विराटनगर, २४ कात्तिक
रातो रङ्गको पल्सर मोटरसाइकलमा आएका दुई अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी यहाँका एक औषधि व्यवसायीको हत्या गरेको छ ।
गएराति औषधि पसल बन्द गरी घरतर्फ फर्किरहेको विराटनगर–११ का स्थानीय बासिन्दा ४५ वर्षीय सुरेश मण्डलको गोली प्रहारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
विराटनगरको न्यूरो अस्पतालबाट औषधि पसल बन्द गरी घरतर्फ जान लाग्दा बुद्धचोकमा एक्कासि पछाडिबाट मोटरसाइकलमा आएकाले मण्डलको पेट, तिघ्रा, पिठिउँ तथा हातमा सात राउन्ड गोली प्रहार गरी घाइते बनाएको थियो ।
गम्भीर घाइते मण्डललाई स्थानीय युवाहरूले न्यूरो अस्पतालमा लगेको र त्यहाँ उनको मृत्यु भएको बताइएको छ ।
निजका पारिवारिक स्रोतका अनुसार व्यवसायी मण्डलमाथि यो तेस्रो आक्रमण भएको हो । पारिवारिक झगडाका कारण आक्रमण भएको अनुमान रहेको छ ।
रासस