सुन्दर गुरुङ
नेपालका अग्रणी शहिद एवं तमूवानका आर्दश पुरुष शुकदेव गुरुङ्ग
नेपालको इतिहासमा बलिदानीपूर्ण संघर्ष गर्ने कैयौं वीरवीरङ्गनाहरुको वास्तविक इतिहास लेखिन अझै पनि बाँकी नै छ । आजसम्मको इतिहास लेखनमा पूर्वाग्रह, नियतवश वा अन्य कारणले ओझेलमा पारिंदै आएका ती वीर वीरङ्गगनाहरुको बारेमा सत्यतथ्यको खोजी गरी वास्तविक इतिहास जनतासमक्ष राख्नु पनि राष्ट्र निर्माणको लागि योगदान दिनु नै हुनेछ । किनभने महान दार्शनिक कन्फ्यूसियस्ले पनि भनेका छन् कि “भविष्यको अध्ययन गर्ने हो भने इतिहासको पनि अध्ययन गर्नुपर्छ ।” आज हामी इतिहासमा ओझेलमा पारिएका र राणाकालदेखि आजसम्मको राज्यव्यवस्था र शासकहरुले समेत सम्मान दिन नसकेका तिनै वीरवीरङ्गनाहरु मध्येकै एक नेपालका अग्रणी शहिद एवं महानायक शुकदेव गुरुङ्गको बारेमा चर्चा गर्न गइरहेका छौं ।
को हुन् शुकदेव गुरुङ्ग ?
शुकदेव गुरुङ्ग गोर्खाका बासिन्दा थिए । त्यसबेलाको अवस्था र जातिगत आधारमै पनि उनी बौद्ध धर्मका प्रखर अनुयायी, धर्मगुरु, समाजसुधारक र राजनीतिज्ञ थिए । त्यसैले उनको सामाजिक हैसियत र प्रभाव एउटा समाजसुधारक, धार्मिक नेता र राजनीतिज्ञको रुपमा रहेको थियो ।
नेपालको इतिहासमा राणा जङ्गबहादुरको शासनकालमा विक्रम सम्बत् १९१४ जेष्ठ १२ गते काठमाण्डौं टुंडिखेलमा विभत्स हत्याकाण्ड भएको थियो । त्यसदिन सरकार विरुद्ध लागेको भन्ने आरोपमा एक जना गुरुङ्ग जम्दारलाई नेपाली सेनाका कालीबहादुर पल्टनका अन्य सिपाहीद्वारा नै हत्या गराईएको थियो । यसरी मारिने ति जम्दार शुकदेव गुरुङ्गका समकालीन मित्र र सहयोगी समेत थिए । इतिहासमा ति जम्दारको नाम श्रीपति गुरुङ्ग थियो भन्ने कतै कतै उल्लेख भएको पाइन्छ । उक्त घटनाको केही दिन बित्न नपाउँदै शुकदेव गुरुङ्गले लम्जुङ्गबाट जङ्गबहादुर र उनले लादेको शासन व्यवस्था विरुद्ध विद्रोहको घोषणा गरेका थिए । उनले आफ्नो विद्रोहलाई अझै शसक्त बनाउन त्यसबेला समानान्तर सत्ता स ञ्चालक सरह हुने गरी आफूलाई नौ सरकार बौद्ध वादशाहको रुपमा घोषणा गरेर, एकाधिकारवादी शासन विरुद्ध समान शासन व्यवस्थाको लागि अगाडि बढ्ने काम गरेका थिए । फलस्वरुपः उनको विद्रोहको प्रभाव लम्जुङ्ग मात्र नभई गारेखासम्म पनि फैलन पुग्यो तर त्यसै वर्षको अन्तमा उनलाई राणा सरकारद्वारा गोर्खामा पक्राउ गरियो र राजद्रोहको आरोपमा आजीवन कैद सजाय तोकियो । विक्रम सम्बत् १९३३ चैत्र १० गते आईतबार उनको षडयन्त्रपूर्वक हत्या नहुँदासम्म उनले लामो कठोर जेलजीवन व्यतित गरेको देखिन्छ ।
