देश सुब्बा
नित्सेको ईश्वरको मृत्यु, रोलाँ बार्टको लेखकको मृत्यु, फुकुयामाको इतिहासको अन्त्य,ल्योतारको महाख्यानको अन्त्य, केन्द्रको अन्त्य, यसैलाई जोडेर मैले भरखरै एउटा रेडियो अन्तरवार्तामा बाहुनवादको अन्त्य भने, कसैले आज नभए भोलि भन्ला । सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहेको बेला सम्झे ठीक बोलेकी बेठीक । सुन्ने बित्तिकै पाठकलाई लाग्न सक्छ कति उग्र भनाइ । यथास्थिति समाजलाई अमान्य हुन सक्छ । युरोपलाई अन्धकार युगमा राखेर धर्मले बेरिरहेको बेला दार्शनिक रेने डेकात्र्तले दर्शनलाई जब धर्मको पञ्जाबाट छुटाए, त्यतिखेर पनि उसको विरोधमा यथास्थिति आवाज उठेको थियो । चाल्र्स डार्विनले ‘विकासवाद’को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रनथनिएका थिए । ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ । नेपालमा पनि धेरै यथास्थितिवादीहरू छन् । इण्ड अफ बाहुनिज्मले उनीहरूलाई रन्थाउन सक्छ । के रन्थनाउँछ भनेर डेकात्र्त, डार्विन चुप बसेको भए संसार नयाँ अर्थबाट बुझ्न सकिन्थ्यो ? अवश्य सकिन्दैथ्यो । त्यसो भने किन दुरगामी महत्व राख्ने बाहुनवादको अन्त्यको कुरा नगर्ने ? हाम्रा समालोचकहरूलाई पाश्च्यत्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो । आफ्नै देशमा वर्षौदेखि जेलिएको जालो बोल्न, लेख्न समालोचना गर्न किन सास जालाजस्तो । अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो । केन्द्रहीनता भैसक्यो । मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ । मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ, कुनै कालखण्डमा उम्रिएको समाजको कुसंस्कार, अन्धविस्वास, रुढि ठानेँ । यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिवर छन् । यस्तो भत्काउन उता आए संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण । थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने ‘सबल्टर्न स्टडीज’ आयो रणजीत गुहाको नेतृत्वमा ।
मैले ‘अपमान’ उपन्यासलाई पाठकको कठघरामा उभ्याएँ । के यसको अपराध इण्ड अफ बाहुनिज्म हो ? त्यो बाहुनवादले एउटा घरेलु सर्पजस्तै लिम्बू, राई, गुरुङ्ग, मगर, सेर्पा, मधेसे, पहाड, लिम्बुवान, खम्बुवान, पूर्वपश्चिम सबैतिर डसिरहेको छ । आपूmभन्दा कमजोर, निरीह, दुर्बल, नारी, तेस्रो लिङ्गी, आदिवासी, जनजाति, उत्पीडित जाती, बाहुन, क्षेत्री सबैमा । जातको उपजातभित्र पसेर डसिरहेको छ, संस्कार, स्वतन्त्रता, न्याय, अधिकार सबै । लिम्बूराईले, दलित जातीलाई, बाहुनहरूले आफ्नै बाहुनहरूलाई । सबैले उत्पीडित र नारीहरूलाई । दलित जातिभित्र पनि छ ‘तँ सानो, तँ पानी नचल्ने । छुवाछुत ।” बाहुनवाद लिम्बूको सुनौलीरुपौली, जार उठाउने र गैर लिम्बूमा दाउजो प्रथामा आइरहेको छ । छोरीचेलीलाई र ब्राह्मणभन्दा अन्य जातिलाई लेख्नपढ्न नदिने प्रचलन हुँदै आएको छ । राई लिम्बू, गुरुङ्ग, मगरको गाउँमा आफूजस्तै मान्छेलाई सानो जात भनेर पढ्न, लेख्न नदिने, मन्दिर पस्ने नदिने, पानी थाप्न नदिने संस्कारमा आइरहेको छ । हिन्दूलाई नै हिन्दूले रामायण, महाभारत, वेदजस्ता ज्ञानगुणका पुस्तक पढ्न नदिने प्रचलनमा । पाश्चत्य साहित्य समालोचनामा ठेलीका ठेली पुस्तक लेखेर आफूलाई उम्दा साहित्यकार, समालोचक ठान्ने साहित्यिक गुरुहरूको समालोचनामा किन परेन, अनिता चमार, किन परेन गोल्छे