– भूपेन्द्र चेम्जोङडिसेम्वर २१, २०१२ मा पृथ्वी अन्त हुनेछ भन्ने हल्लाले विश्व आक्रान्त छ । वेवसाइट, इन्टरनेट,पत्रपत्रिकामा व्यप्त छ र फिल्म समेत वनेको छ सन् २०१२ महाप्रलयको l हङकङे नेपाली समाज यो भयवाट अछुतो रहेको छैन । विश्वका कतिपय मान्छेहरुले पृथ्वीको अन्तदिन आयो भनेर वर्षौ वा महीनौ अघिदेखि मोजमस्तीमा डुविसकेकाछन् l डिसेम्वर २१ गते राती विश्वका लाखौ व्यक्तिहरुले अन्तिम भोजको आजोजना गरेका छन् । त्यस्तै कतिपय व्यपारीहरुले यसलाई पैसा कमाउने सुवर्ण अवसरको रुपमा प्रयोग गरिरहेकाछन् । चिम्साचुईको पेकिङ रोडमा रहेको आक्वा रेष्टुरेन्ट समूह “इन्ड अफ द वर्ड” नामको पार्टीमा हरेक व्यक्तिलाई २११२.१२ डलरको डिनर आयोजना गरेर मान्छेलाई मोहित पार्दै अत्याधिक नाफा कामाउने धुनमा छ l चीनका लु जेनहाइ भन्ने व्यक्तिले त दशलाख युयान लगाएर प्रलयको वाढीवाट वच्न डुंगा समेत परिवारको लागि तयार पारिसकेको छ l चीनको एक व्यक्तिले यो हल्लाले विक्षिप्त भएर २३ जना प्राथमिक विद्यालयका नानीहरुलाई छुरा प्रहार गरेकाछन् l के साँचै डिसेम्वर २१ मा महाप्रलय हुन्छ त ?
दक्षिण अमेरिकाका प्रचीन विकसित जाति मायाहरुले तयार पारेको क्यालेन्डरमा २१ डिसेम्वर २०१२ भन्दा उता दिनहरु उल्लेख गरिएको छैन l अर्थात मायाहरुको क्यालेन्डरमा एक चक्र समाप्त हुन्छ । यही क्यालेन्डरलाई आधार वनाएर विश्व समाप्त हुन्छ भन्ने हल्ला विश्वका हरेक कुना कुनामा फैलिएको हो । २१ डीसेम्वरका दिन काल्पनिक ग्रह निवीरु आएर पृथ्वीलाई हिर्काउने र पृथ्वी अन्त हुने विश्वास केहीले गरेकाछन भने केहीले पृथ्वीको आफ्नो घुम्ने कक्षवावाट नै चिप्लेर अन्तरिक्षमा हुक्तिने र पृथ्वी मृत्युको पींजडा वन्न सक्ने अनुमान गरेका छन् l मायाहरु ग्णित तथा खगोलमा ज्यादै निपुण थिए ।विज्ञहरुका अनुसार मायाहरुले आफ्नो क्यालेन्डरमा ५ हजार वर्षको एक चक्र वनाएका थिए l जुन चक्र ३११४ ईशापूर्वमा शुरु गरेको थिए l पृथ्वीको समयलाई २६हजार वर्षदेखि उनीहरुले चक्रको रुपमा हेरेकाछन् । मायाहरुले पृथ्वीलाई पाँचवटा चक्रमा विभाजन गरेकाछन् । जसमध्ये यो अन्तिम चक्र हो l उनीहरुको क्यालेन्डरमा २०१२ सालको डिसेम्वर २१ अन्तिम दिन रहेको भएतापनि उनीहरुले पृथ्वीको अन्त हन्छ भन्ने दावी उनीहरुको कतै नभएको विज्ञहरु वताउँछन् l यो केवल चक्रको समाप्ति र नयाँ चक्रको शुरुको रुपमा मायाहरुले लिएका छन् ।जसरी ग्रेगरी पात्रोमा १२ महीनाको एक चक्र हुन्छ र फेरि नयाँ वर्ष जनवरी शुरु हुन्छ तसरी नै मायाहरुको पुरानो चक्र पूरा भई नयाँ चक्र शुरु हुने दावी अध्यताहरु वताउँछन् ।
यस्ता महाप्रलयको हल्ला यो पहिलो भने होइन l महाप्रलयको कथा किरात मुन्धुममा पनि उल्लेख छ । सोधुङगेन लेप्मोहाङले महाप्रलयको वेला सारा प्राणी तथा वनस्पतिको उद्दार गरेको कथा छ मुन्धुममा । केही वर्ष अघि किरात धर्म गुरुहरुले महाप्रलय हुन्छ भन्ने भविष्यवाणी गरे l ‘गुरु आत्मानन्द लिङदेन वसोवास गरेको ईलाम जिला स्थित माङसेवुङमा मात्र सुरक्षित हुन्छ भन्ने हल्लाले सारा सोझा र निमुखा भक्तजनहरु माङसेवुङमा वसाई सर्न वाध्य भए l सन् १९९७ सालमा हेले पुछ्रेतारा आकाशमा आउँदा अमेरिकाको क्यालिफोर्नियाका ‘हेभेन गेट’ नामक धार्मिक समूहका ३९ जना सदस्यहरुले भौतिक शरिर त्याग्ने वेला यही हो परमेश्वर जहाज लिएर लिन आयो भन्दै सामूहिक आत्म हत्या गरेका थिए । सन् २००० मा वाईटुकेको त्रासले मानिसहरुको निद्रा नै हराम पारेको थियो । हजारौले २००० साल लाग्ने दिनमा यात्रा क्यान्सिल गरे लाखौले आफ्नो वैकको पैसा झिकेर राखे l माथि उल्लेखि कथित भविष्य वाणीहरु सवै गल्ति सावित भईसकेकाछन् ।
