काठमाडौँ, १७ कात्तिक
मुलुकमा बढ्दै गइरहेको आर्थिक सङ्कट र राजनीतिक गत्यावरोध अन्त्यका लागि पहिले बजेट ल्याउने कि नयाँ सरकार बनाउने भन्ने विषयमा तीन दलका शीर्ष नेताको बैठकमा मतान्तर देखिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको तीन दलका शीर्ष नेताको बैठकमा एकीकृत नेकपा(माओवादी)ले राजनीतिक गत्यावरोधको अन्त्यपछि मात्र नयाँ सरकार गठन गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको छ भने सत्तारुढ नेपाली काँगे्रस र नेकपा (एमाले)ले मुलुकमा आर्थिक सङ्कट चुलिँदै गएकाले बजेट ल्याएपछि मात्र नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक गतिरोधको अन्त्यबिना कुनै विषयमा छलफल गर्नु निरर्थक भएकाले नयाँ सरकार गठनपछि मात्र बजेट ल्याउनुपर्नेमा जोड दिए ।
उनले दुई दिनभित्र राजनीतिक गत्यावरोधका लागि तीन दलका शीर्षनेताले छलफललाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन बजेटलाई प्राथमिकता दिइएपनि राजनीतिक गतिरोधको अन्त्य गरी नयाँ सरकार गठनलाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
नेपाली काँगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाओवादीले राजनीतिक गत्यावरोध अन्त्यपछि मात्र बजेट ल्याउनुपर्नेमा अडान राखेको उल्लेख गर्दै शीर्ष नेताबीचमा राजनीतिक सहमति कायम भएमा काँगे्रस र एमालेको सरकार गठन भएपनि आफूहरुलाई कुनै आपत्ति नहुने एमाओवादी अध्यक्ष दाहालले बताएको जानकारी दिए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले राजनीतिक गत्यावरोधलाई अन्त्य गर्न शीर्ष नेताबीच सहमतिको अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रधानमन्त्री माधवकुमार नेपालले बजेट नआउँदा मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुने भएकाले बजेटलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको जानकारी दिए
उनले बैठकमा पहिले बजेट ल्याएर थाँती रहेका अन्य विषयमाअ छलफल जारी राख्दै राजनीतिक निकास दिनका लागि पहल हुनुपर्ने विषयमा छलफल भएको बताए
बैठकमा प्रधानमन्त्री नेपाल, एनेकपा माओवादीका अध्यक्ष दाहाल, उपाध्यक्ष डा.बाबुराम भट्टराई, नेता देव गुरूङ, काँगे्रसबाट संसदीय दलका नेता पौडेल, नेताहरु विमलेन्द्र निधि, डा. रामशरण महत र एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, गृहमन्त्री भीमबहादुर रावल र अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी थिए । रासस