सार्की, मान बहादुर विश्वकर्माको भेदभावपूर्ण जीवन । सधैं पाश्चत्य अर्थ र भनाइ ल्याएर वाचल हुने पण्डित्याइको अन्त्य हुनुपर्दछ । मैले बोलेको बाहुनवादको अन्त्य ती सबै विचार, व्यवहार, कुसंस्कार, अन्धविस्वास, साहित्य विलासी, रुढिको विरुद्धमा हो । मैले लेखेको अपमान नयाँ नेपालको पूर्व परिकल्पना हो । कुनै व्यक्ति, जाति विशेषलाई अपमान गर्नु होइन । कसैले गल्ती गरेको देखाउनु अपमान हुँदैन, सम्मान हुन्छ । म ऐतिहासिक गल्तीलाई सच्चाउन खोजिरहेको छु ।
डिस्को, म्याक्डोनाल्ड, केएफसीजस्तै स्वादिष्ट भनाइ ल्याएर साहित्य गर्ने नामी साहित्यकारहरूको हालीमुहाली छ नेपालमा । खोइ बाहुनवादको अन्त्य लेख्ने सहासी साहित्यकारहरू, समालोचक, पत्रकारहरू । सबै बेलायती समालोचक म्याथ्यु आर्नोल्ड मात्र छन् —कथित उच्च वर्गका लेखक, समालोचक, पत्रकार, पाठक, शिक्षक, विद्यार्थीको पक्षधर । साहित्य कस्तो हुनुपर्छ भन्ने बारेमा उसले भनेका थिए, “उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ ।” कस्तो साहित्यलाई उत्तम मान्ने बारेमा उदाहरण दिदै भने, “कुन साहित्यिक कृति उत्तम छ भनेर बुझ्न केही ‘टचस्टोन’ अथवा छानिएका, मानिएका ‘राम्रा’ साहित्यिक कृति । सेक्सपियर, वड्र्सवर्थ, किट्स आदि जस्ता प्रख्यात लेखकका कृतिलाई मापदण्डको रूपमा लिइनुपर्छ । त्यस्ता कृतिले ‘टचस्टोन’ वा मापदण्डको काम गर्छन् । कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बुझ्न ती कृतिलाई ती विश्वप्रसिद्ध ‘टचस्टोन’ सँग तुलना गरेर हेर्नुपर्छ । यदि ती नयाँ कृतिले पनि ती पुराना ‘टचस्टोन’हरूझैँ अनुभूतिको गहिराइ वा शब्द संयोजनको सौन्दर्यशास्त्रलाई प्रतिबिम्बित गरेका छन् भने भन्न सकिन्छ—हो, यी नयाँ कृति पनि उत्तम साहित्यिक र सांस्कृतिक कृति हुन् ।” के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए ? नेपाली साहित्य सधैं यही धारले चल्छ ? कि बाहुनवाद अमर पक्ष हो ? कुनै पनि दिन सबल्टर्न, दलित, उत्पीडित, मधेसे, आदिवासी जनजाति, नारीको पक्षधर रेमण्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबल्टर्न स्टडीज आउँदैन ? कि डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना आउँदैन ? आउँछ अवश्य समयको उड्ने घोडामा चढेर । बेलायतमा पनि आयो । बेलायती माक्र्सवादी विचारक रेमण्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने—आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ । के सेक्सपियर, किट्स, वड्र्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन् ? अनि के विश्वविद्यालयका पाठ्यक्रममा पढाइने ती ‘प्रख्यात’ लेखकका रचना पनि प्रायजसो उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन् ? मजदुर तथा किसानलगायतका अन्य वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता ‘उच्च साहित्य’का भागमा हुनै सक्दैनन् ?” सेक्सपिएर कै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य ‘टचस्टोन’ हुँदैन । किनभने उनीहरूसित पढ्ने विद्यार्थी, पढाउने शिक्षक, समाचार दिने पत्रकार, समालोचना गर्ने समालोचक केही पनि छैन । समयले कोल्टे फेरेको परिवेशमा लेखन, विचारले नेपाली साहित्यमा उत्तरसंरचना, विनिर्माण, सबल्टर्न, दलित, उत्पीडित, मधेसे, आदिवासी जनजाति र बाहुनवादको उत्तर संरचना गर्ने कि नगर्ने ? कि रेमण्ड विलियमहरू सदाको लागि मरिसके ?
