काठमाडौँ, १९ कात्तिक
मुलुकको राजनीतिक गतिरोध अन्त्य गरी संविधानलेखन कार्यलाई तीव्रता दिन प्रमुख राजनीतिक दलका शीर्ष नेता गोप्य वार्तामा जुटेका छन् ।
वार्ता यस अगाडि लुक्लामा गरिने तय भएपनि काठमाडौँको सेतीदेवी गाविस–१ चोभारस्थित हात्तीवन रिसोर्टमा एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्षसहित पाँच–पाँचजना नेताहरुको सहभागिता रहेको सो वार्तामा संविधान लेखनका क्रममा दलहरुबीच देखिएका मतभिन्नतालाई अन्त्य गर्न नेताहरु गम्भीर वार्ता गरिहेका छन् ।
उनीहरुबीच नयाँ सरकार निर्माण र मुलुकलाई आर्थिक सङ्कटबाट रोक्न बजेट ल्याउने सम्बन्धमा समेत छलफल हुनेछ ।
त्यसतर्फ प्रस्थान गर्नुअघि आज बिहान नेताहरु गृह मन्त्रालयमा भेला भई पर्यटक बसमा चढेर त्यहाँ पुग्नुभएको थियो ।
आजै बिहान आफ्नो निवासमा पुगेका सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनसम्म हुने सो वार्तामा तीन दलका १५ जना नेता सहभागी हुने जानकारी दिए ।
मुलुकको विद्यमान राजनीतिक गतिरोध अन्त्य र संविधान लेखनका विषयमा शान्त वातावरणमा बसेर छलफल गर्न लागिएको बताउँदै उनले दलहरुबीच सहमति हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए । रासस