त्यसो त पृथ्वीमा महाप्रलय मिथक मात्र नभएर वास्तविक रुपमा पनि भएको भूगर्भविद तथा जीव शास्त्रीहरुको राय छ । डायनोसोरहरुको सर्वनास हुनु महाप्रलय कै कारण हुनसक्छ भन्ने अनुमान लागाइन्छ । त्यो महाप्रलय निम्त्याउने साढे छ करोड वर्ष अगाडि पृथ्वीमा ज्यादै ठूलो उपग्रह मेक्सिकोमा झरेको थियो । १२५ माइल व्यासको त्यो भू उपग्रह पृथ्वीमा वज्रिएको कारण पृथ्वीमा सारा सृष्टि करिव अन्त भई नयाँ युगको शुरुवात भएको कुरामा धेरै वैज्ञानिकहरु सहमतछन् ।
आगामी २१ डीसेम्वरमा पृथ्वी समाप्त हुने कुरा हालसम्मको वैज्ञानिक तथ्यले पुष्टि गर्ने कुनै एक आधारपनि भेटिएको छैन । ईतिहासमा अभिलेख भएको भूकम्पहरुले पनि पृथ्वीको मानव सभ्याता पूर्ण नष्ट गर्न सकेनन् । न कुनै भयंकर जलवायु परिवर्तन वा कुनै कारणले नै पृथ्वी सम्पूर्ण रुपमा समाप्त भयो l पृथ्वीमा महाप्रलय हुनलाई वैज्ञानिकहरुले दुईवटा आधार मानेकाछन् । पहिलो आधार कि महाज्वालामुखी(सुपर भोल्केनो) फुट्नु पर्यो कि कुनै भयानक पिण्ड पृथ्वीमा ठोक्किनु पर्यो । महाज्वालामुखी फुटे पनि मानव सभ्यता आखाँको झिमिकमा नष्ट हुने होइन । महाज्वालामुखीवाट निस्केको अरवौ टनवरावरको सल्फरडाइअक्साइड ग्यास आकासमा उडेर भयानक अम्ल वर्षा हुनुपर्दछ । जसले मात्र सवै जीवहरु क्रमश स्वाहा पार्न सक्छ । मानव इतिहासमा यस्तो महाज्वालमुखीको कथा वा स प्रमाण नै छैन । त्यस्ते भयानक आकाशीय पिण्ड ठोक्किएमा त्यवाट निस्केको उर्जाले सुनामी तथा एसिड वर्षा गराएर वर्षौपछि जीवजन्तुहरु नष्ट हुन्छन् । साढे छ करोडौ वर्ष अगाडि जसरी डाइनोसोरहरु नष्ट हुने गरेर आकाशीय पिण्ड झरे त्यही रुपमा झरेभने पृथ्वीमा मानव सभ्याता समाप्त हुन सक्छ ।
अमेरिकी नासाका वरिष्ठ खगोलविद डेभिड मोरिसनले पृथ्वी समाप्त हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै आफू पृथ्वीमा महाप्रलय हुन्छ भन्ने डर नभएर हल्लाको पछाडि लागेर मानिसहरुले धनजनको नष्ट गर्लान भन्ने डर रहेको वताएकाछन् । उनको वेवसाइटमा पाँच –सात वर्ष अघिदेखि महाप्रलय सम्वन्धी प्रश्नहरुको ओइरो लागेको थियो । मोरिस भन्छन् पृथ्वी महाप्रलय हुनलाई ठूलो वाहिरको पिण्ड आएर ठोक्किनुपर्ने हुन्छ । पृथ्वीतिर ठोक्किन आउँदै गरेका यस्ता आकाशीय पिण्डहरु चन्द्र र सुर्य पछि त्यो नै चम्किलो हुनेछ । उनलाई प्रश्न गर्नेहरुलाई प्रति प्रश्न गर्छन् “मलाई र सरकारलाई सोध्नुभन्दा आफ्नै आँखा आकाशमा दौडाएर हेर्नुहोस कुनै त्यस्तो चम्किलो वस्तु देख्नुभाछ ?”
यही विषयमा हङकङका नम्वर शास्त्र विज्ञ पीटर क्रैगले यो हल्लालाई अनावश्यक डर र त्रास को संज्ञा दिएकाछन् । उनले नम्वर र घटनाको विषयमा विगत २० वर्षदेखि अध्ययन गरिरहेकाछन् । प्रलय केवल अनावश्यक हल्ला भएको वताएकाछन् ।
त्यसैले महाप्रलयको हल्ला धेरै हल्लाहरुको श्रृंखलामा एक हल्ला मात्र हो । महाप्रलयको हालसम्म कुनै लक्षणहरु पनि देखा परेकाछैनन् । कुनै वैज्ञानिक तथ्य पनि छैन । तसर्थ २१ डिसेम्वरमा पृथ्वी समाप्त हुन्छ भन्नु केवल कान नसमातीकन कागको पछि कुद्ने वाहेक केही होइन ।
(लेखक भौतिक विज्ञानका स्नातक हन )