नेपाली साहित्यमा माओवादी राजनीति, विचार नीतिको जन्म हुन अगाडि वि.सं. २०५२ देखि जातीय सवाल, संघीयताको धारणा, गणतन्त्रको वकालत गर्ने उत्तर नेपाली साहित्य ‘अपमान’ आयो । अपमानले वर्षौदेखि चलिआएको बाहुनवादमा भएको कुसँस्कार, कुरीति, अन्धविस्वास, रुढिवादीलाई उल्टाउने ठूलो सहास गर्यो । नेपाली समाज, राजनीति, धर्मसँस्कार सबैतिर यो यति विघ्न विस्तार भएकोछ, न यसको जरा काटेर हुन्छ न हाँगाबिगा । यो जति फैलियो उति नै विष हुन्छ समाजमा । यो कुनै व्यक्ति विशेषको आनुवंशिता पनि होइन । जसले यसमा अंश दाबी गर्छ उसलाई पनि यसले भस्म बनाउँछ । समाजमा यस्तो हानिकारक भस्मे राख्नु कदापि हितकार हुँदैन । यसलाई पूरै उन्मूलन नगरी समाजमा फैलिएको हिंसा, हत्या, बलात्कार, छुवाछत, भेदभाव, उच्चनीज, संघीयता, संविधानको समाधान हुन सक्दैन । दिनदिनै निर्दोष छोरीचेलीहरू बलात्कारको सिकार भइरहेका छन्, पाउछोडीको कारण गोठतिर मरिरहेछन् । अछुत, दलित भनेर राष्ट्रको नागरिकहरू मानव अधिकारबाट बन्चित भैरहेछन् । गरीब भएको नाममा बोक्सीको आरोप लगाउँदै जलाइन्दैछ । उत्पीडित जातिको दहीदूध बिक्री भएको छैन । उनीहरूको दोष अछुत भएर जन्मिनु नै हो ? उनीहरूलाई जताजतै छिछिदुरदुर गरिन्दैछ । उच्चजातको गर्भ बोकेर अनिता चमार प्रशासन र सञ्चारको संरक्षणमा आइपुगिन् । कसले भन्न सक्छ यसमा बाहुनवादको वीर्य छैन भनेर । जातीय, लैङ्गिक भेदभावको बीज के कुनै जंगलमा उम्रिन सक्छ ? निश्चय पनि सक्दैन । मुलुकमा हजारौ मानिस अपमानित छन् । शिशुपाललाई कृष्णले धेरै अपमान गरेको फल दियो महाभारतमा । यस्ता भेदभावकारी समाजको ‘अपमान’ उपन्यासले मात्र होइन, धेरै धेरै अपमानहरूले धावा बोल्नुपर्छ । देशमा विद्यमान आर्थिक, सामाजिक, राजनैतिक सबै समस्याको रुढ बाहुनवाद होइन र ? सबैतिर जातीय समन्वय, सह—अस्तित्व, एक अर्कामा प्रेम, सम्मान, आदारको भावना उत्पन्न गर्न सबै जातिमा भएको ‘बाहुनवाद’को अन्त्य हुनुपर्दछ तब राष्ट्र साँच्चैको ‘नेपाल’ हुन्छ ।
(लेखक: Fearism भयबादका चिन्तन्पनि हुनुहुन्छ ।)