तथ्याङक विभागले हालै सार्वजनिक गरेको जनगणनाको नतिजामा पहिले भन्दा धेरै तथ्याङक घटवढ देखिएको छ । दश बर्षको अवधिमा गरिएको जनगणनामा धेरै जातिको संख्या घटेको मात्रै छैन केही जातिको त जनगणनामा सूचि नै छैन् । त्यो कसरी र किन भयो भन्ने कुरा विश्लेषणको खाँचो छ । त्यसको कारण पनि आम जनताले थाहा पाउनु पर्छ ।
जनगणनामा समूह छुट्याएर – को दलित को मधेशी र को बाहुन क्षेत्री हो त्यस अनुसार बर्गीकरण गरिएको छैन । आदिवासी जनजाति सूचिकरण उच्चस्तरीय आयोगले सिफारिस गरेका धेरै जाति मध्य पहाडका राईहरु यसमा समावेश भएका छन् । सूचिमा नपरेको पनि त्यसमा समावेश गरिएको छ । त्यो राम्रै कुरा हो । सुनुवार र गुरुङको संख्या अहिले ह्वातै घटेको देखिन्छ । सुनुवारको ४० हजार र गुरुङको करीब २२ हजार जति संख्या घटेको तथ्याङकले देखाउँछ । गुरुङ किन घटे त भन्नेमा यो जाति धेरै विदेश गए भन्ने सहजै अनुमान गर्न सकिएला, तर गुरुङबाट घले, लोपा आदि छुट्याएका कारण पनि त्यो संख्या घटेको तर्क गरिएको छ । त्यो किन घट्यो अहिले विश्लेषण गर्न गाह्रो छ ।
विदेशमा जाने नेपालीहरु नेपालमै गणना गर्ने नीतिगत व्यवस्था गर्नु पर्ने हो, तर त्यसो गरिएको छैन । विदेशबाट नेपालीले पठाएको रेमिट्यास्ले नेपाली समाज धानिएको छ, तर उनीहरु राष्ट्रिय जनगणनामा छुट्नु दुर्भाग्य हो । रेमिट्यासको गणना हुने र मानिसको टाउको गणना नहुने नीतिगत व्यवस्था व्यवहारिक देखिन्न ।
मातृभाषा भनेको आमाले जे बोल्छ त्यो भाषा होइन । आमाले बोल्दैमा त्यस जातिको मातृभाषा त्यो कायम हुन सक्दैन । गुरुङ जातिले नेपाली बोल्छ भने उसको मातृभाषा नेपाली होइन । मातृभाषा समुदायले जे बोल्छ त्यो भाषा हो । जनगणना हुन अगाडि पनि यस विषयमा छलफल गरिएको थियो । जनजातिका केही विज्ञहरु पनि जनगणनाको अनुगमनमा सहभागी थिए, तर जातिहरु किन हटे भन्ने कुरा उनीले समेत चित्त बुझदो जवाफ दिन सकेनन् । जनगणनाको तथ्याङकीय विधि अनुरुप २०० भन्दा कम संख्या रहेका जातिलाई हटाएको उनीहरुले बताएका छन् । त्यो भन्दा कम रहेका कुसुण्डा भने त्यसमा समावेश छन् । कोही त्यहा हुने कोही नहुने त्यो न्याय संगत देखिएन ।
वास्तवमा जनगणनाले देशको समग्र र वास्तविक चित्र देखाउने काम गर्दछ । तर अहिलेको जनगणनामा भएका जाति समेत छुटेका छन् । भएका जातिहरु जनगणनामा नसमेटिनु उनीहरुको अस्तित्व मेटिनु हो । हिमालका शेर्पा जति भोटेमा समावेश गरिएको छ । थोरै संख्यामा हुदैमा हटाउदा उनीहरु राज्यको सेवा सुविधाबाट पनि हट्न सक्छन् । त्यसकारण पनि जनगणनाको विश्वसनीयता माथि प्रश्न तेर्सिएको हो । राज्यका जिम्मेवार निकायमा बसेकाहरु समेत यस्तो त्रुटि हुदा समेत गम्भीर देखिनन् त्यसकारण थप आशंका पैदा भएको छ । यदि जनगणनाको नतिजालाई सुधार्न सकिने अवस्था हो भने त्यसलाई बेलैमा सच्याउनु उचित देखिन्छ । मनोग्राफ सुधार्नमा के कस्तो सहयोग चाहिन्छ त्यसमा सहयोग गर्न हामी तैयार छौ । जनगणनालाई विश्वसनीय र उपयोगी बनाउन बेलैमा सबै लाग्नु पर्ने भैसकेको छ ।
(राज्यसत्ता डटकमले पुसको पहिलो हप्ता काठमाडौंमा आयोजना गरेको जनगणना बहसमा आदिवासी जनजाति सूचिकरण कार्यदलका संयोजक डा. ओम गुरुङले व्यक्त गर्नु भएको विचारको सम्पादित अंश)
राज्यसत्ता नेपाल व्युरो
जनगणनामा जनजाति किन छुटे चित्त बुझदो जवाफ दिनु पर्छ : डा. ओम गुरुङ
Read Time:4 Minute, 46 Second