दीपा आले
सुर्खेत पुष ११, सुर्खेत जिल्लाको विकट गाउ साटाखानी ७ रुप्सेबासीहरु यति बेला खुला आकाशमा रात विताउन बाध्य छन् । मंसिर १७ गते राज्यपक्षले उनीहरुको घरमा बलजबस्ती आगजनी गरेर ध्वस्त पारेपछि रुप्सेका २७ घर गरिब सुकुम्बासी बस्तीका जनताहरु पुस महिनाको कठ्याग्रीदो चिसो समयमा खोलाको बगर छेउ रात बिताउन बाध्य भएका हुन् । यति मात्र होइन जिल्ला प्रशासन र जिल्ला बन कार्यालय सुर्खेतले बलजबस्ती कानुनको बल प्रयोग गरेर ति सुकुम्बासी बस्तीमा आगजनी गर्नु, पीडित रुप्सेबासीलाई हातपात गर्नुको साथै अभद्र व्यवहार गरेको उनीहरु बताउंछन् ।
राज्यपक्षले नै ति गरिब जनताको उठीबास गरेपछि बस्ने बास नहुंदा एक नाबालकको मृत्यू हुनुको साथै एक वृद्धा विरामी भई कोहलपुर अस्पतालमा लगिएको आगजनी पीडित रुप्सेबासीको भनाई छ । बस्ने घर जलेर ध्वस्त भएपछि उनीहरु गास बास र कपासकोलागि राज्यसंग गुहार माग्न २४ गते सुर्खेत जिल्ला प्रशासन अगाडि आएर धर्ना दिए । त्यहां बाट पनि उनीहरुलाई प्रशासनले बलजबस्ती हटाएपछि पीडित आगजनी रुप्सेबासीहरु प्रशासनदेखि अलि परको खुला मैदान अगाडि आएर धर्नापछि अनसनमा बसेका छन् । पुष महिनाको चिसो कठ्याग्रिदो खुला आकाशमा रात विताउनु पर्दा उनीहरुको स्वास्थ्य दिनप्रति दिन बिग्रदै गईरहेको अवस्था छ । हातमा ससाना नाबालक र वृद्धवद्धा समेत अनसनमा बसिरहदा उनिहरुको अवस्था कमजोर बन्दै गईरहेको छ तर राज्य भने उनीहरुको आवाजलाई कुनै सुनुवाई नगरेको पीडित आगजनी रुप्सेबासीहरु बताउन् ।
२८ साल देखि जोतभोग गर्दै आएका ति सुकुम्बासीहरुलाई जिल्ला बन कार्यालयबाट गएका कर्मचारीहरुले हाम्रो जागीर बचाई दिनु परयो भनेर उनीहरुलाई अर्को ठाउंमा बसाउने आसवासन समेत दिएपनि अहिले सम्म त्यसको केही पहल भने हुन नसकेको उनीहरु गुनासो पोख्छन् । खोलाको बगरमा बालुवा चालेर जिविकोपार्जन गर्दै आएका रुप्सेका सुकुम्बासीहरु जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा बन कार्यालयले उनीहरुको बस्ने घर जलाई दिए पछि यति बेला रुप्सेबासीका आगजगी पीडितहरु सुर्खेतको एक रुख मुनि चिनो कठ्यांग्रिदो मौसममा भोको पेट पानी समेत नखाएर अनसनमा बसिरहेका छन् ।
आगजनी घटनाका पीडित कल्पना नेपालीका अनुसार उनी माथि आगजनी गर्न आएका प्रहरीले हात बांधेर उनलाई लतारेर शरीरमा हिर्काएको उनले बताईन । रुप्सेबासी नविन परियारलाई आगजनी गर्न आएका प्रहरी जस्तै पोशाक लगाएका व्यक्तिहरुले उनलाई लख्दै गोलि हान्न समेत भनेपछि उनी त्यहांबाट भाग्दै खोला तरेर आफ्नो ज्यान बचाउन सफल भएको उनले दुखेसो पोखे । नविन परियारले आफ्नो दुःख यसरी पोखी राख्दा अर्का रुप्सेबासी मुनेकामीलाई पनि प्रहरीले हातपात गरेर अभ्रद व्यवहार समेत गरेको बताउंछन् । यति मात्र होइन २८ सालदेखि बसोबास गर्दै आएको र सो जग्गा सुरुमा ६०,७० हजारमा किनेको उनले बताए । आफूहरु नेपाली नागरिक भएपनि राज्यले नै आफूहरु बस्ने घरमा आगजनी गरेपछि उनी दुःखी हुंदै —राज्यले यदि हामी नेपाली नागरिक हो भने बस्ने व्यवस्था नगरे आफूहरुको नागरिकता बुझाएर भारततिर लाग्ने विकल्प नरहेको उनले बताए ।
