२०३९ साल फागुन १५ पछि निर्माण भएको नेपाल मगर संघको मञ्चबाट आधिकारिक रुपमा मगरहरुको भेला आमसभा, अन्तरक्रिया आदिमा उपस्थिति दिने क्रममा महाकालिको कञ्चनपुर, डडेलधुरा, डोटी पुग्नु पर्यो । डडेलधुरा आलितालका गणेश थापा मगर त्यसैगरि डोलका पदम डालामगरसंगको भेटघाट भुल्न सक्तिन । डोटिको बुँडरका भेटघाटमा सुनलाल मगर सम्झन्छु । गणेश थापाका सहोदर भाईको घरमा विहानको खाना खाँदाको सम्झना आलै छ । बन विचमा छाप्रो । बनकै जग्गा जोत-कोर गरि पारिवारिक जीवन खर्च गर्दै गरेको देंखे । त्यस्तोलाई जनकपुरको अंचलको तराई जंगलमा रहाङ्गबालि भन्ने चलन छ । एक पल्ट म ने.म.स.का केन्द्रिय सदस्य डोटीरुपस काँडाका प्रेम आले र वहाँका मामासँग भाडाको जीपबाट पनि डोटी पुगेको छु अतरियाबाट । त्यसैगरि कञ्चनपुर, महेन्द्रनगरका नरविर पुन र वहाँकी श्रीमती र छोरीसँग महाकालिको तिरैतिर भारतबाट डडेलधुरा, सिमलखेत साँझमा सोती जी.को घरमा बास बसेको छु । हाल वहाँ स्वर्गिय भइसक्नुभएको छ । त्यहाँको कार्यक्रममा स्थानिय व्यक्ति रामबहादुर घर्तिमगरको राम्रो सहयोग रहेको थियो । यसरी महाकालिको कार्यक्रममा नेपाल मगरसंघ केन्द्रिय समितिका स्वर्गिय विरबहादुर राना महासचिव सिवलाल थापा अनि यसैगरि ब्रिटिश आर्मिबाट अवकास प्राप्त कप्तान केशर पुन लगायत केन्द्रिय र स्थानिय मगर मित्रहरुको सक्दो सहयोग पाएको छु । पदम डाला जी.को सक्रियतामा डोलाकै स्थानिय विद्यालयको प्राङ्गनमा खुला आमसभा मगरहरुको सम्पन्न भएको थियो । पदम जी.ले आफ्नै निवासमा मिठो खाना खुवाएर आथित्य सत्कार दिनुभएको अहिले पनि म सँग ताजै छ । कैलाली, टिकापुर, बनगाउँमा नेपाल मगर संघको जिल्ला सम्मेलन कार्यक्रम स्थनिय विद्यालयको प्राङ्गनमा सम्पन्न भएको थियो । सहभागिहरुको लागि मासु भातको व्यवस्था थियो । त्यो भेलाको ठिक अघिल्लो साँझ डाँडापारि घाम जानै लाग्दा बजारमा एकजना मगर कुर्ता, सुरुवाल, मफलर, टोपी र दोकाँधे झोलामा देखा परे । यो टिकापुर बजारको कुरा हो । वहाँ सम्मलेन अवलोकन गर्नुआउनु भएको रहेछ वहाँकै भनाई अनुसार । वहाँ पछि नेपाल मगर संघको केन्द्रिय सदस्य राप्ती अञ्चलबाट बन्न पुग्नुभो । यसवेला वहाँ स्वर्गमा हुनुहुन्छ । त्यसवखतको त्यो मानिस रुकुमका नरेन्द्र बुढामगर हुनुहुँदो रहेछ । नेपाल मगर संघ सँग एउटा संस्कार थियो त्यो के भने जहाँ केन्द्रिय समितिको बैठक हुन्थ्यो त्यहाँ जिल्ला सम्मेलन अनिवार्य नै हुन्थ्यो । यसो गर्दा आफ्ना केन्द्रिय मगर नेताहरुसँग स्थानियहरुको देखादेख र भेटघाट सजिलै सँग हुने गथ्र्यो । बनगाउँको यो सम्मेलनमा स्थानिय व्यक्ति श्रद्धेय तेजबहादुर पुनको यथेष्ट सहयोग रहयो । त्यस भेगका वजिर सिं थापमगरको पनि प्रंसगबस सम्झना आईरहन्छ । त्यसैगरि मैले फुलबारि डिपोको केन्द्रिय बैठक र त्यसपछिको डिपो बजारको सम्पन्न आमसभा सम्झेको छु । जेठ महिना । यो सम्पन्न गर्न स्थानिय पूर्णबहादुर घर्तिमगरको पूर्ण हात छ । यसमा वहाँलाई आफ्नो परिवार र स्थानिय व्यक्तिहरुले पनि राम्रै सहयोग पुर्याएको