विद्रोहको पृष्ठभूमिः
शुकदेव गुरुङ्गलाई राणा शासन विरुद्ध विद्रोह गर्ने प्रेरणा दिनुमा विक्रम सम्बत् १९१० साल पुष महिनामा जारी गरिएको नेपालको मुलुकी ऐनको नै भूमिका रहेको देखिन्छ । श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा दरबारीया पण्डित विजयराज पाण्डेद्वारा लेखिएको उक्त नेपालकै पहिलो लिखत कानूनलाई हिन्दू ब्राम्हणवादी घोषणापत्र नै मान्न सकिन्छ । मानिसलाई जातभातको आधारमा वर्गीकरण गर्ने र त्यसै अनुसारकै दण्ड सजाय वा सुविधाको व्यवस्था कायम गर्ने गरी ल्याइएको सो मुलुकी ऐन वास्तवमै त्यस्तो जातिवादी कानून थियो,जसले जातिगत हिसाबले उच्च तागाधारी (ब्राम्हण), सांस्कृतिक हिसाबले आर्य संस्कृति र धर्मको हिसाबले हिन्दू धर्मको पूरै पक्षपोषण र सुरक्षा गर्ने उद्देश्य राखेको थियो । त्यसबाट अन्य जाति र धर्मावलम्बीलाई दुःखीत एवं आक्रोशित बनाउनु स्वभाविकै थियो । त्यसबेलाका समाजसुधारक एवं बौद्धमार्गीहरुका नेता सरह भएका शुकदेव गुरुङ्गलाई जङ्गबहादुरले लादेको उक्र विभेदकारी व्यवस्था मान्य हुने कुरै थिएन र उनी असन्तुष्ट र आक्रोशित मात्र भएनन् कि जनतामा फैलिएको असन्तोष र आक्रोशलाई पनि भित्रभित्रै संगठित गर्ने काममा लागे । उनले जनस्तरमा मात्र नभई सरकारी सेनामा पनि आफ्नो संगठन विस्तार गर्ने प्रयत्न गरेका थिए जसमा उनकै समाकालीन साथी श्रीपति गुरुङ्गले उनलाई सघाएका थिए । जो कि त्यस बखत नेपाली सेनाका कालीबहादुर पल्टनमा कार्यरत थिए । शुकदेवले तिनै श्रीपति मार्फत सबैभन्दा पहिला नेपाली सेनामा रहेका गुरुङ्गहरुलाई संगठित गर्ने र उनीहरुमार्फत सैन्य विद्रोह गराई जङ्गबहादुरलाई पराजित गर्न योजना बनाएको देखिन्छ तर उक्त कुराको भेद खुलेपछि जम्दार श्रीपति गुरुङ्गलाई उनी कार्यरत कालीबहादुर पल्टनका सिपाहीहरु लगाएर टुंडिखेलमा जङ्गबहादुरले मराए । सिङ्गो गुरुङ्ग पल्टनको दोष प्रमाणित भएमा सबैलाई मार्ने योजना र तयारीका साथ जङ्गबहादुर राणाले कालीबहादुर पल्टनलाई टुंडिखेलमा उपस्थित गराई अन्य पल्टनको घेराबन्दीमा राखेका थिए तर शुकदेवको योजनामा सहमति जनाउने अन्य सिपाहीहरुले त्यो घेराबन्दी र संगीन अवस्थालाई बुझेर चुप लाग्नु मै बुद्धिमानी देखेकाले अन्य सदस्यहरु मारिन पाएनन् ।
