मुक काजी गुरुङ
हङकङ ११ फेब्रुवरी २०१३ का दिन जोर्डनस्थित ईण्डिया क्लबमा भिरकोट आठ्थर तमु समाजले ढिलै भएपनि तमुहरुको महान पर्व सप्री ल्होसारू एक भेटघाट तथा रात्री भोजको आयोजना गरि सम्पन्न गरेको छ। हरेक बर्ष समाजको वार्षिक भेटघाट तथा ल्होसार पर्व बाहिरिया रुपमा(आउट डोरमा)मनाउंदै आएकोमा यस पटकको ल्होसार पर्व भने (ईनडोरमा) सम्पन्न गरेको छ। बेलुकाको ७ बजेदेखि नै भिरकोट आठ्थर रामबाच्छा सेरोफेरोबाट हङकङ आई बसोबास गरिरहेका भिरकोटबासीहरुको आगमन शुरु भएको थियो भने मध्यरातको १ बजे सम्म यसले अन्तिम रुप लिएको थियो।
पहिलो चरणको खानपान पश्चात केहि समयको लागि कार्यक्रमलाई औपचारिक तर्फ लगिएको थियो। भिरकोट आठ्थर तमु समाजका अध्यक्ष मन बहादुर तमुको अध्यक्षतामा र नेपालबाट निजी भ्रमणमा हङकङ आउंनु भएका समाजकै सदस्य औमती तमुको पूज्यनिया पिता कृष्ण तमुको प्रमुख अतिथ्यामा औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । समाजकै सल्लाहकार तथा आमा समूहका प्रमुख क्रमश चेत बहादुर तमु, टिला(मोहन) तमु र नुन माया तमुलाई पनि मञ्चमा आसन ग्रहण गराएका थिए।
समाजकै उपाध्यक्ष चौ तमुको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रमलाई सचिव डिल कुमार तमुले सञ्चालन गरेका थिए। यसै क्रममा नेपालबाट निजी भ्रमणमा आउंनु भएका प्रमुख अतिथि कृष्ण बहादुर तमुलाई र वहांको धर्म पत्नीलाई समाजकै अध्यक्ष मन बहादुर तमुले खादा लगाई सम्मान गरेका थिए । कार्यक्रममा प्रायोजक दाताहरु समाजकै अध्यक्ष मन बहादुर तमुको धर्मपत्नी र सल्लाहकार चेत बहादुर तमुलाई प्रमुख अतिथि कृष्ण बहादुर तमु र मन बहादुर तमुले खादा लगाई सम्मान गरे। यसै गरि अर्का सल्लाहकार टिला (मोहन) तमु र मुक काजी तमु लगायत आमा समूहका अध्यक्ष नुन माया तमु साथै सदस्य खेम कुमार तमुलाई पनि समाज प्रति बिशेष योग्दान पुर्याए वापत अध्यक्षद्वारा खादा लगाई सम्मान गरे।
अन्तमा, अध्यक्ष मन बहादुर तमुले उपस्थित सम्पूर्ण भिरकोट आठ्थर तमु बासीहरुलाई ढिलै भए पनि सप्री ल्होसारको शुभकामना ब्यक्त गर्दै तमु समाज नामङ्करण गर्नुको बारेमा सबैले बुझ्नु पर्ने बताए र सबैले आफ्नो धर्म,संस्कार,संस्कृति,रितिरिवाज तथा भाषा एवं भेषभूषाको पनि जगेर्ना गर्नु पर्ने भन्दै जोड दिए। यसैगरि समाजको जुनसुकै कार्यक्रममा कार्यसमितिका सदस्यहरुले गरेको योग्दानप्रति धन्यवाद ब्यक्त गरे। साथै नेपालबाट निजी भ्रमणमा हङकङ आउंनु भएका सदस्य औमति तमुको माता-पिताको हङकङ भ्रमण सुखमय अनि सफल रहोस भन्दै शुभकामना ब्यक्त गर्दै औपचारिक कार्यक्रमलाई समापन गरेका थिए।
तमुहरुको महान पर्व ल्होसारकै अवसरमा गरिएको कार्यक्रम भएर नै होला उपस्थित अधिकांश पुरुष तथा महिलाहरुले आफ्नै जातीय तमु पोशाक पहिरिएका थिए। जसले गर्दा स्वदेशमा मात्रै नभएर प्रवासमा पनि तमु जातीहरुले आफ्नो भाषा,संस्कार,संस्कृति,परम्परा मात्रै नभएर भेषभूषाको पनि जगेर्ना गरेको सहर्षै देख्न सकिन्थ्यो। अन्तमा, खानपानको लगतै केहि समयको नाचगान पश्चात कार्यक्रमले अन्तिम रुप लिएको थियो भने त्यस दिनको उपस्थिति भने सोंचेको भन्दा बढी मात्रामा रहेको पाइयो।