बुझिन्छ । लामो समय पश्चात कलम चलाउनुपर्दा धेरै कुराहरु विस्मृतिमा परिणत भएका छन् । त्यसताका डिपो सुकुम्बासी बस्ति थियो । नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष स्व. मनविर गर्बुजाको उठबसको कारण मेरो लागि डिपो बजार झनै सम्झनायोग्य भएको छ । मलाई वहाँले जसरी चिन्नु भएको थियो, थियो । समय आउँछ । म मनविर गर्बुजा जो ब्रिटिश आर्मिको अवकाश प्राप्त लेफ्टिनेन्ट हुनुहुन्थ्यो वहाँको सम्बन्धमा अप्ठेरो नमानि दुई शब्द खर्च गर्ने प्रण गर्दछु । यो लेख्दै गर्दाको वर्ष भित्र म कैलालीको सहजपुर कार्यक्रममा भाग लिन पुगें साथमा तेज तारामी । त्यहाँसम्म पुग्न जीपको खर्च स्थानिय लेक्चरर लालबहादुर थापामगरबाट भएको थियो । मगरहरुको सिलसिला चलाउँदा यि मगर व्यक्तित्वलाई भुल्न जाँदा सुदुर पश्चिमाञ्चलको सम्झना धमिलो हुनेछ । कैलालीकै मिनबहादुर दर्लामी जसको घर आंगनमा एक दिन एक रात मगर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । यो गाउँको नाम कैलाशपुर । राजेश बुढामगर पनि अविष्मरणिय छन् । पुनः म सहजपुरको सम्झना गर्दै छु । यो सम्झनामा खड्गबहादुर सारु, लोकबहादुर सारु जहाँ म र म सँगैकाले विहानको खाना स्थानिय माछासँग लियौं । सुदुरपश्चिमाञ्चलको सम्झना गर्ने क्रममा नेपाल मगर संघको आठौं राष्ट्रिय महाधिवेशन मेरै सभापतित्वमा कैलालीको टिकापुर नगरपालिकामा स्थायि बरिष्ठ नागरिक श्रद्धेय मणिराम घर्तिमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि भारितिय गोर्खा राईफल्सका सिपाही हुनुहुन्थ्यो । वहाँ हाल स्वर्गिय हुनुहुन्छ । वहाँको एकमात्र छोरा देवबहादुर घर्तिमगर हुनुहुन्छ टिकापुरमै । त्यसठाउँका मगर व्यक्तित्व तेजबहादुर पुनमगर र के.एस. थापाको सहयोग महाधिवेशन सम्पन्न गर्न सराहनीय रह्यो । जिल्लाबासि युवा नेता तेज तारानी मगरको काँधमा व्यवस्थापनको जिम्मेवारि थियो । आठौं महाधिवेशन (२०६०) बाट मैले आफ्नो केन्द्रिय अध्यक्षताको स्वेच्छिक अवकाश प्राप्त गरें । यो महाधिवेशनले क्रमशः ब्रिटिश आर्मिका रिटायर्ड कप्तान यमबहादुर बुढाथोकी मगर र उस्तै देउबहादुर राना अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो । यो महाधिवेशनले महासचिवमा रामचन्द्र थापालाई निर्वाचित गर्यो । यसमा अन्य निर्वाचित पदाधिकारि र सदस्यहरुको नामावली उल्लेख गर्न असमर्थ भएकोमा म क्षमा चाहन्छु । नेपाल मगर संघको ईतिहाँस लेख्ने क्रममा प्रारम्भदेखि वर्तमान सम्मका सम्पूर्णको नामावलि उल्लेख हुनेनैछ । महाधिवेशन सम्पन्न पश्चात लगत्तै डि.एफ.आई.डि.ले प्रोजेक्ट चलाउन दिएको रु. १० लाख को उचित व्यवस्थापन गर्न मगर युवा यमबहादुर झेंडी मगर, पाल्पा निवासीलाई कार्यकारिणिको अधिकार प्रदान गरियो । सुदुरपश्चिमाञ्चलमा सम्पन्न नेपाल मगर संघ केन्द्रिय समितिको गतिविधिलाई टुङ्ग्याउनु अघि यसको १७औं राष्ट्रिय सम्मेलनको थोरै चर्चा गर्न चाहन्छु । यो कार्यक्रम महाकालि नदिको पश्चिम किनाराको चाँदनि दोधारा गा.वि.स.