यसरी आफ्नो विश्वास पात्र तथा सहयोगी जम्दार श्रीपतिको हत्या भएपछि जङ्गबहादर विरुद्ध सशक्त सैन्य विद्रोह गराउने शुकदेवको योजना असफल भयो । सम्भवत उनको योजना राणाहरुले थाहा पाइसकेको हुँदा अब समाजसुधारकको रुपमा मात्र देखा पर्नुको औचित्य पनि थिएन् । फलतः उनको टुंडिखेल घटना लगत्तै राजनीतिक विद्रोहको झण्डा उचाले र आफूलाई नौ सरकार बौद्ध बादशाह घोषणा गर्दै समानान्तर सरकारको अवधारणा पनि ल्याए । यसरी विक्रम सम्बत् १९१० देखि १९१४ सम्म शुकदेव समाजसुधारकको रुपमा र त्यसपछि करिब १० महिना समानान्तर सरकार प्रमुखको रुपमा राणाशासन विरुद्ध सशक्त संघर्ष गरेका थिए भने जेलमा बस्दाको करिब १८ वर्ष भन्दा बढी समय पनि उनले राणाहरुको विरुद्ध लाग्न उत्प्रेरित गर्ने काम पनि गरे । कतिपय इतिहासकारहरु नेपालका प्रथम शहिद क्या। लखन थापामगरको गोर्खा विद्रोहको उत्प्रेरक पनि शुकदेव नै थिए भन्ने मत राख्दछन् ।
शुकदेवको जेलवीवन र हत्या :
वास्तवमा आफ्नो विरोधीलाई शंकाको भरमा छिनभरमै हत्या गर्न गराउन जङ्गबहादुर राणालाई कुनै आईतबार थिएन । तर उनी अन्धविश्वासी र अत्यन्त धर्मभिरु समेत थिए । त्यसले गर्दा धार्मिक व्यक्तिलाई उनी सकेसम्म मार्दैन्थे । उनी कतिसम्म अन्धविश्वासी पनि थिए भन्ने कुरा प्रथम शहिद लखन थापाको प्रसङ्गमा पनि पढ्न पाइन्छ । उक्त प्रसङ्गमा जङ्गबहादुरले लखन थापा र उनको सहयोगीलाई मृत्युदण्ड दिएका थिए तर जङ्गबहादुरको जेठी महारानीले लखन थापालाई मारेमा जङ्गबहादुरलाई ठूलो अनिष्ट आई लाग्ने आशयको सपना देखिन् र त्यो कुरा जङ्गबहादरलाई सुनाईन् । फलतः जङ्गबहादुरले लखन थापालाई जेल हाल्नु, नमार्नु भन्ने आदेश गोर्खा पठाए तर उनको आदेश गोरखा नपुग्दै लखन थापाहरुलाई झुण्डाई सकिएको थियो । यस किसिमको स्वभाव र चरित्र भएका जङ्गबहादुरले शुकदेवलाई पनि मार्नु भन्दा जेल सजाय दिनु बढी उपयुक्त हुने देखेकैले गर्दा शुकदेव मारिएका थिएनन् । किनभने त्यसबखत उनको प्रभाव गोर्खा र लम्जुङ्गमा व्यापक थियो र एउटा बौद्धमार्गी समाजसुधारक धर्मगुरुलाई मार्दा त्यसको फाईदा भन्दा बेफाईदा हुने सम्भावना पनि जङ्गबहादुरले देखेका थिए । भारतमा सन् १८५७ मा भएको सिपाही विद्रोहमा हिन्दू र मुश्लिम सिपाहीहरुमा फैलिएको चरम असन्तोष र आक्रोश उनले प्रत्यक्ष देखिभोगी आएका हुँदा सकेसम्म शुकदेवलाई मारेर जनस्तरमा र सेनामा समेत रहेका बौद्धमार्गीहरुलाई आक्रोशित गराउने जोखिम उनले लिन चाहेका थिएनन् । तर जङ्गबहादुरको निधन भएको एक महिना पुग्दा नपुग्दै जेलमा शुकदेवको निधन भयो । ज्वरोले मरेको भनी प्रचार गरिएतापनि रणद्वीपको शासनकालमा वास्तविक हर्ताकर्ता धीरशम्शेर र जगत शम्शेर लगायतले नै षडयन्त्रमूलक ढंगले शुकदेव गुरुङ्गको हत्या गराएको देखिन्छ । शुकदेवको लास सतीगतिका लागि उनको परिवार वा आफन्तलाई