साटाखानी ७ रुप्सेबासीहरु आफूहरुको घरमा प्रशासनले बलजबस्ती आगजनी गरेपछि उनीहरु मंसिर २४ गते बाट जिल्ला प्रशासन अगाडि भोको पेटमा अनसन बस्दा समेत कुनै सुनुवाई नभएको खबर पाएपछि राज्यसत्ता प्रतिनिधि त्यहां पुगेर बुझ्दा उनीहरुको अवस्था अतन्त कष्टकर देखिएको थियो । सुर्खेतमा अनसनमा बसेका रुप्सेबासीहरु हातमा साना नाबालक लिएर कोही वृद्धवृद्धा विरामी समेत भएको दृष्य देखियो । चिसो भूईमा खुला आकाशमा रात विताउदा र भोको पेटमा अनसन बस्दा उनीहरु विरामी समेत भएका थिए । तरपनि उनीहरु आफूहरु माथि राज्यले गरेको अन्यायकोलागि भोको पेट अनसनमा बसेर आन्दोलन गर्न बाध्य भएका हुन् । त्यसको भोलि पल्ट अन्त्यत विकट क्षेत्र मानिने साटाखानी ७ रुप्सेगाउमा स्थलगत रिपोटिंग गर्न जांदा उनीहरु बस्ने घरको विजोग अवस्था देखियो । वर्षौ देखि चिंगाड खोला छेउमा ससाना झुप्रा बनाएर बस्दै आएका रुप्सैबासीहरुको बस्ने घर जलेर सखाप भएको दृष्य देख्दा जो कोहीको मन नहोला भन्न सकिन्न । घरमा आगजनी गरेपछि उनीहरु चिङंगांड खोलाको बगरको छेउमा सा साना झुप्रा बनाएर चिसो भूईमा बसेका थिए । सोही अवस्थामा खोलाको बगरमा भेटिएका आगजनी पीडित एक वृद्ध महिला आफूहरुको घरमात्र नभई खाने अनपानी, खशी, कपडा सबै जालाईदिएकोमा खिन्न हुंदै आफ्नो पीडा पोख्छीन् —अब त मर्ने नै भईगो कति दिन यो खोलाको छेउ बसेर रात विताउने ।
रुप्से आगजनी घटना संघर्ष समितिका संयोजक जसविर सार्की आफूहरुको अहिलेसम्म राज्यले उद्धार नगरेको बताउछन् । २८ सालदेखि जोतभोग गर्दै आएको र आफूहरुपनि नेपाली नागरिक भएको हुंदा सरकारले गरिब जनतामाथि अन्याय गरेको उनको भनाई छ । आगजनी पीडित महिला अनसनमा बस्दा आफूले धेरै दुःख पाएको बताउदै आफूहरुलाई न त सरकारले हेरयो न त राजनैतिक दल कसैको हामी माथि ध्यान नगएको उनी बताउंछन् ।
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुंवर भने आगजनी रुप्सेबासीको समस्यालाई समाधान गर्नुको साटो उनीहरुको समस्या समाधान गर्न सुकुम्बासी समस्या समाधान आयोगले गर्नु पर्ने बताउंछन् । त्यति मात्र होइन उनले जिल्ला प्रशासनको काम भनेको आएका कुरालाई माथि पुराई दिने र जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताए । रुप्सेबासीका घरमा आगजनी गर्न जिल्ला प्रशासनले नपठाएको बताउंदै प्रमुख जिल्ला अधिकारी कुंवर भने बन अतिक्रमन सुरक्षा निर्देशिका अनुसार बन कार्यालयका सुरक्षाकर्मी आफै गएको बताउंदै उनीहरुको समस्यालाई समाधान गर्न प्रधानमन्त्री कार्यालयमा पत्र पठाएको बताउंछन् ।