मा सम्पन्न भएको थियो । यसको व्यवस्थापनमा नरविर पुन र डोटीका प्रेम आले मगरको भूमिका सराहनिय छ । सहभागिहरुसँगै मैले आफ्नो बास स्थानिय सामाजिक तथा राजनितिक व्यक्तित्व मानबहादुर विश्वकर्माको विशाल भवनमा राखेको थिएँ । त्यो सम्मेलनमा पुर्व मन्त्रि स्वर्गिय नारायण सिं पुनमगर आफ्नो निजि हेलिकप्टरमा नेपाल मगरसंघको पूर्व महासचिव सुरेश आलेमगर सहित उपस्थिति हुनुभो । सम्मेलनमा अनेकन बौद्धिक व्यक्तित्व मध्ये वि.के.रानाको पनि उपस्थितिले रौनकता ल्याएको थियो । यो सम्मेलनको सम्पन्नतापश्चात मेरो बास महेन्द्रनगर निवासी नरविर पुनमगरको होटलमा भयो । साथमा युवाहरु मध्ये रत्न सिंह राना पनि थिए । बजारका सथानिय व्यक्तित्व भारतिय गोर्खा सेनाका अवकाश प्राप्त कप्तान श्रद्धेय पदमबहादुर थापाको सम्झिने लायकको आतिथ्य सत्कार रह्यो । म आफ्नी श्रीमति विद्यासँग र साथै अन्य साथिहरु पनि विवादित टनकपुर व्यारेज अवलोकन तर्फ लाग्यौं । म धेरैपल्ट सदुरपश्चिमाञ्चल पुगेको छु । यो क्रममा प्रायसः नेपालगञ्ज घरबारि टोलका रामचन्द्र थापाको साथ सहयोग रहँदै आएको सम्झना गर्दछु । पहिलोपल्ट कैलालीको धनगढि टेक्दा बर्दिया निवासी टोप थापालाई टप ईन टाउनमा कार्यरत पाएँ वहाँले त्यसवेला राम्रो खातिरदारि गर्नुभयो । वहाँसँगै स्थानिय धेरै युवाहरु परिचित भएका थिए । नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय सम्मेलनको उद्घाटनार्थ प्रमुख अतिथिको रुपमा धनगढि पुगेको थिएँ । टोप जी.लाई भेटेको झन्डै झन्डै १५ वर्ष अघिको जस्तो लाग्छ र हालसम्म पनि वहाँसँगको भेटघाट निरन्तर छ । घनगढि गइरहँदा मेरा भान्जाहरु बजारमा कार्यरत थिए र छन् पनि वहाँहरु चन्द्रलाल क्याप्छाकी र जीतबहादुर हुनुहुन्छ । यो स्मरण गर्दै गर्दा नेपाल मगर संघ जिल्ला समिति कैलालीका वर्तमान अध्यक्ष टेक नाम्जालीका साथै दिपा थापा, चक्र अस्लामी, खड्गहरुको सम्झना आईरहन्छ, त्यसैगरि हसनपुरका कृष्ण थापमगर । एउटा विर्सनै नसकिने नाम हो –शक्ति श्रिस । वहाँको धनगढि निवासको आतिथ्य सत्कार मेरो लागि अविष्मरणिय छ । ने.क.पा. माओवादीबाट अलग भएर बसेका मोहन सिं सारु र नविन्द्र राना पनि मेरो सम्झनामा आइरहनुहुन्छ । सुदर पश्चिमाञ्चलको लागि मेरो भ्रमणले ल्याएको विभिन्न खाले गतिविधि जस्तै महाधिवेशन, जिल्ला अधिवेशनहरु, जिल्ला सम्मेलनहरु, गोष्ठिहरु, अन्तरक्रियाहरु, प्रशिक्षणहरु, समुह–समुहको भेटघाटहरुमा प्रत्यक्ष रुपमा हजारौं हजार मगरहरुको विचमा पुग्ने सौभाग्य मलाई नेपाल मगर संघले दिएको हो । यो वर्णन आफै पनि अन्तिम चाहिँ होईन आउने दिनमा मेरो आवश्यकता सुदुरपश्चिमाञ्चल र त्यहाँ बसोबास गरिरहेका मगर समुदायलाई परिनै रहला भन्ने आशा गर्दछु । मगरहरुको अवस्था थोरै भएपनि मैले बुझ्ने मौका पाएँ । मबाट आगामि दिनमा मगरहरुले प्राप्त गरेको शिक्षा, ज्ञानबाट उनिहरुलाई मलाई विश्वास छ, अग्रगामि बन्न प्रेरित गर्लान् र बाटो नविराईकनै आफ्नो अन्तिम लक्ष्य सम्म पुग्न सफल होलान् ।
मितिः २०६९ पुस २८ गते तद्नुसार जनवरी १२,२०१३ धोविघाट, ललितपुर
क्रमशः