नदिनुले पनि यस कुरातर्फ संकेत गर्दछ । यसले शुकदेव गुरुङ्ग जेल बाहिर रहँदा मात्र होइन जेलभित्र रहँदा पनि राणाहरुको विरुद्ध विद्रोह गर्न खोज्नेहरुको लागि प्रेरणाका स्रोत बनिरहेका थिए र उनीबाट राणाशासकहरु अत्यन्त त्रसित, थर्कमान र असुरक्षित महशुस गरेकैले जङ्गबहादुरको निधन लगत्तै अन्ततः उनको हत्या गरिएको थियो भन्ने नै देखिन्छ ।
संक्षेपमा भन्नुपर्दा, त्यसबेला जङ्गबहादुर राणाद्वारा लादिएको एक धर्म, एक जाति, एक भाषा, एक संस्कृतिको विभेदकारी एवं सम्प्रदायिक शासन व्यवस्थाको अन्त्यका लागि सशक्त र संगठित ढंङ्गले जनस्तरबाट विद्रोह गरेका र पक्राउ परेपछि पनि १८ वर्ष भन्दा बढी कठोर जेल जीवन भोगेका र अन्ततः षडयन्त्रमू्लक ढंगले राणाशासकहरुद्वारा जेलमा नै हत्या गरिएका तिनै वीर अग्रणी शहिद शुकदेव गुरुङ्गलाई जनसमक्ष चिनाउने र शहिदको रुपमा राज्य र जनस्तरबाट समेत यथोचित सम्मान गर्ने कार्य अविलम्ब अगाडि बढाईनुपर्दछ । किनभने नयाँ नेपालमा अब उप्रान्त शासक र सत्ताधारी वर्ग र जातिका झुठमुठ वा भ्रमपूर्ण इतिहास होइन जनताको साँचो इतिहास लेखिनु पर्दछ ।
अन्तमा, शुकदेव गुरुङ्गको बलिदानीपूर्ण संघर्षले भरिएको गाथाले हामीलाई उनी अग्रणी शहिद हुनुका साथै वास्तविक महानायक पनि थिए भन्ने देखाउँछ । नेपालका तिनै अग्रणी वीर शहिद एवं महानायक शुकदेव गुरुङ्गप्रति श्रद्धासुमन अर्पण गर्दछौं ।
वि. सं. १९१० को मुलुकी ऐन
जंगबहादुर राणा सत्तासीन भएपछि नेपालमा पहिलो पटक लिखित कानुन बन्यो, जसलाई १९१० को मुलुकी ऐन भनिन्छ । तत्कालीन हिन्दूवादी विद्वान पण्डित विजयराज पाण्डेद्वारा तयार पारिएको सो मुलुकी ऐन पूर्णरुपमा धार्मिक हिसाबले हिन्दू धर्म, संस्कृतिका हिसाबले आर्य संस्कृति र जातिगत हिसाबले खास गरी बाहुन जातिको पक्षपोषण गर्ने गरी शासन व्यवस्था चलाउने उद्देश्यले वि. सं. १९१० पुष महिनादेखि लागू गरिएको थियो । ब्रामहणवादी शास्त्र भनी चिनिने हिन्दूग्रन्थ मनुस्मृतिकै आधारमा नेपालको मुलुकी ऐन तयार भएको हुँदा नेपालका गैर हिन्दू र हिन्दू अन्तर्गतका पनि वर्णाक्रममा तल्लो स्तरमा देखिएका जातहरु खासगरी दलितहरुको अवस्था भने त्यति बेला कतिसम्म दर्दनाक र शोषणपूर्ण थियो होला भन्ने कुरा स्वतः कल्पना गर्न सकिन्छ ।
