काठमाडौँ, १७ कात्तिक
निवाचन आयोगले मतदाताको विवरण सङ्कलन एवम् दर्ताका लागि नागरिकता प्रमाणपत्रका अतिरिक्त अन्य प्रमाणपत्रलाई समेत आधार मान्ने सम्बन्धमा निर्वाचन आयोगबाट मङ्गलबार निर्णय भएको छ ।
सो निर्णयअनुसार मतदाता नामावलीसम्बन्धी ऐन २०६३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकको फोटोसहितको नामावली सङ्कलन गर्न नागरिकता प्रमाणपत्रलाई आधार मानिएकामा सो प्रमाणपत्र पेस गर्न नसक्ने मतदाता हुन योग्यता पुगेका व्यक्तिको स्थान, स्थायी ठेगाना, जन्ममिति, उमेर वा बाबुआमासमेतको नाम पुष्टि हुनेगरी ऐनअनुसार जग्गाधनी प्रमाणपुर्जा वा सरकारी कार्यालय, स्थानीय निकाय, सरकारी स्वामित्व भएको संस्था वा शिक्षण संस्थाद्वारा जारी गरिएको परिचयपत्र पेस गरिएमा त्यस्तो व्यक्तिको नाम मतदाता नामावलीमा समावेश गरिने छ ।
सो प्रमाणपत्र पेस गर्न नसक्ने अवस्थामा ऐनअनुसार सम्बन्धित गाविस वा नगरपालिकाको सम्बन्धित वडाले जन्मस्थान, स्थायी ठेगाना, र बाबुआमासमेतको नाम पुष्टि हुनेगरी मतदाता नामावालीमा विवरण समावेश गरिदिन निर्धारित ढाँचामा सिफारिस गरेमा त्यस्तो व्यक्तिको विवरण सङ्कलन गरी फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरिनेछ ।
साविकको मतदाता नामावलीमा नाम भएका व्यक्तिले पनि पहिचानका लागि प्रक्रिया पुरा गर्नुपर्ने आयोगले जनाएको छ ।
यस निर्णयबाट हाल सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यमा देखापरेका अवरोध निराकरण भई मतदाता नामावली कार्यक्रम सुचारुरुपले सञ्चालन हुने विश्वास आयोगले लिएको छ ।
रासस