प्रमुख जिल्ला अधिकार कुंवरले आफूले गर्नु पर्ने उत्तरदायित्वको बारेमा भनि राख्दा यता जिल्ला बन कार्यालयका निमित्त प्रमुख रामविचारी ठाकुर भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक राखी जिल्ला बनकै अगुवाईमा अतिक्रमण गरि बसेको बस्तीलाई हटाउन ५४ जनाको टोलिलाई पठाएको बताए उनका अनुसार रुप्सेबासीहरु भूमिहिन नभई उनीहरुको जग्गा जमिन भएको बताए । भू—माफियाहरुले सोझासाझा जनतालाई सस्तो जग्गा छ भनेर फसाएको आरोप समेत लगाए । जिल्ला बन कार्यालयका निमित्त प्रमुख रामविचारी ठाकुरले रुप्सेबासी सुकुम्बासीको जग्गा छ भनि राख्दा यता अनसनमा बसेका आगजनि पिडितहरु आफूहरुको कुनै पनि जग्गा नभएको यदि छ भने कहां छ त्यसलाई देखाउन समेत उनीहरु बताउंछन् ।
लामो समय चिसो मौसममा कंठयांग्रिदै अनसनमा बसोबास गरेका आगजनी रुप्सेबासीको हकमा सरकारपक्ष, राजनैतिक दल कसैलेपनि उनीहरुको चांसो नदिएको भन्दै अलिख नेपाल क्रान्तिकारी सुकुम्बासी केन्द्रिय सदस्य भेरी कर्णाली संयोजक चन्द्र बहादुर नेपाली भने बाबुराम सरकारले नै ति गरिब जनताको उठीबास गरेको बताए । गरिब जनताको उठीबास गर्ने तत्कालिन सरकारलाई उनले आरोप लगाउदै हिजोको दिनमा सर्वहारा वर्गको नारा बोक्दै हिड्ने नेता आज जनताको घरमा आगो लगाउने सरकारलाई आफूहरुले कुनै हालतमा नछोड्ने उनको भनाई थियो । यता नेकपा एमाले सुर्खेत जिल्लाका अध्यक्ष नवराज रावल भने आगजनी पीडित सुकुम्बासीहरुको समस्या राजनैतिक रुपले भन्दा मानवीय रुपले भएको बताउंदै प्रशासनले उनीहरुलाई न्याय दिनुको साटो अन्याय गरेको बताए । नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोईराला भने गरिब रुप्सेबासीको समस्याको जवाफदेहिता बाबुराम सरकारले लिनुपर्ने बताउंछन् ।
जेहोस् मुलुकको जुनसुकै कुनामा बसोबास गर्ने नेपाली जनताले स्वतन्त्र भएर गास,बास कपास, शिक्षा, स्वास्थ्यलागयतको व्यवस्था सरकारले गर्नु पर्दछ । तर गरिब जनता जसले आफ्नो दिनचर्या खोलाको बगरमा बालुवा चालेर आफ्नो भोको पेट भर्ने गर्दछ । त्यस्ता निमुका जनताको गास,बास र कपास राज्यले छिन्नु हुंदैन । तर अन्यायमा परेका आगजनी पीडित रुप्सेबासी सुकुम्बासी जनता अहिले पनि आफ्नो खुला आकाशमा रात विताउदै भोको पेट अनसनमा बसेका छन् तर सरकारको ध्यान भने जान सकेको छैन । के यही हो त सरकारले गरिब जनता माथि गर्ने न्याय ? के यही हो नेपाली जनता हुनुको पहिचान ? एउटा नेपाली नागरिक भएर पनि आफ्नै मात्रृभूमिमा शणनार्थीजस्तै बाच्नु पर्दछ भने त्यो भन्दा दुःखको कुरो अर्को के हुन सक्छ ? यसरी आफ्नै देशमा रुप्सेबासी जनताहरु जस्तै धेरै सुकुम्बासी जनताहरु अहिले पनि खुला आकाशमा दिन बिताउन बाध्य छन् तर सरकारको ध्यान भने अहिले सम्म जान सकेको छैन । यसतर्फ सरकारको ध्यान तत्काल जावस् र ति गरिब निमुखा जनताले न्याय पाओस् ।