देशको संविधान समेत नभएको त्यो बेला बनेको सो मुलुकी ऐनले नेपालीहरुलाई पाँच श्रेणीमा विभाजन गरेको थियो , जस अनुसार पहाडे बाहुन, क्षेत्री, ठकुरी र मधेशी बाहुन तथा राजपूतहरुलाई तागाधारी जातमा राखिएको थियो । गुरुङ्ग, मगर, राई, लिम्बु, नेवार लगायतलाई नमासिने मतवाली र तामाङ्ग, भोटे, थारु, कुमाल, चेपाङ्ग आदिलाई मासिने मतवाली जात भनि कानुनी रुपमा छुट्याइएको थियो । यस्तै मुसलमान तथा नेवार अन्तर्गत पर्ने खड्गी, कपाली लगायतलाई छोइछिटो हाल्नु नपर्ने अछुत जात र कामी, दमाई, सार्की, वादी, मुसहर, गाईने तथा नेवार अन्तर्गतका द्याला, यामरवाला आदिलाई छोइछिटो हाल्नुपर्ने अछुत जात भनि वर्गीकरण गरिएको थियो । यसरी जातिलाई वर्गीकरण गरे अनुसार नै तिनको काम धन्दा, आचारविचार र दण्डसजाय पनि कानुनी रुपमै व्यवस्था गरिएको थियो ।
राणा शासनको विरोध गरेवापत दशरथ चन्द्र ठकुरी, गंगालाल श्रेष्ठ आदिले मृत्युदण्ड पाउनु तर टंक प्रसाद आचार्य तथा रामहरि शर्मा आदिले भने जीवनदान पाउनु पनि त्यही मुलुकी ऐनकै व्यवस्थाले गर्दा हो । यसरी उक्त ऐन अन्तर्गत नेपालमा १ सय १० वर्ष (वि. सं. २०२) साउन मसान्त) सम्म यो देशमा सत्ता सञ्चालन भएको थियो । अर्थात् नेपालमा निरन्तर पाँच पुस्तासम्म उक्त विभेदकारी ब्राम्हणवादी ऐनले नेपालमा आदिवासी जनजाति, दलित उत्पीडित लगायत जातीय हिसाबले गैर बाहुन, धार्मिक हिसाबले गैर हिन्दू र सांस्कृतिक हिसाबले गैर आर्य र भाषिक हिसाबले खस भाषा बाहेकले चरम शोषण, दमन र उत्पीडन सहनु परयो भन्नु अनुपयुक्त हुने छैन ।
१९१० साल सोही मुलुकी ऐनको समयकालमा नै वि.सं. १९६३ मा छिरिङ्ग नोर्बु लामा लगायत छ जना बौद्ध भिक्षुहरुलाई देश निकाला गरिएको थियो । वि. सं. १९७० मा राममणि आचार्य दिक्षितको नेतृत्वमा आदिवासी जनजाति सम्बन्धि वंशावली तथा तिनका भाषा, धर्म, संस्कृतिसँग सम्बन्धित ३० हजार प्रति पुस्तकहरु जलाइयो । लिम्बु भाषामा अगुवा ताप्लेजुङ्गका लालमोर सेढदाङले ज्यान जोगाउन ७४ वर्षमा विदेशिनु पर्यो । दशैं चाड मान्न अस्वीकार गर्ने चेतनशील किराँतीहरु धनकुटामा रामली हाङ र रिदामा देशभित्रै मारिनु परयो । १९१० को मुलुकी ऐनलाई आधार मानेर शासन सत्ताले दिएको कथाव्यथा अनगिन्ती छन् । निश्चय पनि इतिहासमा भएका विभेद र पीडालाई माफ गर्न सकिएला तर बिर्सन भने कदापि सकिदैन । जसले बिस्र्यो, त्यसको वर्तमान मात्र हैन भविष्य पनि अन्धकारपूर्ण नै हुनेछ ।
नौ सरकार बौद्ध बादशाह शुकदेव गुरुङ्ग
