेर ।