बाइसे चौविसे राज्यको अध्ययन गर्दा प्राप्त प्रमाणका आधारमा हिन्दू आर्य जनजातिहरु लगायत मगर, गुरुङ्ग, तामाङ्ग आदि आदिवासीहरु यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । खसहरुको घनावस्ती भएको कारणले गर्दा बाइसे राज्य अन्तर्गत जुम्ला क्षेत्रलाई ‘खसान’ मगरहरुको ज्यादा बसोबास भएको मस्र्याङ्गदीदेखि भेरी नदीबीचको चौबिसे भित्रकै क्षेत्रलाई मगराँत र गुरुङ्गहरुको ज्यादा बसोबास भएको चौविसी भित्रकै क्षेत्रलाई “नौ गुरुङ्ग क्षेत्र” भनिएको हो । यसैगरी लमजुङ्ग क्षेत्रलाई “चार घले क्षेत्र” र त्रिशुली गण्डकीदेखि पूर्वको क्षेत्रलाई “किंरात क्षेत्र” भनिएको छ । चौबिसे राज्य अन्तर्गत सुनकोशीदेखि दुधकोशीसम्मको इलाकालाई ‘खम्बुवान वा दश लिम्बु क्षेत्र’ समेत भनिएको पाइन्छ । जनजातिहरु बाहेक बाइसी चौबिसी क्षेत्रमा शाह, शाही , सेन, मल्ल, कल्याल, कट्युरी, गोतामे, सुवेदी, पोख्रेल, अधिकारी, कार्की, लामिछाने, कोइराला, तिमिल्सिना, रेग्मी भट्टराई, पौडेल, घिमिरे, पाण्डे, जोशी आदि अनेक थरी हिन्दू जात थर समेतको उल्लेख प्युठानी, पाल्पाली र गुल्मीलगायत अन्य बाइसे चौबिसे राज्यबाट प्राप्त धर्मपत्र, ताम्रपत्र सन्धिपत्र र वंशावलीहरुमा पाइन्छ । यस प्रकार आर्य, मंगोलियन र रैथाने मूलका ९आदिवासी० अनेकौं जात थर र जनजातिहरुबाट तत्कालीन बाइसे, चौबिसे राज्यको सामाजिक संरचनाको सिर्जना हुन पुगेको देखिन्छ । त्यस बेलाका ताम्रपत्र र वंशावलीहरुलाई हेर्दा सामाजिक संरचनाको आधार वर्ण व्यवस्था तथा जात थर व्यवस्था रहेको देखिन्छ । (योगी, २०१३: ४९३७८) वर्ण वा जाति व्यवस्था नै त्यस समाजको सांस्कृतिक आधार थियो । त्यस समाजमा सर्वोत्तम वर्ण जातिका रुपमा ब्राह्मणहरु रहेका थिए । (नेपालको इतिहास, दोस्रो संस्करण २०६०) बाइसे चौबिसीको सामाजिक संरचनालाई हेर्दा गुरुङ्गहरुको ज्यादा बसोबास भएको चौबिसी भित्रको क्षेत्रलाई ‘नौ गुरुङ्ग क्षेत्र’ (हालको गण्डक क्षेत्र) भनिएको छ । पछि पृथ्वीनारायण शाहको राज्य एकिकरणका क्रममा ‘नौ गूरुङ्ग क्षेत्र’ लाई गोर्खा राज्यमा एकीकरण गरियो । विभिन्न लेखकहरुले पृ्थ्वीनारायण शाहले राज्य एकीकरण गर्दा छलकपटद्वारा त्यस क्षेत्रलाई एकीकरण गरेको भनेर पनि वर्णन गरिएको छ । पछि जङ्गबहादुर राणाले शासन सत्ता आफ्नो हातमा ल्याउने क्रममा गुरुङ्ग समुदायको बाहुल्य भएको क्षेत्र नौ गुरुङ्ग क्षेत्र अन्तर्गत रहेको कास्की लमजुङ्ग र तनहुँको महाराजपद ६ अगष्ट १८५६ मा राजा सुरेन्द्रबाट आफ्नो कार्यको मूल्याङ्कन गर्न लगाई लालामोहर प्राप्त गरे । त्यसै गरी एक जाति विशेष, धर्म विशेषलाई बढावा दिने खालको वि. सं. १९१० सालको मुलुकी ऐन वि।स। १९१० पौष ७ गते जंगबहादुरले घोषणा गरे । इतिहासका विविध यि घटनाक्रमलाई हेर्दा नौ गुरुङ्गक्षेत्रमा बस्ने बासिन्दाहरुको सामाजिक धार्मिक सांस्कृतिक पहिचान र अस्तित्व भन्दा पूर्णतया राज्यको संरचना ऐन कानुन विपरित भएकाले त्यस क्षेत्रका बासिन्दाहरु बढी विद्रोही हुनु स्वाभाविक नै थियो ।
शुकदेव गुरुङ्ग नौ सरकार भन्नाले सोही नौ गुरुङ्ग क्षेत्रलाई आधारमानी नौ सरकार घोषणा गरेको र बौद्ध बादशाह भन्नाले गुरुङ्गहरु प्राचिन समयदेखि बौद्ध धर्मालम्बी भएको तर वि. सं. १९१० साल पौष ७ गते घोषणा गरिएका मुलुकी ऐनले बौद्ध धर्मावलम्बीहरु लगायत हिन्दूधर्मबाहेक अन्य धर्मावलम्बीलाई उपेक्षा गरेको र बौद्ध धर्मलाई राज्यद्वारा नै विभेदमा पारिएको र एक धर्म, एक जाति, एक समुदाय विशेषलाई प्रश्रय दिने खालको ऐन भएकाले शुकदेव गुरुङ्गले नौ सरकार बौद्ध बादशाह भनी घोषणा गरेर विद्रोह शुरु गरेको देखिन्छ । नौ गुरुङ्ग क्षेत्रलाई आधार मानी आफूलाई नौ सरकार घोषणा गरेकाले उनले राणा र राणाशासन विरुद्ध आन्दोलन गर्नलाई त्यस क्षेत्रलाई आधार क्षेत्रको रुपमा विकास गर्न खोजेको देखिन्छ । शुकदेव गुरुङ्ग गोर्खाका बासिन्दा भएपनि उनले आफ्नो विचार तथा संगठनका क्रममा उनी लम्जुङ्ग, तनहुँ, कास्की र काठमाडौंमा फैलाएको हल्लाअनुसार शुकदेव गुरुङ्गले स्वयंलाई बौद्ध बादशाह घोषित गरी जनतालाई भ्रामक प्रचार गरेको आरोप लगाइएको थियो । (संजिव महर्जन कान्तिपुर–११, साउन २०५४ ग) यसले के स्पष्ट गर्छ भने उनी तत्कालीन सुपरिचित नेता थिए भने दर्शाउंछ । उनले नौ सरकारबौद्ध बादशाह घोषणा गरी समानान्तर सत्ताको अवधारणा लिएकाले उनी सामाजिक परिवर्तनका साथै उनले गरेको विद्रोह राजनैतिक विद्रोह भएको स्पष्ट हुन्छ । उनी गोर्खाका भएपनि उनको बढी क्रियाशिलता लमजुङ्गमा देखिएकाले श्रीपति गुरुङ्ग लम्जुङ्गका बासिन्दा भएकाले उनले सोही स्थानबाट विद्रोहको विगुल फुकेको देखिन्छ । यसले श्रीपति गुरुङ्ग र शुकदेव गुरुङ्गको घनिष्ट सम्बन्ध रहेको दर्शाउंछ । इतिहासकार डा। गेहेन्द्रमान (उदास) भन्नुहुन्छ–“जङ्गबहादुर र राणा शासनले लादेकोमा हिन्दू कट्टर हैकमको विरोध गरेर गुरुङ्ग समाजजस्तो आदिवासी जनजातिको संस्कृति, भाषा पहिचान आदिको रक्षा गर्न शुकदेव गुरुङ्ग विद्रोही हुनुपरेको देखिन्छ ।”
“नौ सरकार बौद्ध बादशाह” भित्र धेरै कुरा लुकेको छ यसैभित्र तत्कालीन अवस्थामा शुकदेव गुरुङ्गले गरेको विद्रोहका बारेमा धेरै कुरा थाहा पाउन बुझ्न सकिन्छ भनेर डा। गहेन्द्रमान (उदास) ले भन्नुहुन्छ । डा। त्रिरत्न मानन्धरले भन्नुहुन्छ– गुरुङ्गहरु पनि बौद्ध धर्ममार्गी भएकाले धार्मिक आस्था बोकी बौद्ध बादशाह घोषणा गरी विद्रोह गरेको हुनसक्छ ।